बाढी पहिरोले १ सय ७० को मृत्यु, क्षतिको विवरण सङ्कलन गरिँदै
लगातारको वर्षाका कारण बाढी र पहिरोका कारण १ सय ७० जनाको मृत्यु भएको गृह मन्त्रालयले असोज १३ गते साँझ नै पुष्टी गरिसकेको छ । ४२ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
इन्सेकका जिल्ला प्रतिनिधिहरूले भने मृत्यु र बेपत्ताका सङ्ख्यामा अझै थप हुन सक्ने जिल्ला विपद् व्यवस्थापन समितिहरूले जनाएको बताएका छन् । विद्युत आपूर्ति बन्द हुँदा सञ्चार सम्पर्कमा समस्या भएका कारण एकिन तथ्याङ्क आउन अझै केही समय लाग्ने जनाइएको छ ।
काठमाडौँ जिल्ला प्रतिनिधि पार्वती साउदका अनुसार अविरल वर्षासँगै आएको बाढीले १७ जनाको मृत्यु, १८ जना घाइते र दुई जना बेपत्ता भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवउ तथा प्रवक्ता बिनोद घिमिरेले जानकारी दिनु भयो ।
बाढीका कारण पुगेको क्षतिको विवरण सङ्कलनमा जुटेको स्थानीय तहका अधिकारीहरूले बताएका छन् । तीन दिन विद्यालय बन्द गरेरै क्षतिको विवरण संकलन, उद्दार र राहत कार्यमा जुट्न सरकारले पनि अनुरोध गरिसकेको छ ।
काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ। अविरल वर्षाका कारण जनप्रभात मावि, कुलेश्वर मावि र जनपथ मावि डुबानमा परेको महानगरका शिक्षा विभाग शाखाका ओमप्रसाद गौतमले जानकारी दिनु भयो । अन्य विद्यालयमा क्षति पुगेको हुन सक्ने भएपनि विवरण सङ्कलन हुन बाँकी रहेको गौतमले बताउनु भयो ।
काभ्रेपलाञ्चोक प्रतिनिधि सुमित्रा आचार्यका अनुसार गएको जिल्लाका १३ मध्ये नौ ओटा स्थानीय तहमा एक अमेरिकन नागरिकसहित ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २९ जना महिला र २८ जना पुरुष रहेका छन् भने मृतकहरुको सङ्ख्या थपिने र थप विवरण आउने क्रम जारी रहेको छ ।
मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा १९ जना रहेका छन् । बाढीपहिरोमा परी २४ जना महिलासहित ४९ जना घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बाढीपहिरोमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले जिल्लाका विभिन्न भागबाट २ सय ३७ जनाको उद्दार गरेको छ । हालसम्म ६ जना व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको भनी प्रशासनमा खबर आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाढी पहिरोका कारण ग्रामीण बस्तीहरुमा अझै सञ्चार, विद्युत र सडक सम्पर्क विच्छेद भएको छ । पहिरोमा घरगोठ पुरिदाँ हजारौको सङ्ख्यामा पशु चौपाया र पक्षींहरुको मरेका छन् ।
गाउँपालिकाहरुमा बेथानचोक, भुम्लु, रोशी र तेमालमा ठुलो क्षति भएको देखिन्छ । बेथानचोकको चलाल गणेशस्थान र पनौतीको भुमेडाँडामा खानी क्षेत्र भएकाले यहाँ धेरै जनाले ज्यान गुमाएका हुन् । पनौतीको मल्पी, भुमेडाँडा, बेथानचोकको गणेशस्थान र रोशीमा थुप्रै ट्रिपर, डोजर र अन्य सवारीसाधनहरु पुरिएका छन् ।
प्रहरी चौकीसमेत असुरक्षित भएपछि प्रहरीहरुलाई हतियार जोगाउन हम्मेहम्मे परेको छ । मुख्य तथा सहायक सडकहरू पहिरोका कारण अवरुद्ध छन् । व्यक्तिका निजी सम्पतिका अलवा सरकारी संरचना र थुप्रै विद्यालयका भवनहरु भत्किएका छन् । भत्किएका भवनहरूको एकिन विवरण प्राप्त हुन सकेको छैन ।
मण्डनदेउपुर नगरपालिकामा दुई जनाले ज्यान गुमाएका छन् । अरनिको राजमार्गको बैकल्पिक जिरोकिलो देखि कुन्ता हुँदै नगरकोट भक्तपुर सडक पनि अवरुद्ध भएको छ । पाँचखाल र महाभारतमा मानविय क्षति भएको छैन । चौरीदेउराली गाउँपालिकामा एकै घरमा तीन जना पुरिएका छन् । भुम्लुमा दुई जनाको ज्यान गएको छ । तेमाल गाउँपालिकामा एकै घरका ८ जना सहित १२ जनाले ज्यान गुमाएका छन भने ४ जना घाइते छन् । तेमाल गाउँपालिकामा रहेको बृहत खानेपानी बगाएको छ । नमोबुद्ध गाउँपालिकाको कानपुर र श्यामपाटीमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । नमोबुद्धमा सञ्चालित खानेपानी आयोजनाहरु सबैमा क्षति पुगेको छ । रोशी र नमोबुद्ध हुँदै महाभारत जाने पक्कि पुल बगाएको छ ।
बनेपा, धुलिखेल र पनौती लगायतका सहरमा मात्र नभएर ग्रामीण तहमा खानेपानीको हाहाकार चलेको छ । विपी राजमार्ग क्षतविक्षत छ । रोशी गाउँपालिकाका विभिन्न स्थानमा सडक कटान गरी नार्के बजार आसपासको क्षेत्रसमेत बगाएको छ । अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण सरकारी भवनहरु सङ्कटमा परेका छन् ।
बाढी पहिरोमा परी सयौ पशुपंक्षीहरु पुरिएका छन् । पशु सेवा कार्यालय काभ्रेका निमित्त प्रमुख पशु विकास अधिकृत डा.निशान्त शर्मा गेलालका अनुसार तत्काल घाइते पशुपंक्षीको उद्धार, उपचार र मृत्यु भएका पशुहरुलाई गाड्न पशु सेवा प्राविधिकहरु परिचालन गरिएको छ । तत्काल किसानलाई राहतका लागि सरकारसँग अनुरोध गरिएको उहाँले बताउनु भयो ।
जिल्लामा भएका क्रसर र खानीका कारण मानविय र भौतिक क्षति धेरै भएको प्रारम्भिक अध्ययनले देखाएको छ । खानी र क्रसरले अन्धाधुन्ध प्रयोग गरेका जमिनको संरचना खल्बलिन गई आएको पहिरो र लेदोले खेतियोग्य जमिन डुवानमा परेको छ ।
गाउँमा इन्जिनियरिङ बिना खनिएका सडक र त्यहाँ प्रयोग गरिएका डोजरहरुले जमिनलाई हल्लाएर अविरल बर्षातले गाउँ नै बगाएको जानकारहरुले उल्लेख गरेका छन् । खानी–क्रसर, खोला र बगर मिच्दाको कारण खोलाकिनार बगाएको र ग्रामीण तहमा जहाँतहीँ डोजर लगाएका कारण बर्षातको पानी जमेर वनजङ्गल र भिरबारी बगाएको छ ।
धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार स्थानीय सरकार र जिल्ला विपद व्यवस्थापन समितिले भने सूचना सङ्कलन समेत गर्न सकेको छैन । ११ ओटा गाउँपालिका र दुई ओटा नगरपालिका भएको धादिङको एक नगरपालिका र चार गाउँपालिकामा भने ठूलो क्षति पुगेको छ ।
सवारी साधन प्रयोग गरेर काठमाडौँ जाने क्रममा झ्याप्लेखोलामा पुरिएको बसमा एक बालिका, २५ जना पुरुष र नौ जना महिलाको ज्यान गएको छ । त्यसैगरी पहिरोले पुरिएर तीन जना र खोलाले बगाएर एक जना बालिकाको मृत्यु भएको छ ।
बेनिघाटरोराङ गाउँपलिकामा २५ भन्दा बढी खानेपानी योजनाहरुमा क्षति पुगेको सूचना खानेपानी तथा सरसफाइ डिभिजन नं २ कार्यालय धादिङमा सूचना टिपाएको भएपनि एकिन तथ्याङ्क नआएको सूचना अधिकारी विवश प्याकुरेलले जानकारी दिनु भयो ।
कार्यालयमा अन्य स्थानीय तह र कार्यालय आफैँले सम्पन्न गरेको योजनाहरुको समेत तथ्याङ्क समेत केही नभएको जानकारी दिनु भयो । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय यसबारे बेखबर नै छ ।
जिल्लामा सबैभन्दा बढी क्षति पुगेको खानेपानी योजनाहरु नै रहेको देखिएको छ । गल्छी गाउँपालिकाका
६ घर मानिस बस्न नहुने गरी भत्किएर बासिन्दा विस्थापित भएका छन् । २० ओटा खानेपानी योजनाहरुमा क्षति पुगेकोले नागरिकहरु धमिलो पानीको उपयोग गर्न बाध्य भएका छन् । सडक यातायात पूर्ण रुपले क्षति पुगेकोले मर्मत गर्नुपर्ने अवस्थामा पुगेको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडाले जानकारी दिनु भयो ।
गजुरी गाउँपालिका बजारको घरहरु सामान्य क्षति भएपनि राहत दिनुपर्ने गरि नभएको बताइएपनि गाउँको कुनै तथ्याङ्क गाउँपालिकाबाट उपलब्ध हुन सकेन । १० भन्दा बढी खानेपानी योनाहरुमा क्षति पुगेको छ ।
थाक्रे गाउँपलिकामा पहिरोले एक जना गम्भीर घाइते भएकाले अस्पतालमा उपचार भइरहेको छ । २० भन्दा बढी खानेपानी योजनामा क्षति पुगेको र धेरैजसो ग्रामीण बाटो क्षतिग्रस्त भएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिनु भयो ।
धुनीबेसी नगरपालिकामा १० घरमा क्षति पुगेको छ । १५ ओटा खानेपानी मुहान र ट्याङ्कीहरुमा क्षति पुगेको छ ।
गल्छी गाउँपलिकाले मात्र घर भत्केकाहरुलाई तत्कालिन राहत उपलब्ध गराएको छ भने अन्य स्थानीय तहहरूले भने राहत दिएका छैनन् ।
जिल्ला विपद व्यवस्थापन समितिले समेत कुनै पनि तथ्याङ्क सङ्कलन गर्न सकेको छैन । प्रहरीले प्रतिवेदन बनाउन बाँकी रहेको र जिल्ला प्रशासन कार्यालयमा समेत मृतकको बारेमा जानकारी नआएकोले राहतका बारेमा कुनै निर्णय नभएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनु भयो ।
इन्सेक नवलपरासी (बर्दघाट सुस्तापूर्व) प्रतिनिधि दयाराम आचार्यका अनुसार अविरल वर्षासँगै आएको बाढीका कारण नारायणी नदीसँग जोडिएका नवलपरासी पूर्वका गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका र विनियी त्रिवेणी गाउँपालिकामा नदी तटीय क्षेत्र धेरै प्रभावित भएका छन् ।
विद्यालयमा बाढी पसेपछि परीक्षा सञ्चालनमा समस्या भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बाढी प्रभावित क्षेत्र कावासोतीमा परीक्षा सञ्चालनमा समस्या भएको हो ।
जिल्लाको कावासोती नगरपालिका-१५, मा रहेको दुर्गा भवानी आधारभुत विद्यालयमा अविरल वर्षासँगै आएको बाढी पसेपछि विद्यालय सञ्चालनमा समस्या भएको छ । कावासोती नगरपालिका–१७, मा रहेको नारायणी आधारभुत विद्यालयमा समेत नारायणी नदीको बाढी पसेपछि विद्यालय सञ्चालनमा समस्या भएको छ ।
आइतबारबाट परीक्षा सञ्चालनको कार्यक्रम रहेकोमा केही विद्यालयमा बाढी पसेपछि परीक्षा रोकिएको कावासोती नगरपालिका शिक्षा शाखा स्रोत शिक्षक तीर्थ कँडेलले बताउनु भयो ।
गैंडाकोट नगरपालिका–२,को महेन्द्र स्मारक विद्यालयमा समेत पठनपाठनमा समस्या भएको गैँडाकोट नगरपालिका शिक्षा अधिकृत रामप्रसाद अधिकारीले बताउनु भयो । बाढीका कारण विस्थापितहरुलाई उक्त विद्यालयमा राखिएकाले विस्थापितहरु पूर्ण रुपमा घर फर्किएपछि मात्र पठनपाठन सुरु हुने उहाँको भनाइ छ ।
विनयी त्रिवेणी गाउँपालिका–१, वगुवनमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा बाढी पसेर पठनपाठन हुन सकेको छैन । वगुवनमा रहेको विद्यालयमा बाढी पसेपछि भौतिक रुपमा क्षति ठूलो क्षति नभएपनि बालकक्षाका कार्पेट लगाएतका सामग्रीमा क्षति पुगेको विनयी त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख भुपराज पाण्डेले बताउनु भयो ।
विद्यालयमा हिलो भरिएकाले केहिदिन पठनपाठन गर्न सक्ने अवस्था नभएको उहाँले बताउनु भयो ।
इन्सेक लमजुङ प्रतिनिधि सुमित्रा भुजेलका अनुसार मनाङमा परेको बेमौसमी हिमपातले किसानलाई चपेटामा पारेको छ । पुस–माघ–फागुनमा पर्ने हिमपात यो वर्ष असोजमै परेको हो ।
देशभर वर्षा भइरहँदा मनाङमा भने हिमपात भइरहेको स्थानीयले बताएका छन् । हिमपातका कारण मनाङको माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ ।
नार्पाभूमि गाउँपालिकाको नार र फू गाउँमा भारी हिमपात भएको छ । यस्तै, मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ । तिलिचो र थोराङ्ला क्षेत्रमा भारी हिमपात भएको स्थानीयले बताएका छन् ।
नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले अविरल वर्षासँगै हिमपात भएको बताउनु भयो । असोज ११ गते देखिको हिमपातले नार, फू मेता र च्याखुमा हिउँ परेको उहाँले जानकारी दिनु भयो ।
पर्यटन व्यावसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले तिलिचो र थोराङ्ला क्षेत्रमा बढी मात्रामा हिउँ परेको बताउनु भयो । हिउँले पर्यटक आवागमनलाई खासै असर नगरे पनि थन्क्याउने बेलाको करु र फापर बालीमा क्षति पुगेको उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले नार्पाभूमिका ग्रामीण बस्तीका साथै मनाङ ङिस्याङ गाउँपालिका केन्द्र हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको बताउनु भयो ।
सिन्धुली प्रतिनिधि नविनबाबु अधिकारीका अनुसार अविरल वर्षाका कारण आएको बाढीले कल्भर्ट र सडक नै बगाउँदा विपी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । असोज ११ गते दिउँसो ४ बजे मङ्गलटारमा कल्भर्ट बगाएपछि सवारी आवागमन अवरुद्ध भएको थियो । असोज १२ गते बिहान रोशी खोलामा आएको बाढीले सुनकोसी गाउँपालिका-१ दुम्जामा राजमार्ग नै कटान गरी झारेपछि विपी राजमार्ग पूर्ण रुपमा बन्द भएको हो ।
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट–नेपालथोक, नेपालथोक–भकुण्डे सडक खण्डमा सवारी साधनहरु रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरु के कति छन् भन्ने एकिन तथ्याङ्क भने सङ्कलन भएको छैन । खुर्कोट–नेपालथोक सडक खण्डमा राजमार्गमा खसेको पहिरोका कारण सवारी सञ्चालन अवरुद्ध भएकोमा पन्छाएर सवारी सुचारु गर्ने प्रयास भै रहेको र उक्त सवारी र यात्रुलाई सिन्धुली तर्फ ल्याउने प्रयास भै रहेको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनु भयो ।
नेपालथोकमा बाढीले सडक नै बगाएपछि मङ्गलटार र त्यस आसपासमा फसेका यात्रुको उद्धार भने तत्काल सम्भव नभएको उहाँले बताउनुभयो । ति यात्रुको उद्धारका लागि काभ्रेसँग समन्वय भै रहेको र कालढुङ्गा नार्केमा सडक अवरुद्ध हुँदा यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउन नसकिएको उहाँले बताउनुभयो । त्यस क्षेत्रमा फसेका यात्रुहरुले पानी समेत खान नपाएको भन्दै फोन गर्ने गरेको उहाँले बताउनुभयो । सडक अवरुद्धका कारण प्रहरी त्यस स्थानमा पुग्न अझै केही समय लाग्ने उहाँको भनाइ रहेको छ । यात्रुहरु बसेको स्थान सुरक्षित रहेको भनियतापनि उहाँहरुलाई तत्काल नै उद्धार गर्न सकिने अवस्था नरहेको उहाँले बताउनु भयो ।
यसैबिच २४ घण्टादेखि बाढीमा फसेका कुशेश्वर गुरुकुलका २८ जना विद्यार्थी र गुरुसहित ३२ जनाको हेलिकप्टरमार्फत असोज १२ गते साँझ उद्धार भएको छ । उनीहरुलाई गजुलीदहमा सुरक्षित रुपमा राखएिको गुरु नारायण अधिकारीले जानकारी दिनु भयो । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका-१ आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुललाई सुनकोशी र रोशीखोलाले घेरेको थियो । बाढीका कारण फसेका व्यक्तिहरुलाई नेपाली सेनाको हेलीकोप्टर मार्फत उद्धार गरिएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…