बालविवाह गरेको भन्दै पठनपाठनबाट वञ्चित

  ०७८ माघ २९ गते

बेसीशहर नगरपालिका –१ की १४ वर्षीया बालिका बालविवाह गरेको भन्दै विद्यालय जानबाट वञ्चित भएकी छिन ।

गत कात्तिक महिनामा पीडितले सोही ठाउँका कक्षा १० मा अध्ययनरत १६ वर्षीय बालकसँग विवाह गरेको भन्दै विद्यालयले दुवैजनालाई विद्यालयमा केही समय आउन रोक लगाएको जनकल्याण मावि उदीपुरका प्रधानाध्यापक सुर्यबहादुर अधिकारीले बताउनुभयो ।

विद्यालयले बालविवाहको आरोप लगाएपनि छोरीको विवाह नभएको पीडितका ५३ वर्षीय बुवाले बताउनुभयो ।

विद्यालयले १५ दिन अघि सञ्चालन गरेको परीक्षामा समेत उनलाई सहभागी हुन नदिएको उहाँले बताउनुभयो ।

पढ्न दिनपर्याे भनि वडा कार्यालयमा उजुरी दिएको तर वडा कार्यालयले पनि कुनै पहल नगरेको पीडित पक्षको भनाइ रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई पनि पीडित पक्षले पटक पटक भेटेर आफ्नो कुरा राखेपनि कुनै सुनवाई नभएको उहाँले बताउनुभयो ।

अध्यक्ष अधिकारीका अनुसार विद्यालयको नीति नियम अनुसार हाजिरी सङ्ख्या नपुगेर पनि परीक्षा दिन र विद्यालय जान रोक लगाइएको हुनसक्ने बताउनुभयो ।

विद्यालयको प्रशासनसँग बुझेर उनलाई पढ्नबाट वञ्चित हुन नदिने उहाँले बताउनुभयो ।

कक्षा १० मा अध्ययनरत बालकलाई एसइइको तयारीको लागि विद्यालयमानै होस्टेल राख्नुपर्ने भएको र दुवैले विवाह गरेको कारण बालिकालाई विद्यालय आउन रोकिएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।

वडा नम्बर १ का वडाध्यक्ष बलराम श्रेष्ठले विद्यालय प्रशासनसँग छलफल गरी र घटनाको वास्तविकता बुझेर बालिकालाई पढ्ने वातावरणको व्यवस्था गरिने जानकारी दिनुभयो ।


दलबहादुर मजाकोटी