बालविवाहले प्रजनन् स्वास्थ्यमा असर

  ०८० पुस १९ गते

दुई वर्षअघि चन्दननाथ नगरपालिका – ८ की १६ वर्षीया किशोरीले बच्चा जन्माएपछि शिशुको मृत्यु भयो । सोही नगरपालिका–८ र ९ नम्बर वडाका गर्भवती तथा सुत्केरी आमा सहजताका लागि तलिउम स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । सोही स्वास्थ्य चौकीमा ती किशोरी गर्भ चेकजाँच गर्न आउने गर्ने गरेका इन्चार्ज नरेन्द्र धरालाले बताउनु भयो ।

उहाँले भन्नुभयोे ‘प्रजनन् अंग परिपक्क नभएरै कलिलो उमेर गर्भवती भएकी ती किशोरीको तौल उचाई पनि पुगेको थिएन ।  बर्थिङ सेन्टरमा सुत्केरी गराउन नसकिने अवस्था भएपछि सुविधा सम्पन्न अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरौँ । त्यतिबेला आमा र बच्चा दुवै जोखिम अवस्था थिए । पछि सुत्केरी भएपछि आमा बाच्न सफल भइन् । बच्चाको भने मृत्यु भयो ।’

आमा र बच्चाले मृत्युवरण गर्नुको मुख्य कारण प्रजनन् अंग परिपक्क नभएर कलिलै उमेर विवाह गरेर सुत्केरी हुने रहेको तलिउम स्वास्थ्य चौकीका इन्चार्ज धरालाले बताउनु भयो । कलिलै उमेरमा विवाह गरेर गर्भवती हुने, पोषणमा ध्यान नदिने, धेरै बोजिलो काम गर्ने भएकोले यहाँका धेरैजसो महिलामा पाठेघरको संक्रमण पनि रहेको उहाँले भन्नुभयोे  ।

कलिलै उमेरमा विवाह गर्नु हुदैन भनेर सचेतीकरण गर्दागर्दै अहिले पनि १६ वर्षकी किशोरी स्वास्थ्य चौकीमा भर्ग चेकजाँच गर्न आउने सङ्ख्या नघेटेको र अहिले पनि २० वर्षमुनिका ५० प्रतिशत किशोरी गर्भ चेकजाँच गर्न आउने गरेका छन् ।

यस बर्थिङ सेन्टरमा आर्थिक वर्ष ०७६/०७७ मा २६ जना मध्य ९ जना २० वर्षमुनिका किशोरी सुत्केरी भएका छन् । त्यस्तै आर्थिक वर्ष ०७७/०७८ मा ४३ जना मध्य ९ जना २० वर्षमुनिका, आर्थिक वर्ष ०७८/०७९ मा ३७ जना मध्य १४ जना २० वर्षमुनिका, आर्थिक वर्ष ०७९/०८० मा ३६ जना मध्य १५ जना २० वर्षमुनिका र आर्थिक वर्ष ०८०/०८१ को मङ्सिर महिनासम्म २१ जना मध्य ३ जना २० वर्षमुनिका किशोरी सुत्केरी भएका छन ।
राष्ट्यि जनगणना २०७८ अनुसार यस नगरपालिका–८ र ९ वडाको जम्मा ३ हजार ७६० जनाको जनसङ्ख्या रहेको छ । तालिम स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा ८ नम्बर वडाकै बासिन्दाले सेवा लिने गरेको छन् । यो वडाको जनसङ्ख्या २ हजार पाँच सय मात्रै रहेको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलाको पाँच वर्षको तथ्याङ्क अनुसार १ सय ६३ मध्य ५० जना २० वर्षमुनिका किशोरीले कलिलै उमेरमा विवाह गरेर बच्चा जन्माएको देखिन्छ । यो तथ्याङ्कले समाजमा बालविवाह हुने गरेको देखिएको इन्चार्ज धरालाको भनाइ छ ।

बालविवाहबाट उन्मेका बच्चालाई सरकारी सेवासुविधा प्रदान गर्न कानुनी प्रक्रियामा नमिल्ने चन्दननाथ नगरपालिका – ९ वडा कार्यालयका सचिव नन्दप्रसाद देवकोटाले बताउनु भयो । बालविवाहको असर जन्मिने बच्चाले भोग्ने गरेका छन् । सरकारले अहिले बालपोषण भत्ता र छोरी सुरक्षा खाता कार्यक्रम सञ्चालन गरेको उहाँले भन्नुभयोे । यो सेवासुविधा लिनका लागि बाबु आमा नागरिकता विवाह दर्ता अनिवार्य भएको हुनु पर्दछ । तर बालविवाह गरेका किशोर किशोरीको हुदैन । अनि काम गर्न सहज हुन्छ । यसमा कर्मचारीले जनप्रतिनिधिदेखि नेताहरुको भनाइ खानु पर्ने अवस्था छ । अब जोसुकै व्यक्तिले विवाह गर्नुपुर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गर्न आवश्यक छ । यो सिफारिस लिनुपर्ने व्यवस्था जनप्रतिनिधिले ऐन कानुन नै बनाएर कार्यपालिकाबाट पारित गर्न आवश्यक छ ।

Photo20240104Jumla


मानदत्त रावल