बालबालिकाको पोषणप्रति गम्भीर बन्न आवश्यक

  ०७४ असोज ३० गते

बालबालिका भविष्यका कर्णधार भएकाले बालबालिकाको पोषणप्रति गम्भीर बन्न आवश्यक रहेकोमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

विश्व खाद्य दिवसको अवसर पारेर असोज ३० गते पोखरामा आयोजित खाद्य सुरक्षा र बालबालिकाको पोषणको अवस्था विषयक अन्तरक्रिया बोल्ने अधिकांश वक्ताहरूले बालबालिकाको स्वास्थका विषयमा सजग बन्नुपर्ने बताए ।

Photo20171012Kaski

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा, सिविन पोखरा र बालिका शक्ति समूह कास्कीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै अन्तरक्रियमा बोल्दै जिल्ला समन्वय समितिका सभापति बैनबहादुर क्षेत्री अधिकारीले सरकारी तथा गैर सरकारी निकायले अन्तरक्रियाकै माध्यमबाट खाद्य समस्या पहिल्याई समाधान खोज्न आवश्यक रहेको बताए । उनले विशेषगरी राजनीति गर्ने व्यक्तिले बालबालिकाको पोषणको विषयलाई चासो दिएर सबै तहमा जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा उपभोक्ता मञ्च कास्कीका सुरेश रानाभाटले खाद्य सुरक्षा र बालबालिकाको पोषणको अवस्था शीर्षकको आधारपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रियामा भनाई राख्दै राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यलयकी निमित्त क्षेत्रीय निर्देशक नितु गर्तौलाले कास्की जिल्लामा रहेका सडक बालबालिकाको अवस्था दयनीय रहेकोले सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गरिन् ।

त्यस्तै पोखरा लेखनाथ महानगरपालिकाकी अधिकृत कल्पना बरालले दुर्गम भेगका बालबालिका खान नपाएर पीडित भएको र शहरी क्षेत्रका मानिस खानामा सन्तुलन मिलाउन नसकेर पीडित बनेको बताइन् । जिल्ला कृषि विकास कार्यलयका कार्यलय प्रमुख लोकेन्द्र बोहोराले खेतीयोग्य जमीन प्लटिङ् गर्ने कार्यलाई निरूत्साहित गर्न सरकारले कदम चाल्नु आवश्यक रहेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यलयकाका अधिकृत बोधराज सापकोटाले व्यक्ति बिरामी नभएसम्म स्वास्थ्य जाँच नगर्ने हुँदा उपचार खर्चालु हुने भएकोले स्वास्थ जाँच समयसमयमा गरे उपचार रकम गुणस्तरीय खाद्यमा लगाउन सकिने बताए ।

वरिष्ठ बालरोग विशेषज्ञ रामचन्द्र बास्तोलाले जनचेतनाको अभावमा गलत औषधि प्रयोग गर्दा बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको भन्दै औषधि प्रयोग गर्नुभन्दा अभिभावक नै सचेत भएर विषादी रहित तरकारीलगायत घरमै बनाइएका खाद्य वस्तुमा जोड दिनुपर्ने बताए ।

त्यस्तै सहायक जिल्ला शिक्षा अधिकारी नवराज पौडेलले कास्कीमा ९८ दशमलव ५ प्रतिशत बालबालिका विद्यालय जाने गरेको तथ्याङ्क रहेको बताउँदै विद्यालय जाने बालबालिकामा जङ्क फुड  नियन्त्रण मात्र गर्न सके बालबालिकामा पोषणसम्बन्धी देखिने धेरै समस्या समाधान हुने बताए ।

महिला तथा बालबालिका कार्यलयका स्रोत व्यक्ति बद्री वाग्लेले सञ्चार माध्यममा सुनाइने र देखाइने विज्ञापनले बाल मनोविज्ञानमा प्रत्यक्ष असर परेकोले राज्यले विज्ञापन प्रकाशन/प्रशारण गर्नेबारे पनि मापदण्ड ल्याउनु पर्ने विचार राखे ।

इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले बालबालिकाबाटै खाद्य र पोषणसम्बन्धी जनचेतना सुरू गर्नको लागि पाठयक्रममा नै पोषणसम्बन्धी सामग्री राख्ने कार्य बढाउन आवश्यक रहेको बताए । गैरसरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष पदम पहारीले सरकारले अब 'एक घर एक तरकारी बारी'को अवधारणा ल्याउन आवश्यक रहेको बताए ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विष्णु बरालले सम्पुर्ण रोगको जड नै खानपान रहेकोले खानपानमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । अन्तरक्रियामा इन्सेक पश्चिमाञ्चलकी कार्यक्रम अधिकृत सवनम शर्माले खाद्यवस्तुमा हुने मिसावटले मानव शरीरमा पारेको असर र बालस्वास्थमा पोषणको महत्वलाई विशेष स्थान दिन आवश्यक रहेको बताइन् ।


संगीता भाट