बालरोग विशेषज्ञ डक्टर नहुँदा उपचारमा समस्या

जिल्ला सामुदायिक अस्पतालमा बालरोग विशेषज्ञ डक्टर नहुँदा जिल्लामा रहेका बिरामी बालबालिकाको उपचारमा समस्या भएको छ । गर्मी मौसममा बालबालिका बढी बिरामी हुने गरेको भएपनि बालरोग विशेषज्ञ डक्टर नभएका कारण बिरामीलाई उपचारका लागि काठमाडौँ र पोखरा पुर्‍याउनु पर्ने बाध्यता रहेको छ ।

बेसीशहर नपा-३ बस्ने सन्तुमाया दुलालले बालरोग विशेषज्ञ नभएका कारण अरू चिकित्सकबाट उपचार गर्दा आफ्नो सात महिनाको बच्चालाई उपचार गर्न समस्या भएको गुनासो गरिन् । दुलालका अनुसार विशेषज्ञ डक्टर नहुँदा उपचारका लागि हप्तामा तीन पटक अस्पताल लैजाँदा समेत निको नभएको उनको गुनासो छ । अस्पतालमा मेडिकल अफिसरले बच्चाको जाँच गरिरहेको उनले बताइन् ।

उनी जस्तै बालबालिकाको उपचारका लागि पुग्ने अन्य सेवाग्राही अभिभावक बालरोग विशेषज्ञ नहुँदा मेडिकल अफिसरबाट बालबालिकाको स्वास्थ जाँच तथा उपचार गराउँछन् । दैनिक रूपमा ५० जनाको सङ्ख्यामा बालबालिका उपचारको लागि अस्पताल आउने गरेको अस्पतालका मानव शंसाधन तथा श्रोत विकास प्रमुख शान्तिराम राईले जानकारी दिए ।

जिल्लाको एकमात्र सामुदायिक अस्पताल लाई १० वर्षदेखि मानव विकास तथा सामुदायिक सेवाले चलाइरहेको छ । अस्पतालका व्यवस्थापक युवराज देवकोटाका अनुसार अस्पताल श्रोतले विशेषज्ञ डाक्टरको खर्च थेग्न नसक्ने हुँदा डक्टर राख्न नसकिएको हो ।

जिल्ला समन्वय विकास समितिका प्रमुख लोकराज पाण्डेले स्वास्थ्य संस्था जस्तो संवेदनशील संस्थामा सबै रोगका लागि विशेषज्ञ डक्टर सहितको सेवा उपलब्ध हुनुपर्ने उनले बताए । सेवाग्राहीहरूले अबका दिनमा सबै सुविधा पाउनका लागि पहल गरिने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाललाई सो समस्याका बारेमा जानकारी गराउँदा बालबालिकाहरूका लागि विशेषज्ञ डक्टर ल्याउन पहल गरिने बताए ।

बेशीसहर नगरपालिकाकाका प्रमुख गुमानसिंह अर्यालले अब एक नगरपालिका एक सुविधा सम्पन्न अस्पतालको अभियानमा आफू रहेको हुनाले आगामी ६ महिना भित्रै यो समस्याको समाधान गर्ने उनले प्रतिबद्धता जनाए ।


दलबहादुर मजाकोटी