बालविवाह घटनाका आरोपित बेहुला जग्गेबाटै गिरफ्तार

इटहरी उपमनपा-१७ मा बालविवाह गर्ने बेहुलालाई जग्गेबाटै नियन्त्रणमा लिएर जेठ २५ गते बाल सञ्जालले प्रहरीको जिम्मा लगाएको छ ।

१६ वर्षीया बालिकालाई विवाह गर्दै गरेका मोरङको सुन्दर हरैचा नगरपालिका-११ का २४ वर्षीय भीमबहादुर कटुवाललाई नगर बाल सञ्जालले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा बुझाएको हो । घटनालाई लिएर आक्रोशित जन्ती र स्थानीयले नगर बाल सञ्जाल र इटहरी उपमहानगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमालमाथि हातपात समेत गरेका छन् ।

१८ वर्ष बताउँदै आएकी तर १६ वर्ष उमेर भएकी बालिका र भीमबहादुरबिच विवाह भइरहेको थाहा पाएपछि बाल अधिकार संरक्षण गरेको नगर बाल सञ्जालका अध्यक्ष नवराज भट्टराईले बताए ।

जग्गेबाट बाल सञ्जालले प्रहरीमा जिम्मा लगाएका बेहुला इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा छन् । उनलाई कानुन अनुसार कारबाही अगाडि बढाइने इन्स्पेक्टर शान्तराम कार्कीले बताए ।


शेखर ढकाल