बालबिवाह घटनाका आरोपित गिरफ्तार

  ०८१ कात्तिक ८ गते

१६ वर्षीया छोरीको चीनीया नागरिकसँग बालबिवाह गराएको आरोपमा प्रहरीले धनकुटा जिल्ला, छथर जोरपाटी-२ का ३९ वर्षीय बाबु लोकबहादुर परियारसहित आठ जनालाई गिरफ्तार गरी सार्वजनिक गरेको छ ।

बराहक्षेत्र नगरपालिका-१ चतरामा चीनीया नागरिक ३३ वर्षीय ली टेङ्सँग ०८१ असोज ३० गते बालबिवाह गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी घटना सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद तिमल्सिनाले १६ वर्षीया बालिकाको चीनीया नागरिकसँग बालबिवाह गराएको आरोपमा बालिकाका बाबुसहित चिनको हुबेल बस्ने ३३ वर्षीय ली टेङ्, उदयपुरको बेलका नगरपालिका-९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्री विक्रम राई, स्याङ्जाको पुतलीबजार नगरपालिका-१२ का २० वर्षीय सितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका-३ की २० वर्षीया रोशनीमाया तामाङ, चीनीया नागरिकहरू ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको बताउनु भयो ।

विवाह गर्न नेपाली महिलाको उमेर २० वर्ष पुग्नुपर्ने कानूनी व्यवस्था छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ मा २० वर्ष नपुगी विवाह गर्न-गराउन नपाउने उल्लेख छ । साथै कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ ।

‘नेपाली युवतीसँग विवाह गर्नुको कारण खुलेको छैन,’ व्यापार व्यवसायसँग जोडिएर नेपाली युवतीहरूसँग चीनीयाँ नागरिकले विवाह गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गिरफ्तारीमा परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज ३० गते गरिएको छ ।

घटनाका आरोपितलाई प्रहरीले असोज ३० गते सार्वजनिक गरेपनि अनुसन्धान प्रभावित हुने भएकाले ढिलो गरी घटना सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

Photo 20241024 Sunsari
तस्विर-अन्नपूर्ण पोष्ट

जयकृष्ण यादव