बालकलाई यातना दिएको घटनाका आरोपित गिरफ्तार

मेलम्ची नपा-१२ बाहुनपटीका १२ वर्षीय बालकलाई कुटपिट गरी यातना दिएको आरोपमा सोही ठाउँ घरभई फटकशिला स्वास्थ्य केन्द्रमा कार्यरत अहेव ३५ वर्षीया रमा न्यौपानेलाई प्रहरीले असार ३ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले असार ३ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको थियो । पीडित बालकको ढाड र गोडामा निलडाम हुनेगरी डण्डीले असार ३ गते बिहान कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालकको उपचार मेलम्ची स्वास्थ्य केन्द्रमा उपचार गराइएको छ । आफ्नो १० वर्षीया छोरीलाई अभद्र व्यवहार गर्न खोजेकाले आफूले बालकलाई सचेत गराउन मात्र खोजेको आरोपित न्यौपानेले बताइन् ।

बालकलाई यातना दिएर कुटपिट गरेको उजुरी आएकोले आरोपित न्यौपानेलाई गिरफ्तार गरी अदालत पुर्‍याउने काममा आफू लागेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर नवराज ढुङ्गानाले बताए ।


नातिबावु धिताल