बाढीपहिरो पीडितको जङ्गलमा बास, राज्यबाट राहात नपाएको पीडितहरुको गुनासो

  ०७८ साउन ५ गते

बाढीपहिरोको कारण विस्थापित भएर जङ्गलमा पालमुनी बस्नु पर्ने बाध्यता भएको भएपनि राज्यबाट कुनै राहात नपाएको हिमाली गाउँपालिका–४ क्यूडी र वडा नम्बर ५ फैतिका बाढीपहिरो पीडितहरुले गुनासो गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा भर्खर निर्माण हुँदै गरेको रुगिन–बिच्छिया पहुँच मार्ग निर्माण गर्दै जाँदा गाउँमा पहिरो गएर आफूहरु विस्थापित हुनु परेको स्थानीय बिरबहादुर बुढाले दुखेसो पोख्नु भयो ।

असार ७ गते गाउँमा गएको पहिरोका कारण फैती र क्यूडीका झण्डै १ सय ३७ परिवार गाउँबाट विस्थापित भएर गाउँ भन्दा एक घण्टा टाढा रहेको जोरगाउँ जङ्गलमा पालको आश्रय लिएर बस्दै आएको वडा सदस्य समेत रहनु भएका बुढाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘कोही भैंसीको खर्कमा बसेका छन् । पाल हुनेहरू पाल हालेर बसेका छन् । नहुँनेहरू ओडारमा र स्याउलाको ओत बनाएर बसेका छन् । हामी जङ्गलमा छौँ । चिसो भुइमा सुत्नु परेकाले धेरै जना बिरामी हुन थालेका छन् ।  विस्थापित भएर जङ्गलमा बसेको एक महिना बितिसक्दा समेत कसैले पालसम्म दिएका छैनन् । हुनेहरुले पुराना पाल प्रयोगमा ल्याएका छौँ । गाउँपालिकालाई खबर गर्दा आश्वासन मात्रै दिने गरेको छ । एक महिना बतिसक्दा पनि गाउँपालिकाले कुनै राहत दिन सकेको छैन् ।’

गाउँबाट विस्थापित भएर जङ्गल भित्र बनाइएको चिसोपाल मुनी बस्दा गर्भवती, सुत्केरी,बालबालिका तथा ज्येष्ठ नागरिक बिरामी हुन थालेका स्थानीय मनसरी बुढाले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘पहिरो गएको एक हप्तापछि गाउँपालिकाले प्रतिपरिवार एक कट्टा चामल राहत स्वरुप दिएको थियो । त्यसपछि कुनै सुनुवाइ भएको छैन् । चिसोपाल मुनीको बसाई छ । खानलाई पानी समेत नपाएको अवस्था छ ।’

असार ७ गते आएको अविरल वर्षाका कारण जिल्लाको दुर्गम हिमाली गाउँपालिकाको वडा नम्बर ४ फैती गाउँका ४० र वडा नम्बर ५ क्यूडीका ९७ परिवारका ३ सय ५० महिला र बालबालिका सहित ६ सय जना बिचल्लीमा परेका हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘सडक बनाउँदा प्राविधिक रूपमा ध्यान नपुगेकै कारण गाउँलेको बिचल्ली भएको छ । अघिल्लो वर्ष पनि यो गाउँमा बाढीले क्षति गरेको थियो । प्रदेश सरकारले गाउँपालिकासँग समन्वय नै नगरी सडक निर्माण गरेका कारण विपद् आइलागेको हो ।’

वातावरणीय मुल्याङ्कन बिनै गाउँको मून्नतिरबाट निर्माण गरिएको सडकका कारण घरहरू भासिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँको तलतिर रहेको कमजोर भूभागमा स्टाइभेरट प्रयोग गर्दा जमिनमा कम्पन आयो । जसका कारण वर्षाले कम्जोर भूभाग बगायो । सडक छेउका गाउँबस्ती बढीको जोखिममा परे ।’

पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दा सडक निर्माणको लागि गाउँको तल्लो भागमा डोजर प्रयोग गरी खनिएकोले गाउँ नै भासिएको इलाका प्रहरी कार्यलय, कोल्टिका इन्स्पेक्टर देबेन्द्र जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘स्थालगत अनुगमन गर्दा गाउँ नै चिराचिरा परेर भासिएको पाइयो । कुनै घर भत्किसकेका छन् । जमिन भासिएर कमजोर भएपछि गाउँको बीच भाग भएर बग्ने खहरे खोला गाउँमै पसेको छ ।’

पहिरोले विस्थापित ठाउ विकट भएकाले तत्काल नै राहतको व्यवस्थापन गर्न समस्या भएको भएपनि पीडितहरूका लागि राहत पु¥याउन प्रयास भइरहेको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनु भयो ।

प्रत्येक वर्ष भोकमरीको चपेटामा रहदै आएको हिमाली गाउँपालिका–४ क्यूडी र वडा नम्बर ५ फैतिका स्थानयहरु हल पहिरोका कारण विस्थापित हुनु भएकोले उहाँहरुको दिर्घकालिन व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई आग्रह गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत्त भण्डारीले बताउनु भयो ।

photo20210720bajura (3)

photo20210720bajura (2)

photo20210720bajura (1)

 


पदमबहादुर सिंह