बाफुखोला स्वास्थ्य चौकी एक महिनादेखि औषधिविहीन

बाफुखोलास्थित स्वास्थ्य चौकीमा विगत एक महिनादेखि अति आवश्यक औषधिको अभाव भएको छ । बागचौर नगरपालिका-१२ मा रहेको स्वास्थ्य चौकी बाफुखोलामा औषधि अभाव भएको हो । औषधि अभाव भएको एक महिना बितिसक्दा पनि सम्बन्धित निकायले औषधि नपठाउँदा यहाँका बिरामीले निजी स्वास्थ्य संस्थाहरूबाट औषधि किनेर खानु पर्ने बाध्यता रहेको छ ।

बिरामी भएर स्वास्थ्य चौकी आउँदा औषधि छैन भनेर स्वास्थ्यकर्मीले खाली हात पठाउने गरेको स्थानीय रिता वलीले गुनासो गरिन् । 'बिरामी हुँदा औषधि लिन भनेर स्वास्थ्य चौकीमा जान्छौँ । तर, त्यहाँ कुनै पनि औषधि हुँदैन ।'-उनले भनिन्-'फेरि फर्किएर निजी मेडिकल नै धाउनुपर्छ ।'

स्थानीय ७५ वर्षीया जगुती वलीलाई ज्वरो आउँदा स्वास्थ्य चौकी गएपनि औषधि नपाएपछि रित्तै हात फर्किएको उनले बताइन् । 'हामी जस्ता बुढाबुढी मान्छे टाढा गएर औषधि उपचार गर्न सक्दैनौँ ।'-उनले दुखेसो पोखिन्-'नजिकमा रहेको स्वास्थ्यचौकीमा केही पनि औषधि पाईँदैन के गर्नु बुढो भएपछि त जताबाट पनि दुख भोग्नु पर्दोरहेछ ।'

स्वास्थ्य चौकीका निमित्त इञ्चार्ज धनमाया बस्नेतले एक महिनादेखि स्वास्थ्य चौकीमा औषधिको अभाव भएको बताइन् । उनले स्वास्थ्य चौकी बाफुखोलामा अति आवश्यक औषधि समेत नभएको बताइन् ।

'यस स्वास्थ्य चौकीमा ३९ प्रकारका औषधि हुनु पर्छ । अहिले बढीमा १५/१६ प्रकारका औषधि मात्रै छन् ।'-उनले थपिन्-'दैनिक रूपमा चाहिने आइरन चक्की, ब्रुफिन जस्ता औषधि छैनन् ।' उनले स्वास्थ्य संस्थामा आउने बिरामीहरूलाई औषधि छैन भनेर खाली हात फर्काउनुपरेको बताइन् ।

'सेवा लिन आएका सेवाग्राहीलाई रित्तै फर्काउँदा हामीलाई पनि नराम्रो लाग्छ ।'-उनले भनिन्-' तर के गर्नु नगरपालिकाले अहिलेसम्म औषधि नपठाउँदा समस्या आएको हो ।'

नगरपालिकाले अहिलेसम्म दुई पटक मात्र औषधि पठाएको उनले बताइन् । 'यो क्षेत्र ठूलो छ । यहाँ रूकुम, रोल्पाबाट पनि सेवाग्राही आउँछन् । तर, नगरपालिकाले अति आवश्यक औषधि थोरै पठाउँछ । बढीमा एक महिनामा सकिन्छ ।'-उनले भनिन् । यहाँ अहिले पनि दैनिक रूपमा ५०/६० जना बिरामी आउने गरेका छन् ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा बागचौर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष दिपक वलीले पनि स्वास्थ्यचौकीमा औषधि अभाब भएकाले समस्या परेको बताए ।


मिना बुढाथोकी