अपहरण घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ ७ गते

१० महिने बालक अपहरण गरेको आरोपमा हिमा गाउँपालिका- ३ मोफ्ताका २५ वर्षीय दानबहादुर रोकायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले भदौ ५ गते एयरपोर्ट चोक सुर्खेतबाट गिरफ्तार गरेको छ ।

आरोपित रोकायले बालक आफूले लिएर अपरिचित व्यक्तिलाई दिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर कनकबहादुर शाहीले बताउनुभयो ।

पीडित पक्षले भदौ ३ गते रातिदेखि बालक हराएको भन्दै भदौ ४ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा निवदेन दिएको थियो ।

घटना निकै गम्भीर र संवेदनशील भएकाले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी दानबहादुर थापाले इन्सेक प्रतिनिधिसँग भन्नुभयो ।

आरोपितलाई थप अनुसन्धानका लागि सुर्खेतबाट जुम्ला ल्याउने तयारी भइरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।


मानदत्त रावल