बालयौन दुरुपयोग कसुरमा १० वर्ष कैद

  ०८१ असार १८ गते

१५ वर्षीया बालिकालाई बारा जिल्ला निजगढ नगरापलिका-१२ का ३० वर्षीय ‘तपस्वी’ रामबहादुर बम्जनले बालयौन दुरुपयोग गरेको कसुरमा जिल्ला अदालत सर्लाहीले ०८१ असार १७ गते १० वर्ष कैद सजाय फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको एकल इजलासले आरोपित बम्जनले बालयौन दुरुपयोग गरेको कसुर ठहर गर्दै १० वर्ष कैद र पीडितलाई पाँच लाख रुपियाँ क्षतिपुर्ती दिने गरी मुद्दाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

बालिकालाई बम्जनले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०७६ माघ २३ गते उजुरी दिनु भएको थियो ।

उक्त उजुरीको आधारमा सर्लाही जिल्ला अदालतले ०७७ असार २१ गते बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-६ स्थित निवासबाटै आरोपित बम्जनलाई ०८० पुस २४ गते सीआइबी टोलीले गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७६ माघ २४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको ०८० पुस २६ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि जलेश्वर कारागार महोत्तरीमा रहेको स्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।


बुधन साह