बाढीले पुल बगाएपछि स्वास्थ्यचौकी जान ट्युबको प्रयोग !

  ०८१ असोज २२ गते

असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपे माझी बस्तीका स्थानीयलाई उपचार गराउन समेत ट्युबमा राखेर नदी तर्नुपर्ने भएको छ । सो बस्तीमा ५० घरधुरी माझी बस्दै आएका छन् ।

बाढीले बेघारीको झोलुङ्गे पुल तथा खेरेनी घाटको पक्की पुलका साथै कोथपे क्षेत्रको सडक समेत बगाएपछि स्थानीय ट्युबको सहायताले जोखिमपूर्ण रूपमा सुनकोशी नदी तर्ने गरेका छन् । बिरामीलाई उपचार गर्न लैजान समेत ट्युब नै प्रयोग गर्नुपरेको स्थानीय मानव माझीले बताउनुभयो ।

photo20241008ramechhap (1)

माझीका अनुसार अन्य कुनै विकल्प नहुँदा गर्भवतीलाई समेत ट्युबमा तारेर सुत्केरी गराउन लैजानु पर्ने बाध्यता रहेको छ । टोलकी एक महिलालाई सुत्केरी व्यथा लागेपछि ट्युबबाट तारेर सोही गाउँपालिकाको रातमाटे स्वास्थ्यचौकीमा पुर्‍याइएको उहाँले बताउनु भयो । ‘अरू कुनै उपाय थिएन । जोखिम मोलेर ट्युबमा नै राखेर लगियो ।’- उहाँले भन्नु भयो ।

सुनकोशी नदीले बगाएको बेलारीको झोलुङ्गे पुललाई अस्थायी रूपमा सञ्चालन गर्न मर्मत सुरु गरिएको र बिग्रिएको सडक पनि मर्मत भइरहेको खाँडादेवी–१ का वडाध्यक्ष रामकुमार श्रेष्ठले बताउनु भयो । सबैतिर क्षति पुगेकोले अहिलेको अवस्था जटिल रहेको श्रेष्ठको भनाइ छ ।

photo20241008ramechhap (2)


नवराज घिमिरे