बारा निर्वाचन क्षेत्र नं. २ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अनुगमन

  ०८० वैशाख ९ गते

1682159139095

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीले बारा जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको वैशाख ९ गते अनुगमन गरेको छ ।

टोलीले महागढीमाई नगरपालिका–२ स्थित गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय र पचरौता नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेनौली र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सखुवा घाटमा रहेको मतदान स्थलको अनुगमन गरेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा इन्सेक संस्थापक अध्यक्ष सुशील प्याकुरेलको नेतृत्वमा इन्सेक वरिष्ठ अधिकृत कृष्ण गौतम, सम्झा श्रेष्ठ, इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान र इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेलको टोलीले मतदान स्थल र सरोकारवाला निकायसँग भेटघाट तथा छलफल गर्नुका साथै निर्वाचनको अघिल्लो दिन पर्यवेक्षण तथा अनुगमन गरेको हो ।

पर्यवेक्षण तथा अनुगमनका क्रममा गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय मतदान स्थलमा उम्मेदवारहरूले मत मागेको तस्वीरहरू पाइएको थियो । सोही मतदान केन्द्रमा नाला लगायतका स्थानमा फोहर देखिएको थियो । अनुगमन टोलीको नेतृत्व गर्नुभएको राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा इन्सेकका संस्थापक अध्यक्षले मत मागेको तस्वीर हटाउन र फोहर व्यवस्थापन गर्न मतदानमा खटिएका कर्मचारी रामधनी मण्डललाई सुझाव दिनु भएको थियो ।

बनौली मतदान स्थल अति संवेदनशील रहेकोले निर्वाचन आयोगले तोकेको मापदण्ड अनुसार मतदान केन्द्रको निर्माण गर्न मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकुमार महतो र बखत बहादुर साउदलाई प्याकुरेलले आग्रह गर्नुभएको थियो । उक्त मतदान स्थलको मतदान केन्द्र “क” मा १ हजार ८ र “ख” मा १ हजार ३५ मतदाता रहेको पाइयो ।

सखुवाघाटमा रहेको मतदान स्थलमा घेराबेरा नरहेकोले सुरक्षाको दृष्टिकोणले घेराबेरा लगाउन प्याकुरेलले मतदानमा खटिएका मतदान अधिकृत प्रवेश रायलाई सुझाव दिनु भयो । उक्त मतदान केन्द्रमा ८ सय ३९ जना मतदाता रहेको पाइयो ।

यसैबिच इन्सेक टोलीले जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीलाई भेटि निर्वाचन सुरक्षाको विषयमा छलफल गरेको छ । छलफलका क्रममा एसपी बोगटीले निर्वाचनका दिन जिल्लाका सबै स्थानमा यातायात बन्द गरिएपनि पूर्व–पश्चिम महेन्द्र राजमार्ग भने सुचारु रहने जानकारी दिनुभयो । बारा जिल्लाको चार ओटै क्षेत्र मध्ये ७५ प्रतिशत भारतीय सीमा क्षेत्र उपनिर्वाचन क्षेत्र नं २ सँग जोडिएकोले अति संवेदनशील क्षेत्र रहेको उहाँले बताउनु भयो । वैशाख ८ गतेदेखि सीमा क्षेत्र बन्द गरिएको उहाँले बताउनु भयो । बैशाख ७ गतेदेखि मादक पदार्थ सेवन र बिक्री बितरण निर्वाचन क्षेत्रमा बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

एसपी बोगटीले भन्नु भयो– “८८ मतदान स्थल मध्ये ६५ मतदान स्थल अति संवेदशील बर्गमा राखि सुरक्षा शतर्कता अपनाएका छौँ, तारबार पर्खाल नभएका स्थानहरूलाई अति संवेदनशील मतदान स्थल मानिएको छ ।”

उपनिर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी १ हजार ८ सय, सशस्त्र प्रहरी ७ सय र नेपाली सेना ६ सय परिचालन भइसकेको एसपी बोगटीले बताउनु भयो ।

मतदानमा बाधा गर्नेलाई रोक्न हवाइफायर गर्ने आदेश सुरक्षकर्मीलाई दिइएको उहाँले बताउनु भयो । झण्डा, ब्यानर र डीजे बाजालगायत निर्वाचन अचारसंहिता विपरीतका कार्य हुन नदिन व्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।

एसपी बोगटीले भन्नु भयो–“अशक्त मतदाताको मतदान गर्न निर्वाचन आयोगको नियम अनुसार घर परिवारका सदस्य वा मतदान अधिकृतलाई भोट हाल्ने व्यवस्था मिलाएका छौैँ ।”

कलैय उपमहानगरपालिका–३ स्थित शैक्षिक तालिम केन्द्र गङ्गापुरमा मतगणना गर्ने र निर्वाचन सकिएकै रातिदेखि मतगणना कार्य ३६ घण्टामा सक्ने गरी व्यवस्था मिलाइएको एसपी बागटीले जानकारी दिनु भयो ।

त्यसैगरी इन्सेकको टोलीले मुख्य निर्वाचन अधिकृत तथा न्यायाधिश मुकेश उपाध्यायसँग निर्वाचनको तयारीको अवस्थाका बारेमा छलफल गरेको छ । निर्वाचन सामग्रीहरू आजै सबै मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएर पठाइएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनु भयो । निर्वाचनमा कुनै पनि बाधा ब्यवधान हुन नदिने गरी सम्पन्न गर्ने उहाँको भनाई थियो ।

उहाँले भन्नु भयो–“हामीले जति प्रयास गरेपनि कानुनको पालना गराउन धौँ–धौ परिरहेको छ, नागरिक स्वयम्ले बुझेको अवस्थामा कानुनको पालना गराउन सजिलो हुन्छ ।”

हालसम्म तुल ब्यानर, निर्वाचनमा यातायात र निर्वाचनमा मतपत्र दुरुपयोग सम्बन्धी तीन ओटा उजुरी परेको उहाँले जानकारी दिनुभयो । तुल ब्यानरको अध्ययन गर्दा सबै राजनीतिक दलले उल्लङ्घन गरको पाइएकोले सबै उम्मेदवारलाई सचेत गराएको उहाँले जानकारी दिनुभयो । निर्वाचन स्थलमै चुनाव चिन्ह बनाउने कार्य गरेको पनि पाइएकोले सो सम्बन्धमा उम्मेदवार तथा राजनीतिक दललाई सचेत गराएको उहाँले बताउनु भयो । मतदाता शिक्षाको बहानामा मतपत्र तयार पारि वितरण गरेको विषयमा उम्मेदवार तथा राजनीतिक दललाई सचेत गराएको उहाँले जानकारी दिनुभयो ।

1682159139116

1682159139134

1682159139154

1682159139150

1682159139158


भोलानाथ पौडेल