बाढी प्रभावितहरूको अवस्था बुझ्न आयोगको टोली सप्तरीमा

  ०७३ असोज १२ गते

बाढीपहिरोबाट प्रभावितहरूको मानव अधिकार अवस्था बारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सप्तरीको तिलाठी, कोइलाडी र गोबरगाढा गाविसको निरीक्षण अनुगमन गरेको छ ।

आयोगका सदस्यहरू मोहना अन्सारी, गोविन्द शर्मा पौडेल, मानव अधिकार अधिकृतहरू बासुदेव बजगाईं र श्यामबाबु काफ्ले सहितको टोलीले असोज ११ गते प्रभावित गाउँहरूमा पुगी शिक्षा, स्वास्थ्य, शौचालय, खानेपानीको अवस्थाबारे जानकारी लिएको छ ।

टोलीले प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, एसपी भिमप्रसाद ढकाल र सशस्त्र प्रहरीका एसपी जयबहादुर खडकासँग भेटघाट गरी बाढी प्रभावितहरूको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सुझाव दिएको मानव अधिकार अधिकृत श्यामबावु काफ्लेले जानकारी दिए ।

बाढीले तिलाठी, गोबरगाढा र कोइलाडीलगायतका गाविस बढी प्रभावित रहेकोमा हाल कोइलाडी गाविसको वडा नम्बर–२, ४, ६, ७ र ९ मा झाडापखाला फैलिएको छ ।


मनोहरकुमार पोखरेल