बाढीपीडितहरु राहत पाउनबाट वञ्चित

  ०७८ कात्तिक १७ गते

राहतको पार्खाइमा बसेका दिपायल सिलगढी नगरपालिका– ५ कोइरेली, के. आइ. सिंह गाउँपालिका–१ लोली र सायल गाउँपालिका– ५ डौडका बाढीपीडितहरूले दुई साता बितिसक्दा पनि राहत पाउन सकेका छैनन् ।

असोज ३१ गते बाट सुरु भएको बेमौसमि अविरल वर्षाका कारण आएको पहिरोले धनजनको क्षति व्यहोर्नु परेका बाढीपहिरो पीडितहरुले दुई हप्ता बितिसक्दा समेत राहत पाउन नसक्दा तिहार पर्व समेत  बनाउन समस्या भएको दुखेसो पोखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेमबहादुर आले, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी लगायतको टोलिले  बाढीपहिरो क्षतिग्रस्त क्षेत्रको  अनुगमन गरेको भएपनि आफूहरुको पुनर्स्थापना तथा राहत समेत पाउन नसकेको पीडितहरुको आरोप छ ।

दिपायल सिलगढी नगरपालिका–५ कोइरेलीका ५० घर बाढीपहिरो पीडित परिवारहरु प्रधानमन्त्री तथा मन्त्रीहरुको टोली अनुगमनका लागि आएको भन्ने खबर सुनेपछि राहत तथा पुनर्स्थापनाको आशा लिएर उहाँहरुलाई भेटन गएको भएपनि तत्काल कुनै प्रकारको राहत पाउन नसकेको बाढीपहिरो पीडित बिजय बोहराले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘राहत तथा पुनर्स्थापनाको आशा लिएर प्रधानमन्त्री र मन्त्रीहरुलाई भेटन बिमानस्थल पुगे । तर, उहाँहरुले भाषण गर्नु भयो । हामीले सुनेउँ । राहतको आशामा गएका सबै जना खाली हात फर्कियौँ । अहिलेसम्म पनि उहाँहरुको राहत पुगेको छैन् ।’

०६४ सालको बिपत व्यवस्थापन समिति, डोटीले कोइरेली गाउँमा पहिरोको उच्च जोखिम रहेकोले गाउँ नै स्थानतरण गर्नु पर्ने निर्णय गरेको भएपनि त्यसको कार्यान्वय नभएका कारण अहिले आफूहरुले धनजनको क्षति व्यहोर्नु परेको स्थानीयहरुको आरोप छ ।

केआइ सिंह गाउँपालिका–१ गणेशकाडाका बाढीपहिरो पीडित हिक्मत मगरले अविरल वर्षाका कारण आएको पहिरोले घर नै बगाएपछि दुई हप्तासम्म रोयर छिमेकीको घरमा दिन काट्दै आएको दुखेसो पोख्नु भयो ।

दुई हप्तादेखि छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका बाढीपहिरो पीडित मगर राहतको पर्खाइमा बस्दै आएका भएपनि दुई हप्ता बितिसक्दा समेत राहत नपाएपछि देशमा आफूहरुका लागि सरकार नै नभएको बताउनु हुन्छ ।

सायल गाउँपालिका–५ डौडका बाढीपहिरो पीडितहरुको बेदना पनि यस्तै छ । जिल्लाको सबै भन्दा बढी मानवीय र भौतिक क्षति व्यहोर्नु परेको यस गाउँपालिकामा सात जनाले ज्यान समेत गुमाएका छन् । यस गाउँपालिकाका पीडितहरुले पनि राहत पाउन नसकेको बताउँदै आएका छन् ।

बाढीपीडित क्षेत्रको अनुगमन गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको टोली घटनास्थल पुगेपनी आफूहरुले राहात पाउन नसकेको बाढीपहिरो पीडित स्थानीय हिरा नेपालीले दुखेसो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘दशै पनि समस्या मै बित्यो । नजिकै तिहार आउँदै छ । खान र बस्न समस्या छ । बेसाहरा अवस्थामा रहेका छौँ ।’

के.आइ.सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहिले अहिले पनि बाढीपहिरो क्षेत्रको अनुगमनमा रहेकोले तत्काल राहत वितरण गर्न नसकिएको भएपनि राहतका विषयमा छलफल अगाडी बढेको बताउनु भयो ।

सायल गाउँपालिकाका प्रमुख तेजबहादुर डुम्रेलले एकद्वार प्रणालीबाट राहात वितरण भइरहेको हुँदा आजसम्म वास्तविक बाढीपीडितहरुको सूचना सङ्कलन तथा छनौट कार्य भइरहेको र जतिसक्दो चाँडो पीडितहरुलाई राहत वितरण गर्ने बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता पूर्णा जोशीले एक द्वार प्रणालीबाट राहात वितरण भइरहेकोले बाढीपीडितहरुले तत्काल राहत पाउन नसक्दा समस्या भएको बताउनु भयो ।

बाढीपहिरोबाट पीडित भएकाहरुलाई तत्काल राहत तथा उद्धार गर्न सम्बन्धीत निकायहरुलाई निर्देशन दिइसकिएकोले पीडित परिवारले छिट्टै राहत पाउने मन्त्री जोशीले बताउनु भयो ।


गणेश जोशी