बालश्रम तोड्न रोजीरोटी र पुन:स्थापना

रेसुङ्गा नपा-१४ की माया बुढाथोकीलाई बाल श्रम के हो ? बालश्रम अन्त्यका लागि मनाइने दिवस कहिले पर्छ ? कुनै पत्तो छैन । तर, बिहान बेलुका कसरी गर्जो टार्ने ? उनलाई कसैले सम्झाउनु पर्दैन । उनी घोर्ले माविको कक्षा ६ मा पढ्ने सुमनलाई लिएर ढुङ्गाखानीमा आउँछिन् । 'थुप्रै पटक खानीमा आउने मान्छेले बालकलाई काममा लगाएको भनेर गाली गरे ।'-उनले भनिन्-'तर, के खान्छेस भनेर कसैले सोधेनन् ।' रेसुङ्गा नगरपालिकाका प्रकाश बिक अहिले १३ वर्षा भए । उनी रानीपोखरी निमाविको कक्षा ६ मा पढ्छन् । दिउँसो विद्यालय जान्छन् । विदाको दिन र साँझ बिहान ढुङ्गाखानी नपुगी उनलाई सुखै छैन । त्यो उनको रहर भन्दा बाध्यता हो । 'बिदा भए त्यतिकै घरमा भुलिन्छ ।'-उनले भने-'बरू खानीमा आए २/४ सय रुपियाँ कमाई हुन्छ ।' यो खानीमा २०-२५ जना बालबालिकाले साँझ बिहान कुनै न कुनै किसिमको बालश्रम गरिरहेका छन् ।

तम्घास-सिमलटारी-प्युठान सडक निर्माणमा काम गर्ने प्युठानका एक जना बालश्रमिकले भाइ र बहिनीको पढाइ खर्च जोहो गर्न आफूले ढुङ्गा बोक्ने गरेको बताए । आफूसँगै अरू धेरै साथीहरू जिल्लाका विभिन्न स्थानमा काम गर्ने उनले बताए । निर्माण व्यावसायीहरूले अझ धेरै बालबालिकाहरूलाई श्रममा लगाएका छन् । जिल्लाका सरोकारवाला व्यक्तिहरूले पनि बालश्रम व्यक्तिको रोजीरोटीसँग गाँसिएकाले मुक्त बनाउने विषय आर्थिक समृद्धि बिना निकै मुस्किल भएको बताए । दलित अधिकारकर्मी गणेश बिकले जिल्लाका धेरै होटलहरूमा बालश्रम भएको आफ्नै आँखाले देखेर पनि केही गर्न नसकिएको बताए । 'होटलमा भाँडा माझ्ने धेरै बालबालिका छन् । अन्याय पनि भएको छ ।'-उनले भने-'त्यहाँबाट उद्धार गरे पुनःस्थापना गर्ने स्थान छैन ।'

पुनःस्थापना गर्नुपर्ने महिला तथा बालबालिकालाई कहाँ राख्ने भन्ने समस्या रहेको महिला तथा बालबालिका कार्यालय प्रमुख प्रतिभा पन्थीले बताइन् । पुनःस्थापना गृह नहुँदा पीडितलाई न्याय दिलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताए । जिल्ला बाल कल्याण समितिले प्रकाशन गरेको बालबालिकाको स्थिति प्रतिवेदनमा बालिका ४ सय २३ र बालक ७ सय ३५ गरी १ हजार १ सय ६७ जना बालबालिकाले जिल्लामा जोखिमपूर्ण तथा निकृष्ट बालश्रम गर्ने गरेको देखाइएको छ । जसमा सबै भन्दा धेरै १ सय ५६ बालिका र २ सय १९ बालकले जिल्लाका विभिन्न होटलहरूमा काम गर्ने गरेका छन् ।


टोपलाल अर्याल