बाढी र पहिरोले अवरूद्ध बनेको खानेपानी आपूर्ति नहुँदा उपभोक्ता मर्कामा

  ०८१ कात्तिक २ गते

असोज १० देखि १२ गते सम्मको वर्षापछि आएको बाढी र पहिरोले खानेपानीको पाइप लाइन र मुहान बगाउँदा अबरुद्ध भएको खानेपानी आपूर्ति सुचारू नहुँदा उपभोक्ता मर्कामा परेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)बाट वितरण भइरहेको चक्रपथ बाहिरको भागका साथै जिल्लाका सबै स्थानीय तहमा खानेपानीको समस्या रहेको स्थानीयवासीले बताए ।

केयुकेएलबाट वितरण हुने गोदावरी नगरपालिका–१० र ११ चापागाउँका साथै वडा नं. १२ ठेचो र १३ झरुवाराशीवासीलाई खानेपानीको समस्या भएको छ । त्यसका साथै ललितपुर महानगरपालिका–२३ र २४ धापाखेल, वडा नं २६ र २७ सुनाकोठीका धारामा पनि पानी नआएको उपभोक्ताहरूले बताएका छन् ।

बाढी र पहिरोले कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा रहेको मुहानको इन्टेकसहित पाइप लाइनका साथै गोदावरी नगरपालिका–६ टिकाभैरब खोलाको बासुकी र देवकी मुहानका पाइप लाइन बगाएपछि खानेपानीको समस्या भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ललितपुरका उपप्रवन्धक इला भट्टले बताउनु भयो ।

ललितपुरमा काठमाडौँको फर्पिङबाट पनि पानी ल्याएर भैँसेपाटीमा २७ लाख लिटर क्षमताका दुई ओटा रिर्जभ ट्याङ्कीमा फिल्टर गरी जम्मा गरेर वितरण गरिँदै आएको पानीको मुहानमा पनि बाढीले क्षति पुर्याएपछि चक्रपथ बाहिरको भागमा दैनिक पानी वितरण प्रणालीमा असर गरेको केयुकेएलका इन्जिनियर विवेक नेपालले बताउनु भयो ।

चापागाउँको चारघरे र टाहाखेल रिजर्भ वायर (रिजर्भ ट्याङ्कीमा) पानी जम्मा गरी फिल्ट्रेशन गरेर वितरण हुने गरेकोमा टिकाभैरब क्षेत्रमा आएको बाढी पहिरोले करिब २ किलोमिटर दुरीमा बिच्छ्याइएको फलाम र प्लाष्टिकको पााइप बगाएका कारण दैनिक ३ करोड लिटर पानी वितरण हुन नसकेको प्राविधिक तथ्याङ्क छ ।

बाढीपहिरोले पाइप बगाएपछि त्यसको पुनर्निर्माण नै गर्नु पर्ने भएकोले नियमानुसारका प्रक्रिया पूरा गरी कार्य सञ्चालन गर्न ढिला हुने भएपछि अस्थायीरुपमा भएपनि पाइपलाइन सञ्चालन गर्न लागिएको इन्जिनियर नेपालले जानकारी दिनु भयो ।

खानेपानीमन्त्री प्रदीप यादवले असोज २९ गते केयुकेएलका प्राविधिक टोलीसहित, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसहित अविरल वर्षासँगैको बाढीले क्षति पुर्याएका ठाउँमा अनुगमन तथा निरीक्षण गरी पुनःस्थापना गरी खानेपानी आपूर्ति सञ्चालन गर्न निर्देशन दिनु भयो ।

मन्त्री यादवले असोज ३० गते नै सूचना प्रकाशित गरी पाइप खरिद, इन्टेक निर्माण लगायतका कार्य अघि बढाइ नियमित रुटबाट पानी वितरण गर्न निर्देशन दिएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) प्राविधिक टोली कार्यस्थलमा अनुगमन, निरीक्षण, प्राविधिक लागत मूल्याङ्कन लगायतका काममा सक्रिय भइसकेको ललितपुरका उप प्रवन्धक इला भट्टले बताउनु भयो ।

अहिले ललितपुरको चापागाउँस्थित मूलडोल पम्प हाउसबाट उपलब्ध पानी सङ्कलन गरी गोदावरी नगरपालिका–१० चापागाउँका केही भागहरूमा वितरण भइरहेको केयुकेएलले जानकारी दिएको छ ।

जिल्लाका गोदावरी नगरपालिकाको देवीचौर, कोन्ज्योसोम र महाङ्काल गाउँपालिका क्षेत्रका पानीका मुहान र पाइप लाइनमा क्षति भएका कारण खानेपानी उपलब्ध नभएको स्थानीयवासीले बताए ।

गोदावरी नगरपालिका–३ र १४ का उपभोक्ताले प्रयोग गर्दै आएको पानीको मुहान र पाइप लाइनमा समेत क्षति भएकोमा आंशिकरुपमा समाधान प्रयास भइरहेको गोदावरी नगरपलिकाकी उपप्रमुख मुना अधिकारीले बताउनु भयो ।

महालक्ष्मी नगरपालिकाको चापाखर्क मुहानबाट ल्याइएको खानेपनीको पाइप लाइन पनि लामाटारको ढुङ्गिनमा पहिरोका कारण क्षति भएपछि आंशिकरुपमा मर्मत भइरहेको महालक्ष्मी–९ का वडाअध्यक्ष जयकृष्ण बागटीले जानकारी दिनुभयो ।


दीपकप्रसाद घिमिरे