बाढीले पुल बगाउँदा आवतजावतमा समस्या, जोखिम मोलेर विद्यालय जान बाध्य

  ०८० साउन २३ गते

टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउते खोलाको पुल ०८० असार ८ गतेको बाढीले बगाउँदा यस क्षेत्रका बालबालिकाहरू ज्यान जोखिममा राखेर खोला तर्न बाध्य भएका छन् ।

बाढीले झोलुङ्गे पुल बगाउदा यस क्षत्रको बालबालिकालाई विद्यालय जानआउन समस्या भएको छ ।

Photo 20230708 Bhojhapur (5)

वर्षातको कारण राउते, हिले, रूपाथुमकी र खानी गाउँका करिव ४५ जना बालबालिकाहरु खोला तर्न नसक्दा पढाईबाट वञ्चित हुनु परेको छ ।

खोलामा पुल नभएका कारण गएको महिनादेखि विद्यालय जान समस्या भएको सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा–७ मा अध्ययनरत छात्र पुष्प कटुवालले बताउनु भयो । ‘वर्षातमा खोला आउँछ, तर्न सक्दैनौ । खोलाले बाटो पनि सबै बगाएको छ । एक महिना भन्दा धेरै भयो विद्यालय जान समस्या छ,’ कटुवालले भन्नुभयो ।,

‘छोटो दूरीमा रहेको बाटोको पुल खोलाले बगाउँदा घण्टौँ हिडेर वैकल्पिक बाटो जानुपर्ने बाध्यता छ । बाटोको समस्याको कारण कुनै समय आधा पढाइ सकिएपछि विद्यालय पुगिन्छ । पहिरोको कारण वैकल्पिक बाटोमा पनि जोखिम नै छ ।’ पुष्प कटुवालले बताउनु भयो ।

ज्यानलाई जोमिखमा राखेर खोला तर्नु पर्ने अवस्था रहेको कक्षा ११ मा अध्ययनरत छात्र दीपक विष्टले बताउनु भयो । खोला तर्दा किताब,कपीसँगै कपडा भिज्ने गरेको  विष्टको भनाइ छ । कहिलेकाँही बाटोमा हिड्ने मानिसहरूको सहायताले खोला पार गर्ने गरेको विष्टको भनाइ छ ।

‘उर्लिएर आएको खोला तर्न ज्यानको बाजी लगाउनु परेको छ’ उहाँले भन्नुभयो,‘ किताव, कपीसँगै कपडा भिज्दा पठनपाठन गर्न समस्या हुन्छ  । दिनभर चिसो कपडामा बस्दा बिरामी परेको अवस्था पनि छ । कहिले किताब, कपि त कहिले जुत्ता चप्पल खोलामा बग्छन् । हामी गाउँबाट ४०-५० जना साथीहरू यसरी नै विद्यालय जानेआउने गरेका छौँ ।’

ससाना बालबालिका खोलाको कारण विद्यालय नै पुग्न नसक्ने अवस्था छ । कतिपय बालबालिका महिनौँ अघिबाट विद्यालय जान छाडेका छन् । पानी परेको दिनमा गाउँबाट धेरै विद्यार्थी विद्यालय नजाने गरेका छन् । पुल निर्माण तथा बाटो मर्मतको लागि सरोकारवाला निकायले  ध्यान दिन आवश्यक रहेको विद्यार्थीहरूको भनाइ छ ।

अर्को पुलबाट विद्यालयसम्म पुग्न दुई घण्टा बढी घुम्नु पर्ने अवस्था रहेको सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र दुर्गाबहादुर विश्वकर्माले बताउनु भयो । बाढीले पुलको बगाएका कारण ससाना बालबालिका विद्यालय जान नसक्दा पढ्न पाउने अधिकारबाट वञ्चित भएको विद्यार्थी विश्वकर्माको भनाइ छ ।

बाढीले पुलसँगै सडक बगाउँदा बालबालिका विद्यालय जानबाट वञ्चित भएको टेम्केमैयुङ गाउँपालिका–९ का टङ्क विश्वकर्मा बताउनु हुन्छ ।

बालबालिकालाई बाध्य भएर जोखिममा पनि विद्यालय पठाउनु पर्ने अवस्था रहेको टङ्क विश्वकर्माले बताउनु भयो । घरको काम पनि धान्नु पर्ने भएकोले सधै अभिभावकले विद्यालयसम्म पुर्याउन सक्ने अवस्था नरहेको विश्वकर्माको भनाइ छ ।

१२ कक्षासम्म पढाइ हुने सिंहदेवी माध्यमिक विद्यालयमा टाँडाटबाट विद्यार्थीहरू पढ्न आउने गरेको भएपनि पुल नभएका कारण विद्यार्थीहरूलाई धेरै समस्या भएको विद्यालयका प्रधानाध्यपक राजधन राईले बताउनु भयो ।  खोलामा ज्यान जोखिममा राखेर विद्यार्थीहरू विद्यालय आउनुपर्ने बाध्यात्मक अवस्था रहेको प्रधानाध्यापक राइको भनाइ छ ।

विशेष गरेर हिले, रूपाथुमकी, खानी र राउते क्षेत्रका बालबालिका पढाई नै छाडेर घर बस्न बाध्य भएका छन् । पुल बगाएपछि खोला तर्न नसेकर विद्यार्थी विद्यालय नआउने गरेको प्रधानाध्यापक राईको भनाइ छ ।

‘बालबालिका पढ्न पाउने नैसर्गिक अधिकारबाट वञ्चित भएका छन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारले बालबालिकाको उज्वल भविष्यका लागि भएपनि राते खोलामा चाँडो पुल बनाउन आवश्यक छ ।’ प्रधानाध्यापक राईले भन्नु भयो ।

बाढीले पुल बगाउँदा बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुने अवस्था रहेकोले पुल निर्माणमा पहल गरिरहेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले राईले बताउनु भयो ।

बाढीले झोलुङ्गे पुल, सडकसँगै १६ ओटा सिञ्चाइ कुलो बगाएको उहाँको भनाइ छ । यो खोलामा निर्माण भइरहेको पक्की पुलमासमेत क्षति पुर्‍याएको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।

‘झोलुङ्गे पुलसँगै यो खोला भएर बनेका सवै सडक बगाएको अवस्था छ’ वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, ‘सडक अवरोध हुँदा बालबालिका विद्यालय जान सकेका छैनन् ।

सुत्केरी महिला, ज्येष्ठ नागरिक, असक्तलाई उपचारका लागि अस्पताल लैजान समेत समस्या भएको छ । खाद्यान्न आपूर्तिमा समस्या हुँदा स्थानीयको दैनिकी समेत निकै कष्टकर बनेको छ ।

Photo 20230708 Bhojhapur (1)

Photo 20230708 Bhojhapur (2)

Photo 20230708 Bhojhapur (3)

Photo 20230708 Bhojhapur (4)


गणेश विष्ट