बालविवाह गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

  ०८० जेठ २ गते

१७ वर्षीया बालिकासँग बालविवाह गर्ने भारतको जम्मु कश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय गुलाम जिलानीलाई ०८० जेठ १ गते ३ महिना कैद सजायको फैसला भएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपित जिलानीलाई ३ महिना कैद तथा भारत जम्मु काश्मिर राज्य रैनवारीका ४० वर्षीय मो.रफिक खार र उनकी पत्नी २७ वर्षीया नुर जहानलाई साढे १ महिना कैद सजाय भएको अदालतले जनाएको छ ।

अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिलानीलाई २ हजार तथा खार र जहानलाई जनही १ हजार रूपियाँ जरिवाना भएको छ । तीनै जना आरोपितबाट फौजदारी कसुर पीडित राहत कोषमा जनही २ सय रूपियाँ भराउने फैसला समेत भएको पोखरेलले बताउनु भयो । अभियुक्तहरूले तिर्नुपर्ने जरिवाना वापतको रकम भने कैद बसेको अवधिबाट भुक्तान भएको अदालतले जनाएको छ । बालिकाका बुबा र आमाले अभियोग दावीबाट सफाई पाएका छन् ।

बालिकालाई २०७९ माघ ८ गते जिलानीले राजगढ गाउँपालिका–२ इनर्वामा बालविवाह गरेको भन्दै सशस्त्र प्रहरीले ०७९ माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन दिएको थियो । प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेको हो । सशस्त्र इन्स्पेक्टर तुलसीराम कार्कीको प्रतिवेदनले जिलानीसहित उनलाई नेपाल ल्याएर विवाह गराउने रफिक खार र उनकी पत्नी नुर जहान तथा बालिकाविरुद्ध समेत उजुरी दर्ता भएको थियो ।

विवाह गरेर भारततर्फ जादै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाको टोलीले बालिका र तीन जना आरोपित भारतीय नागरिकलाई गिरफ्तार गरेर माघ १४ गते नेपाल प्रहरीको जिम्मा लगाएको थियो । राजीखुशीले विवाह गरेकाले बालिकाका अभिभावकले उजुरी दिन अस्विकार गरेपछि सशस्त्र प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता भएको हो ।

जिल्ला अदालतमा विवाहका लागि सहमति दिने बालिकाको ४४ वर्षीय बुबा र ४२ वर्षीय आमासमेत ६ जनामाथि फागुन ५ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले फागुन १० गते बालिकालाई ३ महिना कैद गरी सजाय स्थगनको फैसला गरेको छ ।

गिरफ्तार भएका अन्य तीन जना आरोपितहरू फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । अदालतमा फागुन १७ गते हाजिर भएका बालिकाका आमा साधारण तारेखमा र बुबा ५ हजार रूपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

 


मनोहरकुमार पोखरेल