बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने राजनीतिक प्रतिबद्धता

प्रमुख राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने र निर्वाचन घोषणापत्रमा बाल संरक्षणका विषय समावेश गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेको राससले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा बाल अधिकार तथा बालसंरक्षण पैरवी अभियानले वैशाख ६ गते काठमाडौँमा आयोजना गरेको निर्वाचनमा बाल अधिकार तथा बालसंरक्षणका लागि राजनीतिक संवाद विषयक कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक दलका नेताहरूले बालबालिकालाई निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन । अभियानका तर्फबाट कृष्ण सुवेदी र युवराज घिमिरेले नेतालाई १९ बुँदे सुझावपत्र हस्तान्तरण गरेका थिए ।

नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने भन्दै पार्टीले बाल अधिकारको संरक्षण र अधिकारका कुरालाई स्थानीय सरकारमा प्राथमिकतामा राख्ने बताए ।

उनले स्थानीय तहले नै बालबालिकाको अधिकारलाई सुनिश्चित बनाउने बताउँदै बालबालिकाको विकासमा सहयोग पुर्‍याउने कुरा घोषणापत्रमा राख्ने उल्लेख गरे ।

नेपाली काङ्ग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले पार्टीले १६ वर्ष मुनिकालाई सदस्य नबनाउने भन्दै त्यसपछि मात्र प्रयोग गर्ने बताए ।

उनले आफ्नो पार्टी बालबालिकाका अधिकारप्रति गम्भीर भएकाले निर्वाचनमा बालबालिकाका मुद्दालाई प्रथामिकतामा राख्ने बताए ।

एकीकृत नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले विगतमा पार्टीले बालबालिका निर्वाचनमा प्रयोग गरे पनि अबदेखिको निर्वाचनमा पार्टीले बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले बाल संरक्षणका लागि अब बन्ने स्थानीय सरकारले सही अर्थमा काम गर्नसक्ने बताए ।

राप्रपा प्रवक्ता रोशन कार्कीले सबै पार्टीले निर्वाचनमा बालबालिकाको प्रयोग निषेध गर्नुपर्ने भन्दै आफ्नो पार्टीले पनि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


अनलाइन डेस्क