बालिकाका लागि घरपनि असुरक्षित !
अरुबाट सुरक्षित हुनका लागि मानिसले सबैभन्दा पहिला घर बनाउने योजना बनाउँछ । घर बनाएपछि विभिन्न अपराधिक घटनाबाट बच्न सकिने र जङ्गली जनावरबाट सुरक्षित भएको अनुभूति मानिसलाई हुने गर्दछ । तर कर्णाली प्रदेशका बालिकाहरूका लागि आफ्नै घरपनि असुरक्षित भएको छ ।
चालु आर्थिक वर्षको साउन २६ गते सुर्खेतको गुर्भाकोट नगरपालिकामा १२ वर्षीया बालिका आफ्नै बुबाबाट बलात्कारको सिकार बन्न पुग्नुभयो । घटनाका आरोपित ३५ वर्षीय बालिकका बुबालाई प्रहरीले ०७९ साउन २८ गते गिरफ्तार गरेको थियो । आरोपितले छोरीलाई साउन २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २८ गते इलाका प्रहरी कार्यालय, छिन्चुमा उजुरी दिएपछि घटनाका आरोपित गिरफ्तार भएका थिए । अहिले पीडित बालिका आवाज संस्थाको संरक्षणमा छन् । भने आरोपितका विषयमा अनुसन्धान चलिरहेको छ ।
यस्तै, दैलेखमा १७ वर्षीया बालिका आफ्नै बाबुबाट पटक पटक बलात्कृत हुनुभयो । १३ वर्षको उमेरदेखि १७ वर्षसम्म उहाँलाई बाबुले पटक पटक यौन शोषण गर्दैआएका थिए । आफ्नै बाबुबाट बलात्कृत भएको उहाँले कसैलाई भन्न सक्नु भएन । मार्ने धम्की दिएपछि कुरा लुकाउँदै आउनुभयो । तीन वर्षपछि मात्रै उहाँले आफै बिद्रोह गरेर घरबाट निस्किनुभयो । इन्सेकको पहलमा पीडितले कानुनी प्रकयाका लागि अदालत जानु भएको थियो ।
उहाँ मात्र नभएर उहाँकी माइली बहिनीलाई समेत बाबुले पटक पटक संवेदनशिल अङ्गमा छुने तथा डर धम्की दिदै आएको पीडित पक्षको बयान छ । अहिले उहाँका बाबुलाई जिल्ला अदालतले ३५ वर्षको जेल सजायको फैसला सुनाएको छ ।
उहाँले कानुनी रुपमा न्याय पाए पनि सामाजिक रुपमा भने पाउन सक्नुभएको छैन । यस्तो कुरा बाहिर ल्याएर सन्तानकै बेइज्जत गरेको भन्दै आफन्तका कारण गाउँबाटै उहाँको परिवार विस्थापित भयो ।
पीडितका तीन दिदी बहिनी छन् । उनीहरू तीनै दिदीबहिनी अहिले काठमाण्डौको साँझ सहयात्री नेपालको संरक्षणमा रहेका छन् । गाउँमा आफ्ना नातेदारले बस्न नदिएपछि उनीहरूलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नवज्वती, तथा अधिवत्ता गिता कोइरालाको आर्थिक सहयोगमा काठमाण्डौ पुर्याइएको हो ।
यस्तै सुर्खेतकी १३ वर्षीया बालिका गएको साउनमा छिमेकीबाट बलात्कृत भइन् । साँझको समयमा घर पु¥याइदिन्छु भनेर ती व्यक्तिले उनलाई होटलमा लगेर जबर्जस्ती करणी गरे । कसैलाई भने बेइज्जत गर्ने र मार्ने धम्की समेत दिए । राति होटलबाट उनी भाग्न सफल भइन् । एक महिनापछि मात्रै उनी बलात्कृत भएको परिवारले थाहा पायो । यस घटनाले उनी शारीरिक र मानसिक रुपमा विक्षिप्त भइन् । एक्लै बस्ने, टोलाउने, रुने गरेपछि सोधिखोजी गर्दा बलात्कृत भएको थाहा भयो । आरोपित अहिले जेलमा छन् ।
यी प्रतिनिधिमूलक घटना मात्र हुन् । बलात्कार जस्तो जघन्य अपराधको शिकारमा बालिकाहरू जोखिममा पर्दै आएका छन् । पछिल्लो समय बालिकाहरू यौन हिंसाको शिकार बन्दै आएका छन् । बालिका माथि बलात्कारका घटना बढ्दो छन् । चिनेजानेका र आफन्तबाट यस्ता घटना अझ बढी हुने गरेका छन् । प्रहरीको तथ्याङ्क हेर्ने हो भने बलात्कारको ग्राफ बढ्दो छ । सुर्खेतमा मात्रै पछिल्लो एक वर्ष नपुग्दै दुई जना बालिकाको बलात्कारपछि हत्या भयो । महिला तथा बालिकामाथि हुने यौनहिंसाका घटनामा कमी आउन सकेको छैन । हरेक वर्ष बलात्कारका घटना बढ्दै गएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षको अवधिमा कर्णालीमा ३ सय ५ जना महिला तथा बालिका बलात्कृत भएका छन् । त्यसमध्ये बलात्कृत हुनेमा ३२ प्रतिशत अर्थात ९८ जना १८ वर्ष मुनिका बालिका छन् ।
आर्थिक वर्ष २०७८–७९ मा १ सय ५५ महिला तथा बालिका बलात्कृत भए । त्यसमध्ये १८ वर्ष मुनिका ५५ जना छन् । प्रहरीले दिएको जानकारी अनुसार १९ देखि ३५ वर्षसम्म ६९ जना, ३६ देखि ५९ सम्म २७ जना, ६० वर्ष माथि सात जना बलात्कृत भएका छन् ।
यस्तै, आर्थिक वर्ष २०७७–७८ मा १ सय ५० जना बलात्कृत भएका छन् । यसमध्ये ४६ जना बालिका छन् । प्रहरीका अनुसार १९ वर्षदेखि ३५ वर्षसम्म ६९ जना, ३६ देखि ५९ उमेर समूहका ३० जना, ६० वर्षमाथि उमेर समूहका पाँच जना बलात्कृत भएका हुन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी माधवप्रसाद श्रेष्ठले कर्णालीमा बलात्कारका घटना बढेको बताउनुभयो ।
देशभर ६४ प्रतिशत बालिका बलात्कारको घटना प्रहरीकोमा जाने गरेको तथ्याङ्क छ । पछिल्लो समय सामाजिक सचेतना बढेकाले पनि यस्ता घटना बाहिर आउन थालेको उहाँको भनाइ छ । बालिकाहरू सक्षम नहुने, शारीरिक, मानसिक रुपमा परिपक्व नहुने भएकाले यौन शोषणमा पर्नेगरेको उहाँले बताउनुभयो । प्रहरीमा आउने मुद्दामध्ये अधिकाश मुद्दा बलात्कारका आउने गरेको प्रहरीले बताएको छ ।
नेपालको कानुन अनुसार दश वर्ष भन्दा मुनिका बालिका, अशक्त तथा अपाङ्ग बलात्कार भएमा जन्मकैद हुने व्यवस्था गरेको छ ।
१० वर्ष भन्दा माथि र १४ वर्ष भन्दा तलका बालिका माथि बलात्कार भएमा १८ वर्षदेखि २० वर्षसम्म कैद हुने, १४ भन्दा माथि तथा १६ वर्ष भन्दा तल उमेर समूहका बालिकामाथि बलात्कार भएमा १२ देखि १४ वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ ।
अधिवक्ता तथा अधिकारकर्मी गीता कोइरालाका अनुसार बालिकाहरू कमजोर हुने, कसैलाई भन्न नसक्ने हुँदा उनीहरू सजिलै बलात्कारबाट पीडित हुन्छन् ।
प्रभाकुमारी रावत
सम्बन्धित समाचारहरू
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…