बाढीले विद्यालय बगाएपछि बालबालिका बगरमा अध्ययन गर्न बाध्य

लहँ गाविस-४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयको भवन बाढीले बगाएपछि उक्त विद्यालयमा अध्ययरत विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य भएका छन् ।

गत असार १६ गते आएको अविरल वर्षातका कारण बाढीपहिरो जाँदा विद्यालय भवन बगेपछि अध्ययनका लागि कक्षा कोठाको समस्या भएको हो । बाढीले विद्यालयका दुई ओटा भवन, शौचालय र खानेपानी ट्याङ्कीसमेत बगाएको सो विद्यालयका प्रद्यानाध्यापक बलबहादुर रावलले जानकारी दिए ।

बाढीले विद्यालय भवन बगाएपछि विद्यालय क्षेत्र बगरमा परिणत भएको छ । भवन बाढीले बगाएपछि विद्यार्थीलाई बगरमा राखेर पठनपाठन गराउन बाध्य भएको प्रअ रावलले दुखेसो पोखे ।

प्रअ रावलले भने-'पानी पर्दा र टण्टलापुर घाममा पठनपाठन बन्द गर्ने गरेका छौं ।' भवन बगाए जस्तै बाढीले विद्यार्थीलाई नै बगाउँछ की भन्ने त्रासले सताउने गरेको प्रअ रावलको भनाइ छ ।  विद्यार्थीलाई पठनपाठनका लागि अन्यत्र लैजाने सुरक्षित ठाउँ नभएको र बगरमा टहरा बनाउन पनि नसकिएकोले बगरमै पढाउन थालेको उनको भनाइ छ । उक्त विद्यालयमा ७४ जना बालबालिका अध्ययनरत छन् ।

विद्यालयमा बस्ने ठाउँ नहुँदा छोराछोरीलाई विद्यालय पठाउन छाडेको अभिभावक नरेश रावलले बताए । भवन नहुँदा विद्यार्थी पठनपाठनबाट वञ्चित भएको उनको भनाइ छ । विद्यार्थी बगरको चिसो बालुवामा बसेर पढ्न थालेपछि साना कक्षाका विद्यार्थीलाई रुघाखोकी, ज्वरो आउने समस्या देखिएको प्रअ रावलले बताए ।

सो विद्यालयमा अध्ययनरत कक्षा ४ की छात्रा विनिता रावलले विद्यालय बाढीले बगाएपछि नियमित कक्षा सञ्चालन नभएको बताइन् । 'हाम्रो पढाई अब कहाँ हुने हो ? विद्यालयको राम्रो व्यवस्था नहुँदासम्म बालुवामा बसेर पढ्नु पर्ने हो कि ! अन्य व्यवस्था हुन्छ थाहा छैन ।'-उनले भनिन् ।

जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले विद्यालयको भवन निर्माणका लागि विभाग र मन्त्रालयमा पत्राचार गरिएको बताए । विद्यालय तत्काल बनाउन नसकिएपनि पठनपाठनको लागि विकल्प खोज्नुपर्ने जिशिअ सिंहले सुझाव दिए ।


दिनेशकुमार श्रेष्ठ