बाढी प्रभावितहरूका लागि एकीकृत जनस्वास्थ्य अभियान संचालन

बाढीबाट प्रभावित भएका व्यक्तिहरूमा छाला चिलाउने र प्रदुषित पानीको प्रयोगबाट विभिन्न रोगहरू देखिन थालेपछि मोरङमा बाढी प्रभावितहरूका लागि स्वास्थ्य जाँच सुरू गरिएको छ । मोरङको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले एकीकृत जनस्वास्थ्यको नामबाट स्वास्थ्य जाँचको अभियान सुरू गरेको हो ।

बाढीबाट विभिन्न सङ्क्रमण देखिएकाले महामारीको रूपमा रोग फैलन नपाओस भनी भदौ १९ गतेदेखि १७ ओटै स्थानीय तहका विभिन्न क्षेत्रमा एकीकृत जनस्वास्थ्य अभियान सुरु गरिएको हो ।

जनस्वास्थ्य कार्यालयका शाखा अधिकृत हरि खत्रीले बाढीबाट प्रभावित क्षेत्र अन्तर्गत स्थानीय तहको क्षेत्र छनौट गरी अभियान सुरू गरिएको जानकारी दिए ।

कार्यालयले मोरङका विभिन्न क्षेत्रमा रहेका निजी र सरकारी अस्पतालसँगको सहकार्यमा अभियान सुरू गरेको जनाएको छ । अभियानमा सम्बन्धित क्षेत्रको विशेषज्ञ चिकित्सकसहित औषधि लिएर जनस्वास्थ्यको टोली प्रभावित क्षेत्रमा गएको बताइएको छ ।


इन्दिरा भट्टराई