बालकुमारी घटनाको छानबिन गर्न सरकारद्वारा जाँचबुझ आयोगको म्याद थप

दक्षिण कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शन र सोही प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको छानबिन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप गरेको छ ।

मन्त्रिपरिषद्को माघ १८ गते बसेको बैठकले घटनाका सम्बन्धमा छानबिन गर्नका लागि जाँचबुझ आयोगलाई १५ दिन म्याद थप गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले इन्सेकलाई जानकारी दिनुभयो ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले ०८० पुस १६ गते विज्ञप्ति जारी गर्दै बालकुमारीमा भएको घटनाको न्यायिक छानबिन र दोषीलाई कानुनी कारबाही अपरिहार्य रहेको भन्दै घटनाका सत्यतथ्य उजागर गर्न कुनै अवरोध खडा नगर्ने सुनिश्चितताका लागि माग गर्नुभएको थियो ।

दक्षिण कोरियमा रोजगारमा जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै असन्तुष्ट युवाहरूले पुस १३ गते बालकुमारीमा गरेको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि आगजनी भएको थियो । उक्त स्तिथिलाई नियन्त्रणमा लिन प्रहरीको प्रहार गरेको गोली लागेर अछामको चौरपाटी गाउँपालिका-१ का २२ वर्षीय वीरेन्द्र शाह ठकुरीको मृत्यु भएको थियो भने प्रहरीले प्रहार गरेको लाठी लागेर दैलेखको महाबु गाउँपालिका-६ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

त्यस्तै ०८० पुस १३ गते दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको थियो । उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्यको नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहने मन्त्रालयले जनाएको थियो ।

मन्त्रीपरिषदको पुस १४ गते बसेको बैठकले मृतकका परिवारलाई सरकारले १०/१० लाख रुपियाँ राहत दिने निर्णय समेत गरेको थियो ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा