बाबुको कुटपिटबाट बचाउन माग गर्दै वडा कार्यालयमा निवेदन

  ०७६ असोज १६ गते

बाबुले लामो समयदेखि कुटपिट गर्दै आएको भन्दै तीन जना छोराछोरीले असोज १३ गते बचाउन माग गर्दै थुलुङ दूधकोशी गाँउपालिका–६ को वडा कार्यालयमा निवेदन दिएका छन् ।

३७ वर्षीय बाबु तीर्थ राईले कान्छी पत्नीको कुरा सुनेर कुटपिट गरेको आरोप लगाउँदै नौ वर्षीय छोरा सम्योग राई, १३ वर्षीया छोरी अमृता राई र १५ वर्षीया छोरी अपना राईले वडा कार्यालयमा निवेदन दर्ता गराएको वडाध्यक्ष फुर्तिमान तामाङले बताए ।

यातनाबाट पीडित बालकले केहीदिन अघि बाबुले भाँडा माझ्ने स्टिल झुसले ढाडमा रगडेर नुन र खुर्सानी दली सिस्नु पानीले हिर्काउँदै यातना दिएको सम्योगले बताए । बाबुको यातनाबाट पीडित बालकको डाँडमा गहिरो चोट लागेको छ ।

स्टिल झुस विभिन्न केमिकलको मिश्रणबाट तयार गरिने र यसले छालाको कोषिकाहरूमा असर पुर्‍याउने भएकाले बालकको ढाड पाक्न थालेको जिल्ला अस्पताल फाप्लुका चिकित्सक रमिन महर्जनले बताए ।

जवरजस्ती पारिएको घाऊमा नुन र खोर्सानीको प्रयोगले चोट भित्रसम्म पुगेको र निको हुन समय लाग्ने चिकित्सको भनाई छ ।

गत मङ्सिर महिनामा बाबुको कुटाईबाट हात भाँच्चिएको र झुठ बोलेर उपचार गराएको अमृताले बताइन् ।

पीडित बालबालिकाले दिएको निवेदन न्यायिक समितिमा पुगेपछि असोज १३ गते न्यायिक समितिमा घटनाका विषयमा छलफल भएको थियो ।

सो क्रममा आरोपित बाबुले मदिरा सेवन गरेर छोराछोरीलाई निर्मम तवरले कुट्ने र ढुङ्गा बोकाउने, माटो मुछ्न लगाउने जस्ता यातना दिने स्वीकार गरेको वडाध्यक्ष तामाङ्गले बताए ।
न्यायिक समितिको निर्णय बमोजिम छोराछोरीको उपचार जिल्ला अस्पतालमा राखी गराउने र निको भएपछि फुपूको घरमा राख्ने तय भएको छ ।
के छ कानुनी व्यवस्था ?
संविधानमा बालबालिकालाई यातना दिन र बाल श्रममा लगाउन पाइँदैन । बालबालिकासम्बन्धी ऐन २०७५ को परिच्छेद २ को दफा ७ को उपदफा ५ मा प्रत्येक बालबालिकालाई निजको बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षक, शिक्षक तथा अन्य व्यक्तिबाट हुने हरेक किसिमका शारीरिक वा मानसिक हिंसा र यातना, हेला, अमानवीय व्यवहार, लैङ्गिक वा छुवाछुतजन्य दुर्व्यवहार, यौनजन्य दुर्व्यवहार र शोषण विरूद्ध संरक्षण प्राप्त गर्ने अधिकार हुने कुरा उल्लेख गरिएको छ ।

सोही दफाको उपदफा ६ मा प्रत्येक बालबालिकालाई आर्थिक शोषण हुनबाट संरक्षण पाउने अधिकार हुनेछ र बालबालिकालाई हानी हुने वा तिनीहरूको शिक्षामा बाधा अड्चन पुग्ने वा स्वास्थ्य, शारीरिक, मानसिक, नैतिक, सामाजिक विकासमा हानी पुग्ने कुनै पनि कामबाट संरक्षित हुन पाउने अधिकार हुनेछ ।

आरोपितलाई कैद र जरिबाना हुने कानुनी व्यवस्था  
बालबालिकासम्बन्धी ऐनको परिच्छेद ८ अनुसार आरोपित तीर्थ राई दोषी ठहर हुन्छन् । दफा ६६ को उपदफा २ को खण्ड (घ) र (ङ) निजले छोराछोरी माथि गरेको व्यवहारप्रति आकर्षित हुने देखिन्छ ।

खण्ड (घ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने र (ङ) मा शारीरिक चोट पटक वा असर पुर्‍याउने, आतङ्कित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने कार्यालाई बालबालिका विरूद्धको कसुर ठानेको छ ।

उक्त कसुर ठहरेको खण्डमा त्यस्ता व्यक्तिलाई सोही ऐनको दफा ७२ को उपदफा ३ को खण्ड (क) ले दण्ड र जरिबानाको व्यवस्था किटानकोे साथ उल्लेख गरेको छ ।

उल्लेखित व्यवस्था अनुसार त्यस्ता व्यक्तिलाई ५० हजार रुपियाँ जरिबाना र एक वर्षसम्म कैद हुन्छ । तर, यहाँ गाउँपालिकाको न्यायिक समिति, प्रहरी र वडाका प्रतिनिधि सहितको रोहवरमा भएको छलफलले सामान्य उपचार खर्चमा दोषीलाई छाडिएको छ ।


भोजराज कार्की