बालविवाह दर घटाउन जनचेतनाका कार्यक्रम बढाउनु पर्नेमा जोड

  ०७८ भदौ २९ गते

पाल्पाका १५–१९ वर्ष उमेर समूहका ५१ प्रतिशतको विवाह हुने गरेको पाइएकाले सो दर घटाउन जनचेतनाका कार्यक्रम बढाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

रैनादेबी छहरा गाउँपालिकाकी उपप्रमुख चेतना थापाले जनचेतनाको कमीले बालविवाह हुने गरेकोले बाल विवाहलाई घटाउन जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न आवश्य रहेको बताउनु भयो ।

जिल्लामा बालविवाह गर्ने र कम उमेरमै बच्चा जन्माउनेको सङ्ख्या धेरै छ । रैनादेवी छहरा गाउँपालिका–४ की मेनुका रायमाझी २० वर्ष पुग्नुभयो । उहाँले १५ वर्षको उमेरमा पाँच वर्ष अघि विवाह गर्नु भएको थियो ।

सानो उमेरमै विवाह गर्दा पछि विभिन्न समस्या भोग्नु परेको मेनुकाको अनुभव छ । सानै उमेरमा विवाह गरेका कारण आफूले आर्थिक सामाजिक समस्याका साथै स्वास्थ्य समस्या पनि  भोग्नु परेको उहाँले बताउनु भयो । “कम उमेरमा विवाह गरेकै कारण अहिलेसम्म पनि विवाह दर्ता बनेको छैन ।̎, मेनुकाले भन्नु भयो ।

जिल्लाका ग्रामीण भेगमा रहेका अधिकांश जनजाती र दलित बस्तीमा सानो उमेरमै विवाह गर्ने समस्या छ । भौगोलिक कारणले पढाईलाई अघि बढाउन नसक्दा सानो उमेरमै विवाह गरेर जाने  समस्या देखिन्छ ।

बालविवाहको समस्या  शिक्षित समूदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका समूदायमा बढी पाइन्छ । बालविवाह न्यूनिकरणमा स्थानीय तहको भूमिका पनि खासै देखिएको छैन ।

निस्दी गाउँपालिका–४ ज्यामिरेकी दिपा आलेले १२ वर्षको उमेरमा विवाह गर्नुभयो । उहाँ अहिले भर्खर १८ वर्ष पुग्नु भएको छ । नजिकैको गाउँ लाभेटारमा विवाह गर्नुभएकी उहाँले टाढाको विद्यालय पढ्न जान नसकेपछि विवाह गरेको बताउनु भयो । विवाह गर्ने बेला उहाँ भर्खर पाँच कक्षामा पढ्दै हुनु हुन्थ्यो ।

ठुलो उमेरमा सानो कक्षामा पढ्न लाज भएपछि आफूले विवाह गरेको उहाँले बताउनु भयो । सानो उमेरमा विवाह गर्दा एकातिर पढ्ने लेख्ने उमेर खेर जाने र कलिलो उमेरमा घरायसी काम र जिम्मेवारीले अप्ठेरो हुने गरेको उहाँको अनुभव छ ।

कानुनी प्रावधान अनुसार किशोरीको विवाह गर्न अभिभावकको सहमतिमा दुबैको उमेर २० वर्ष पुगेको हुनुपर्छ । तर जिल्लाको रैनादेबी छहरा गाउँपालिकाका सत्यवती, बल्ढेङ्गढी, जुठापौवा, निस्दी गाउँपालिकाको ज्यामिरे, मित्याल, माथागढी गाउँपालिकाको बहादुरपुर लगायतका वडाहरूमा बालविवाहको बढी समस्या छ । यहा“ १६ वर्ष नपुग्दै गर्भवती हुने किशोरी धेरै छन् । १६ वर्ष पुग्दा नपुग्दै पहिलो र दोस्रो बच्चा जन्माउने प्रचलन नै छ ।

रिब्दीकोट गाउँपालिकाको ठिमुरे र फेकमा पनि काखमा बच्चा लिएका धेरै किशोरी १६ देखि २० वर्ष भित्रकै भेटिन्छन् । स्कुल पढ्दै गर्दा माया बसेपछि विवाह गर्ने प्रचलन फेक, ठिमुरेमा मात्र होइन, पाल्पाका १० ओटै स्थानीय तहका अधिकांश जनजाती  र दलित बस्तीमा अझै कायमै छ ।

कक्षा ६ देखि ९ पढ्दै गर्दा विवाह गर्नेको सङ्ख्या धेरै छ । चाँडै विवाह गर्नु हुँदैन भन्ने जनचेतनाको कमी रहेको रैनादेबी छहरा गाउँपालिकाकी उपप्रमुख चेतना थापाले बताउनु भयो ।  पछिल्लो समय सामाजिक सञ्जाल को गलत प्रयोग र जनचेतना नभएको कारण बाल विवाह बढेको थापाले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण प्रसाद चौधरीले आर्थिक वर्ष ०७७/०७८ मा निस्दी गाउँपालिकाका जम्मा गर्भवती मध्ये ५७ प्रतिशत किशोरी रहेको बताउनु भयो । त्यस्तै रैनादेबी छहरा गाउँपालिकामा २७ प्रतिशत, माथागढी गाउँपालिकामा २२ प्रतिशत किशोरी गर्भवती छन् । सबैभन्दा कम तानसेन नगरपालिकामा कूल गर्भवतीको ६ प्रतिशत किशोरी गर्भवती रहेको उहाँले बताउनु भयो । अन्य स्थानीय तहहरूमा पनि किशोरी गर्भवती १५ प्रतिशत भन्दा बढी छ, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा सुत्केरी हुन आउनेको सङ्ख्यालाई विश्लेषण गर्दा यस्तो तथ्याङ्क देखिएको उहाँले बताउनु भयो ।

०६८ को जनगणना अनुसार जिल्लामा १५ देखि १९ वर्ष उमेरभित्र ५१ प्रतिशत किशोर किशोरीको विवाह हुने गरेको तथ्याङ्क छ । जसमा ३४ दशमलव ३३ प्रतिशत पुरुष र ६१ दशमलव १० प्रतिशत महिला रहेका छन् । जनगणना अनुसार पाल्पा जिल्लामा १४ वर्ष मुनीको उमेरमा विवाह हुनेहरू १० दशमलव ७३ प्रतिशत रहेका छन् । जसमा पुरुष ३ दशमलव ४६ प्रतिशत र महिला १५ दशमलव १५ प्रतिशत रहेको छ ।

सानो उमेरमा विवाह गर्दा उनीहरूको प्रजनन अङ्गको पूर्ण विकास भएको हुंदैन । ‘बच्चा ठूलो नहुनु,  बच्चा जन्माउन समस्या हुनु, पाठेघर खस्ने समस्या आउनु  पेटभित्र बच्चा राम्रोसँग हुर्कन नसकेर तौल कम भएको बच्चा जन्मनु, आमाको मृत्यु हुन सक्ने जस्ता बेफाइदा रहेको सञ्चो हेल्थ केयरका डाक्टर झपेन्द्र ढकालले बताउनु भयो ।

समूदाय स्तरमा बालविवाह चुनौतीको रुपमा देखिएपनि त्यसको उजुरी प्रहरी सम्म आएको देखिदैन । जिल्ला प्रहरी कार्यालय पाल्पाका सई मोतिबहादुर खड्काले पछिल्लो तीन वर्ष यता पाल्पामा कुनै पनि बालविवाहको मुद्दा प्रहरीमा दर्ता नभएको बताउनु भयो । तीन वर्ष अगाडि केही थान बहुविवाहका मुद्दामा कान्छी पत्नीको रुपमा बालिकासँग विवाह गरेको भन्ने उजुरी दर्ता हुने गरेपनि अहिले यसप्रकारको मुद्दा दर्ता नभएको उहाँले बताउनु भयो ।


यज्ञमूर्ति तिमिल्सिना