बालबालिकालाई राजनीतिक गतिविधिमा सहभागी नगराउने राजनीतिक दलको प्रतिबद्धता

जिल्ला स्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूले बालबालिकाहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा र स्थानीय तहको निर्वाचनमा प्रयोग नगर्ने र नगराउने सामूहिक प्रतिबद्धता जनाएका छन् ।

जिल्ला बाल कल्याण समिति र नागरिक समाजका सङ्घ सस्थाहरूको अगुवाइमा जिल्लामा क्रियाशील राजनीतिक दलहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टीका सरोकारवाला निकायहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका हुन् ।

बाल अधिकार संरक्षण र सम्बर्द्धनका लागि बनाइएको निर्वाचन आचार संहिता, बाल अधिकार महासन्धिले सुनिश्चित गरेका अधिकार, बालबालिका ऐन, नियम, बाल अधिकार नियमावलीहरूले प्रदत्त गरेका अधिकारहरूलाई ध्यानमा राखी बालवालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाइएको दलका प्रतिनिधिहरूले बताएका छन् ।

प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने राजनीतिक दलहरूले भने-विषयवस्तु समय सान्दर्भिक भएकोले हामी हस्ताक्षर गर्ने सबै राजनीतिक दलहरू प्रतिबद्धतापत्रमा उल्लेख भएका सबै प्रतिबद्धताहरू कार्यान्वयन गर्न प्रतिबद्ध छौँ ।'

प्रमुख जिल्ला अधिकारी डिल्लिराज पोख्रेलले सहभागी सबै राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता र बालबालिकालाई सभा, जुलुसमा सहभागी नगराउन तथा टोपी र टिसर्टहरू लगाउन दिएर चुनावी प्रचार नगर्न अनुरोध गरे ।


नारायण भुसाल