६ वर्षीया बालिकाको शव फेला, अपहरणपछि हत्या गरेको आरोपमा एक जना गिरफ्तार

कालिका गाउँपालिका–१ ग्राङकी ६ वर्षीया सुमिना तामाङको शव मङ्सिर २३ गते गाउँ नजिकै ओढारमा मृत अवस्थामा भेटिएको छ । घटनास्थल नजिकै स्कुल ड्रेस,  झोला, र चाउचाउ समेत  भेटिएको थियो ।

ग्राङ आधारभूत विद्यालयमा अध्ययनरत बालिका मङ्सिर २१ गतेदेखि विद्यालयबाट हराइरहेकोमा अपहरण गरेको आशङ्कामा नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका–५ की १९ वर्षीया एक महिलालाई इलाका प्रहरी कार्यालय, कालिका प्रहरीले मङ्सिर २२ गते कालिका गाउँपालिका–२ बाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय ल्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्र सुवेदीले बताउनुभयो ।

बालिकाले कानमा लगाएको सुनको कारण अपहरण गरेर हत्या गरिएको प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान जारी रहेको र विस्तृत विवरण पत्रकार सम्मेलन गरेर जानकारी दिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


हेमनाथ खतिवडा