बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा मुद्दा दायर

एक १७ वर्षीया बालिकालाई बालविवाह गर्ने र उक्त कार्य गराउन संलग्न भएको आरोपमा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय रोल्पाले भदौ १५ गते जिल्ला अदालत रोल्पामा मुद्दा दायर गरेको छ ।

पीडित बालिकाको विवाह गैरीगाउँ गाविस-८ का २४ वर्षीय रमेश परियारसँग गराएको आरोपमा करेटी गाविस-३ का २१ वर्षीय लक्ष्मण विक, गैरीगाउँ गाविस-८ का २२ वर्षीय दिपक परियार र विवाह गर्ने रमेश परियारविरुद्ध प्रहरीले बालविवाह अन्तर्गत मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पीडित बालिका र रमेशबीच ०७३ साउन २९ गते सुनिताको बालविवाह गराएको उनीहरूमाथि आरोप छ । परिवारका अन्य सदस्यहरू नभएको अवस्थामा पीडित बालिका भदौ ११ गते घरबाट भागेर सदरमुकाम लिवाङ आई जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित बालिकालाई प्रहरीको संरक्षणमा राखिएको जनाइएको छ ।


माधवकुमार ओली