बालकलाई चार वर्ष आठ महिना कैद

  ०७९ चैत १० गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने र आठ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने फैसला भएको छ ।
अर्का आरोपित रुपनी गाउँपालिका–४ छप्कीका २० वर्षीय प्रदिप भनिने आनन्द राममाथिको अभियोगमा दावी नपुग्ने भन्दै ०७९ चैत १ गते नै सफाइ पाइसेका छन् ।

यस अघि जिल्ला अदालतको ०७६ भदौ ११ गतेको इजलाशले बालकलाई बालसुधार गृह विरगञ्जमा र आनन्दलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । कोरोना संक्रमणको विपद व्यवस्थापनका लागि अदालतको सेवा प्रवाह समबन्धी ०७६ चैत ७ गतेको परिपत्र अनुसार बालकलाई अदालतले तोकेको तारेखमा नियमित उपस्थित हुने गरी ०७६ चैत ११ गते बुबाको जिम्मा लगाएको थियो । आनन्द राम उच्च अदालत जनकपुर राजविराज इजलाशबाट ०७६ पुस २ गते दुई लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

आरोपितहरुले ०७६ साउन १७ गते राति बलात्कार गरेको भन्दै पीडितकी आमाले ०७६ साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । उजुरी लिएर आएका बेला पीडित महिनाबारी भएकीले पीडितको स्वास्थ्य परिक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७६ साउन २२ गते मात्र भयो । बुवा–आमा घरमा नभएका बेला घरको बार्दलीबाट प्रवेश गरेका बालकले बलात्कार गरेको र आनन्दले घर बाहिर वरण्डामा पहरा दिएको पीडितले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालयले ०७६ साउन २० गते उजुरी दर्ता गरेको थियो । सोही दिन दुबै जना आरोपित गिरफ्तार भएका थिए ।


मनोहरकुमार पोखरेल