बालबालिकालाई मनोरञ्जनस्थलमा काम गराएको घटनाका आरोपित गिरफ्तार  

  ०८१ असोज २४

१३ वर्षीय दुई जना र १५ वर्षीय एक जना बालक तथा १५ र १६ वर्षीया दुई जना बालिकालाई मनोरञ्जन स्थलमा काम गराएको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका-२४ का ३१ वर्षीय सनिप महर्जन र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ का २९ वर्षीय सन्देश थापालाई असोज २२ गते गिरफ्तार गरेको छ ।

ठमेलका डान्सबार, क्लबलगायत मनोरञ्जनका स्थानहरूमा बालबालिकालाई काममा लगाएको आरोपमा उनीहरुलाई ललितपुर महानगरपालिका–२४ धापाखेलबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनु भयो ।

घटनास्थलबाट पाँच जना बालबालिकालाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिनु भयो ।

रात्रिकालीन मनोरञ्जनको क्षेत्रमा बालबालिकाहरूलाई काममा लगाइएको साथै प्रवेश गर्न दिएको आरोपमा गिरफ्तार गरिएकालाई बालबालिकासम्बन्धी ऐन २०७५ परिच्छेद ८ बमोजिमको कसुरमा अनुसन्धान तथा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको एसपी आचार्यले बताउनु भयो ।


दीपकप्रसाद घिमिरे