बालसुधार गृह व्यवस्थापन हुन नसक्दा समस्या

  २०८१ वैशाख ३१

बालसुधार गृह, डोटीको व्यवस्थापन हुन नसक्दा सुधार गृहमा राखिएका बालकहरुले समस्या भोग्नु परेको छ ।

क्षमता भन्दा दोब्बर सङ्ख्यामा कानुनको विवादमा परेका बालकहरुलाई बालसुधार गृह, डोटीमा राखिएका कारण उनीहरुले खान, बस्न, सुत्न, शौचालय प्रयोग गर्न समेत सास्ती खेप्नु परेको छ ।

२५ जनाको क्षमता रहेको बालसुधार गृह, डोटीमा हाल ४९ जना  बालकहरूलाई राख्नु पर्दा बालकहरू आधारभूत अधिकारबाट समेत वञ्चित हुनु परेको बालसुधार गृहका प्रमुख सानुमाया लिम्बूले बताउनु भयो ।

बालसुधार गृहमा ४९ जना बालकहरू मध्ये ३३ जना कैदी र १६ जना थुनुवा छन् । क्षमता भन्दा दोब्बर बालकहरु सुधार गृहमा राख्नु पर्दा उनीहरुले शौचालय प्रयोग गर्नका लागि पनि लाइनमा बस्नु पर्ने, कोठा अभावका कारण एउटै कोठामा आठ जनासम्म कोचिएर बस्नु पर्ने, पानीको अभावले गर्दा सरसफाइको समस्या भएपछि बालकहरुमा छालाको सङ्क्रमण, दाद, लुतो, रुघाखोकी, एलर्जी जस्ता स्वास्थ्य समस्या देखिने गरेको र बालकहरुले सुत्नका लागि पनि समस्या भोग्नुपरेको बालसुधार गृह, डोटीका प्रमुख लिम्बूको भनाइ छ ।

खुला ठाउँ तथा मैदानको अभावमा सुधार गृहमा राखिएका बालकहरुलाई खेल खेल्न र पठपाठन गर्न समेत समस्या हुने गरेको छ ।

बालसुधार गृहमा क्षमता भन्दा दोब्बर बालकहरुलाई राख्नु पर्ने बाध्यताले बालकहरुको स्वास्थ्य, शिक्षा, खेलकुदलगायतका समस्याहरु झेल्नु परेको स्वीकार्दै समस्या समाधानका लागि वैकल्पिक उपायहरुको खोजि भइरहेकाे सहायक प्रमुख जिल्ला अधिकारी दीर्धराज उपाध्ययले बताउनु भयो ।

२०७५ भदौ महिनादेखि सञ्चालन गरिएको बालसुधार गृह, डोटीमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला बाहेकका आठ जिल्ला र लुम्बिनी प्रदेशको दाङ जिल्ला गरी नौ ओटा जिल्लाबाट कानुनी विवादमा परेका बालकहरुलाई राखिने गरिएको छ ।


सुबास नेपाली