बाढी पहिरो र डुबानमा परी २ सय १७ जनाको ज्यान गयोः गृह मन्त्रालय

  ०८१ असोज १५ गते

अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण असोज १५ गते बिहानसम्म २ सय १७ जनाले ज्यान गुमाएका गृह मन्त्रालयले जनाएको छ । २८ जना हराइरहेकाले खोजी भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन्। अझै ६ जना हराइरहेका छन्।

धादिङ र ललितपुरमा ३९/३९ जनाले ज्यान गुमाएका छन् । काठमाडौँमा १७, सिन्धुपाल्चोकमा १०,  मकवानपुर र दोलखामा ७/७ जनाको मृत्यु भएको छ। योसँगै बागमती प्रदेशका १३ वटा जिल्लामा १९२ जनाको मृत्यु भएको छ। ललितपुरमा ११ जना हराइरहेका छन् । पाँचथरमा ६ जनाको मृत्यु भएको छ।

क्रसं जिल्ला मृत्यु हराएका
काभ्रे ६५
ललितपुर ३९ ११
धादिङ ३९
काठमाडौँ १७
सिन्धुपाल्चोक १०
मकवानपुर
दोलखा
भक्तपुर
पाँचथर
१० सोलुखुम्बु
११ धनकुटा
१२ महोत्तरी
१३ सिन्धुली
१४ रौतहट
१५ सप्तरी
१६ उदयपुर
१७ रामेछाप
१८ इलाम

भक्तपुर र सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २/२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिका-९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ। घाइते भएका १ सय ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार जिल्लाका सबै स्थानीय तहमा गरी ३९ जनाको मृत्यु भएको छ भने मृतकहरुको सङ्ख्या थपिने र थप विवरण आउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिनु भयो ।

बाढीपहिरोमा परी ११ जना हराइरहेका छन् । बाढीपहिरोमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले जिल्लाका विभिन्न भागबाट १ हजार ९० जनाको उद्दार गरेको छ ।

बाढी पहिरोका कारण ग्रामीण बस्तीहरुमा अझै सञ्चार, विद्युत र सडक सम्पर्क विच्छेद भएको छ । पहिरोमा घरगोठ पुरिँदा हजारौकोँ सङ्ख्यामा पशु चौपाया र पंक्षीहरु मरेका छन् ।

जिल्लाको तीन ओटै गाउँपालिकाका सबै वडाहरुमा मोबाइल सेवा अबरुद्ध भएका कारण बाढी पहिरोबाट के कति क्षति भयो भन्ने कुनै पनि जानकारी लिन सकिएको छैन । विद्युत सेवा सञ्चालन नभएका कारण नेपाल टेलिकम र एनसेलको रिपिटर टावर चार्ज हुन नपाएका कारण टेलिफोन सेवा अबरुद्ध भएको पाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सेवाप्रदायकलाई टेलिफोन सेवा सञ्चालनको व्यवस्था मिलाउन गरेको आग्रह अनुसार केही दिनभित्र चौघरेमा जेनेरेटर लगेर विद्युतीय व्यवस्था गर्ने निर्णय गरेको छ ।

गोदावरी प्रहरी प्रभाग, इलाका प्रहरी कार्यालय टुङ्गुनको भवनमा क्षति पुगेको र आश्राङ प्रहरी चौकी जोखिमपूर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी कोन्ज्योसोम गाउँपालिका–३ दलचोकीसिथत ज्ञानज्योती आधारभूत विद्यालयको भौतिक संरचना पहिरोले तानेका कारण पूर्णरुपमा क्षति भएको विद्यालयका प्रधानाध्यापक कुमार भुलुनले जानकारी दिनु भयो । महाङ्काल गाउँपालिका–३, गोटिखेलमा रहेको संस्थागत विद्यालय हिलसाइड माविको भवन तथा जग्गा बगाएर पूर्णरुपमा बगरमा परिणत भएको छ भने अन्य विद्यालय भवनहरुमा पानी पसेर भौतिक क्षति भएको जनाइएको छ ।

महालक्ष्मी नगरपालिका–१ इमाडोलमा रहेको किष्ट शिक्षण अस्पतालको कम्पाउण्ड वाल भत्किएर कर्मनाशा खोला थुनिँदा अस्पतालको भुइँतलामा रहेका बिरामीलाई अन्यत्र सार्नु परेको थियो भने विद्युत सेवा अबरुद्ध भएका कारण बागमती गाउँपालिकामा रहेको थाङसिङटार अस्पतालमा चिकित्सकीय सेवा दिन असमर्थ भएपछि एक जना बिरामीलाई हेलिकप्टरबाट उद्धार गरी पाटन अस्पतालमा ल्याउनु परेको थियो ।

जिल्लाका सबै भागमा खानेपानीको समस्या भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडकाअनुसार ललितपुरको सदरमुकाममा पानी वितरणको श्रोत फर्पिङको पाइपलाईन बगाएको र चापागाउँतर्फको वितरण लाइनको नल्लु मुहानदेखि चापागाउँ पानीट्याङ्कीसम्मको पाइप लाइन क्षति भएका कारण अनिश्चित समयका लागि पानी वितरण कार्यमा अवरोध हुने बताइएको छ । जिल्लाका अरु सबै स्थानीय तहमा खानेपानी मुहान र पाइपलाइनमा क्षति भएका कारण खानेपानी समस्या भएको छ ।

सिन्धुपाल्चोक प्रतिनिधि नातीबावु धितालका अनुसार जिल्लामा निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण १० जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । जुगल गाउँपालिका-१ का ४५ वर्षीय चित्रबहादुर मिजार, सोही गाउँपालिका-४ का पाँच वर्षीय अविरल नेपालीको मृत्यु भएको छ । त्यसैगरी लिसङ्खुपाखर गाउँपालिका-३ का ७३ वर्षीय काजीबहादुर तमाङ, ७० वर्षीया सुन्तली तमाङ, २६ वर्षीय तिर्सना मोक्तान, छ वर्षीय युकेश भन्ने सेमयाङ तमाङ र ९ वर्षीया सेमचाङ तमाङको मृत्यु भएको छ । त्यसैगरी सुनकोशी गाउपालिका ४ चिहाने स्थित सिन्धु विच रिसोर्टमा बास बसेका दोलखा जिल्ला घरभई नेपाली सेनामा कार्यरत ३५ वर्षीय मिलन केसी, र दुई जना कोरियन नागरिक (पुरुष) गरी १० जनाको मृत्यु भयो ।

वर्षाको कारणले पहिरोमा परी जुगल गाउँपालिका-४ की ४५ वर्षीया कान्छी मिजार सोही गाउँपालिका-४ घर भई जुगल-१ मा आफन्तको घरमा आएका २४ वर्षीय अविनाश नेपाली गरी दुई जना हराएका छन् ।

भोटेकोशी गाउँपालिका-३ मा रहेको लार्चा पुल बगाएको छ । जसले गर्दा नेपाल चीन नाका बन्द भएको छ । त्यसैगरी अरनिको राजमार्गमा पर्ने भोटेकोशी गाउँपालिका-२ लिपिङ कोदारी जोड्ने पक्की पुल बगाएको छ भने सोही गाउँपालिका-२ मा रहेको अर्को बेलिब्रिज पुल पनि बगाएको छ ।

अविरल वर्षाको कारणले जिल्लाभर ६५ ओटा घर बगाएको जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनु भयो । जुगल गाउँपालिका-३ तेघामा पाँच घर पहिरोले बगाएको छ । त्याहाँको खबर ढिलागरी प्राप्त भएका कारणले सो क्षेत्रमा असोज १४ गते दिउँसो मात्र हेलिकप्टेरमार्फत राहत सामग्री पठाएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचनामा लेदोसहित पहिरो खस्दा हराएका चारै जनाको शव फेला परेको छ । असोज १२ गते दिउँसो हेडवक्र्समाथिबाट खसेको लेदोसहितको पहिरोले तामाकोशी जलविद्युत केन्द्रको कन्ट्रोल बिल्डिङ पुरिँदा सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्रबहादुर पाल र अर्का सैनिक शङ्कर चन्द तथा नवलपरासी जिल्लाको प्रतापपुर घर भई माथिल्लो तामाकोशीमा फोरम्यानको काम गर्ने ३५ वर्षीय कृष्णप्रसाद चौधरी र बिगु गाउँपालिका–१ स्यालु घर भई कार्यालय सहयोगीको रुपमा कार्यरत ३० वर्षीय जयराम तामाङको शव फेला परेको दोलखा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताउनु भयो । माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा खसेको लेदो सहितको पहिरोले दुई तले कन्ड्रोल बिल्डिङ ध्वस्त भएको र बालुवा थिग्र्याउने पोखरी कल्भर्ट लगायतका संरचनामा ठुलो क्षति पुगेको प्रवर्तक कम्पनी अपर तामाकोशी हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनु भयो । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द भएको छ ।
चरिकोटमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–६ स्थित मैदानेका ४१ वर्षीय राजकुमार भुजेल, भुजेलकी ३७ वर्षीया पत्नी राधिका भुजेल र १५ वर्षीय छोरा सुजन भुजेलको मृत्यु भएको हो । सुरक्षाकर्मी र स्थानीयले मृतक राजकुमार र राधिकाको शव घटनास्थलबाट निकालेको र घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएका सुजनको बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज खड्काले जानकारी दिनु भयो । पहिरोमा पुरिएका तीन वर्षीय बालक युवराज भुजेललाई भने सुरक्षाकर्मी र स्थानीयले सकुशल उद्धार गरेका छन् । भुजेलको अवस्था खतरामुक्त रहेको स्वास्थ्यकर्मीले जनाएका छन् ।


अनलाइन डेस्क