बाढी पीडितका समस्या समाधान गर्न अधिकारकर्मीद्वारा प्रजिअको ध्यानाकर्षण

  ०७४ भदौ १ गते

बाढी पीडितको अवस्था सम्बन्धमा स्थलगत अनुगमन गरी फर्केको अधिकारकर्मीको टोलीले भदौ १ गते प्रमुख जिल्ला अधिकारी समक्ष बाढी पीडितका समस्या तत्काल समाधानका लागि ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, मानव अधिकार सञ्जाल र पत्रकार समेतको टोलीले साउन ३२ गते संयुक्त अनुगमन गरी तयार पारेको संक्षिप्त प्रतिवेदनका आधारमा प्रजिअको ध्यानाकर्षण गराइएको इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले जानकारी दिए ।

अधिकारकर्मीको टोलीले अनुगमन पश्चात राप्ती सोनारी गाँउपालिका-५ लालपुर सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र रहेको जनाएको छ । बाढीले उक्त गाउँका कमिलाल थारूका छोरीहरू १२ वर्षीया फुलकुमारी, आठ वर्षीया अन्तु र ६ वर्षीया सरिता थारू कच्ची घरमा रहेको बेला एक्कासी पानीको भेल आएर माटो र काठको पर्खाल रहेको घर भत्कँदा मृत्यु भएको थियो ।

लालपुर गाउँमा मृत्यु भएका बाढी पीडितले हालसम्म काजक्रिया खर्च नपाएको र बाढी पीडितहरू रातको समयमा नजिकको विद्यालयमा खाने बस्ने गरेको, दिउँसो बाढीले पुरेका घरबाट सामान उत्खनन् गरिरहेको अनुगमनका क्रममा पाइएको अधिकारकर्मीको टोलीले प्रजिअलाई जानकारी गरायो ।

लालपुर गाउँका प्रत्येक घर परिवारलाई एक बोरा (२५ केजी) का दरले चामल, दाल वितरण गरिएको र बढ्दो भिडभाड र फोहोर पानीले रोग सङ्क्रमण हुने खतरा रहेको तथा बाढीले डुबाएका चौपाय कुहिएर गन्ध आइराखेको विषयमा अधिकारकर्मीको टोलीले प्रजिअको ध्यानाकर्षण गराएको छ ।

बाढी पीडितलाई तत्काल चामल, दाल, नुन, तेललगायतका खाद्य सामग्रीको मुख्य आवश्यकता रहेको जनाउँदै अधिकारकर्मीको टोलीले तत्काल पर्याप्त खाद्यान्नको व्यवस्था मिलाउन प्रजिअलाई अनुरोध गरेको छ । यसैगरी सिक्टा सिञ्चाईको बाँधस्थल वर्षातको समयमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सम्बन्धित निकायबाट समीक्षा गरी दीर्घकालीन योजना बनाउनु पर्ने अधिकारकर्मीको टोलीले प्रजिअलाई सुझाव दिएको छ ।


इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्ज