बालविवाह घटनाका आरोपित गिरफ्तार

  ०८० जेठ ३० गते

१५ वर्षीया बालिकाको विवाह गराएको आरोपमा प्रहरीले बालिकासहित थप दुई जनालाई गिरफ्तार गरेको छ ।

स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा धनकुटा नगरपालिका–४ देब्रेवासका १९ वर्षीय नरेश मङ्राती र विवाह गराइदिएको आरोपमा नरेशका बाबु कृष्ण मङ्रातीलाई जेठ २९ गते गिरफ्तार गरेको हो ।

धनकुटा नगरपालिका–४ देब्रेवासमा टिकाटालो भइरहेको अवस्थामा स्थानीयले दिएको सूचनाका आधारमा बालविवाह गर्न गराउन संलग्न भएकाहरूलाई अनुसन्धानका लागि विवाहस्थलबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरले बताउनु भयो ।

कानुनको परिभाषा अनुसार बेहुलाबेहुलीको विवाह गर्ने उमेर पुरा नभएकाले अदालती प्रक्रियाका लागि गिरफ्तार गरिएको डिएसपी कुँवरले बताउनु भयो ।

विवाह गर्ने उमेर पुरा नभएकाले विवाह नगर्न दबाब दएपनि छोरीले आफूखुशी ०८० वैशाख १ गते विवाह गरेपछि दुवै परिवारबिच टिकाटालो गर्ने सहमति भएको बालिकाका बाबुले बताउनु भएको छ ।

मुलुकी अपराध(संहिता) ऐन, २०७४ अनुसार २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउन नमिल्ने कानुनी व्यवस्था छ ।


ईश्वर थापा