भारत बिहारको मधुवनी जिल्ला प्रहरीको साथ र समन्वयमा बालविवाह राकियो

  ०८० जेठ ७ गते

राजविराज नगरपालिका–१५ देउरी भरुवाकी रेखा शर्माका पति ३० वर्षीय रबिन्द्र शर्मा सुतिहारले जेठ ३ गते राति भारत बिहारको मधुवनी जिल्लाको महदेवमंठ थाना अन्तरगत डकही गढीया गाउँकी १६ वर्षीया बालिकासँग गर्न लागेको बालविवाह तथा बहुविवाह सोही जिल्लाको प्रहरीको साथ र समन्वयमा रोकिएको छ ।

सप्तरी र भारत बिहारको मधुवनी जिल्लाका प्रहरीको संयुक्त प्रयासमा विवाह रोकिएको हो । सामाजिक परम्परा अनुसार २०७५ फागुन २५ गते रेखासँग विवाह गरेका आरोपित रबिन्द्रको ३ वर्षीया छोरी छिन् । रेखाका अनुसार रबिन्द्रले ८ लाख रुपियाँ नगद, १२५ सीसीको बजाज डिस्कभर मोटरसाइकल, २ तोला सुन, फ्रिज, ३ लाख रुपियाँको फर्निचर सामग्री दाइजो लिएर विवाह गरेका थिए ।

दोस्रो विवाहबारे जानकारी पाएर खोजी गर्दा रबिन्द्र घरबाट फरार रहेकाले सप्तरी प्रहरीले बिहारको मधुवनी जिल्लाको प्रहरीसँग समन्वय गर्दै भारतीय भूमिमा हुन लागेको बालविवाह रोक्न आग्रह गरेको थियो । सप्तरी प्रहरीले जेठ ३ गते साँझ भारत जान लागेका जन्तीलाई कुनौली नाकामा नियन्त्रणमा लिएर रातभरी नियन्त्रणमा राखेको थियो । पहिले नै भारत पुगेका बेहुला रबिन्द्र अबेर राति विवाहका लागि बिहारको डकही गढीया गाउँस्थित विवाहस्थल पुगेपछि मधुवनी प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

बिहारको मधुवनी जिल्लाको प्रहरीको साथ र समन्वयमा बालविवाह र बहुविवाह रोक्न सफल भएको सप्तरीका एसपी नरेन्द्र कार्कीले बताउनु भयो ।


मनोहरकुमार पोखरेल