जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत १९ गते

१६ वर्षीय बालिकालाई होटलमा पुर्‍यार्ई जबरजस्ती यौन कार्यमा लगाई बलात्कार गराएको आरोपमा भक्तपुर प्रहरीले चैत १८ गते पाँच जनालाई गिरफ्तार गरी चैत १९ गते सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–७ झाँगाझोली घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ माकलबारी बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, सिन्धुली जिल्ला घाङ्लेख गाउँपालिका–३ तामाझोर घर भई हाल माकलबारी बस्ने १९ वर्षीया मसेली भन्ने सुहाना तामाङलाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

त्यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका ५२ वर्षीय प्रकाश ढुङ्गेल, नुवाकोट सूर्यगढी गाउँपालिका–४ घर भई हाल माकलबारी बस्ने ३१ वर्षीया मुना थापा मगर र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–१ गागलफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनारलाई माकलबारीबाट गिरफ्तार गरेको डिएसपी गिरीले जानकारी दिनुभयो ।

१६ वर्षीया बालिकाका बुबाले महानगरीय प्रहरी परिसर भक्तपुरमा चैत १८ गते सुहाना तामाङबिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र बलात्कारको आरोपमा उजुरी दिएपछि भक्तपुर प्रहरीले खोजी गर्ने क्रममा जबरजस्ती बालिका तथा किशोरीलाई ल्याएर यौन धन्दामा लगाउने पेशेबर समूहलाई गिरफ्तार गरेको डिएसपी गिरीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

अनुसन्धानका क्रममा अभिभावकसँग छोरीलाई काठमाडौँमा कपडा पसलमा काम लगाईदिन्छु भन्दै फकाएर चैत १२ गते बालिकालाई सुहाना तामाङले श्यामकुमार भट्टराईसँग मिलेर काठमाडैँको गोकर्णेश्वरस्थित माकलबारीमा लिएरको भाडाको फ्ल्याट पुर्‍याएका थिए ।

फकाएर बालिका, किशोरी र युवतीलाई फ्ल्याटमा लैजाने, उनीहरूलाई पुराना लुगा फेर्न लगाउने, नयाँ, र पारदर्शी लुगा लगाउन दिने, खान, बस्न, सुत्ने व्यवस्था गरी मदिरा खान दिई गलत कार्यमा लगाउने र कतै भाग्न नसक्ने गरी व्यवस्थापन गरेको अनुसन्धानको क्रममा पाइएको पनि डिएसपी गिरीले जानकारी दिनु भयो ।

डिएसपी गिरीले भन्नुभयो, “फ्ल्याटमा कही दिन राखेर उनीहरूको तस्वीर लिएर सोही तस्वीर बिभिन्न होटलहरूमा पठाएर ग्राहकले रोजेको केटीलाई भट्टराई आफैले सवारी साधनमा राखेर होटलहरूमा पुर्‍याउने गरेको पाइयो, आफू अन्त गएको बेलामा पुर्‍याउनु परे पठाओ लगायतका अन्य साधनमा राखेर पठाउने गरेको पाइयो, होटलमा पुर्‍याएपछि यौन सम्बन्ध राख्न नमाने बलात्कार गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।”

चैत १४ गते १६ वर्षीया बालिकालाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजलमा लगेर बलात्कार गराएको पाइएपछि प्रहरीले होटल सञ्चालक ढुङ्गेल र थापा मगर तथा बलात्कार गरेको आरोपमा सुनारलाई गिरफ्तार गरी सात दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरेको छ ।

प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले फ्ल्याट भाडामा लिएर बालिका तथा किशोरीलाई प्रलोभनमा पारेर ल्याउने र देहव्यापारमा लाग्न बाध्य पार्ने एउटा गिरोह पक्राउ परे पनि यस्ता गिरोह अरु पनि हुनसक्नेतर्फ प्रहरी चनाखो भएको बताउनुभयो ।

कतिपयले भने उजुरी नदिने र मानव ओसार पसार एवम् बलात्कारका बिरुद्ध नबोल्दा समस्या आउने गरेको बताउनुभयो । उहाँले यस्ता गिरोहको खोजीलाई तिब्र बनाउने बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण  चैत १८ गते प्रसुति गृह थापाथलीमा गरिएको छ ।


रमेश गिरी