बाढीपहिरोले सङ्खुवासभामा तीन ओटा घर बगायो, १ सय २५ भन्दा बढी घर विस्थापित

  ०८१ जेठ ३१ गते

कोशी प्रदेशमा मनसुन सक्रिय भएसँगै सङ्खुवासभा र ताप्लेजुङमा अविरल वर्षापछि आएको बाढीपहिरोका कारण प्राकृतिक विपत्ति निम्तिएको छ । बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको छ ।

सङ्खुवासभामा पहिरोले तीन ओटा घर बगाएको छ । १ सय २५ भन्दा बढी घर विस्थापित भएका छन् । ताप्लेजुङमा बाढीले पुल बगाउँदा विद्यार्थी प्रभावित भएका छन् ।

photo 20240613 sangkhuawasabha

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार भारी वर्षापछि ०८१ जेठ ३० गते राति आएको बाढीपहिरोका कारण खाँदबारी नगरपालिकाका तीन ओटा घर बगाएको छ । बाढीपहिरोका कारण १ सय २५ भन्दा बढी घर विस्थापित भएका छन् । पहिरोले खाँदबारी नगरपालिका-११ आङ्ला गाउँमा तीन घर बगाएको प्रहरीले जनाएको छ ।

खाँदवारी नगरपालिका-११ कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो । पहिरोमा परेर मणिप्रसाद राई घाइते हुनु भएको छ ।

खाँदबारी नगरपालिका-५ र ६ मा बाढीले कम्तीमा १ सय १० परिवार विस्थापित भएका छन् । खेतबारीमा ठूल्ठूला ढुंगा थुप्रिएर बगरमा परिणत भएका छन् । डुङ्डुगे आकाशे सिंचाई र हिंगुवा कुलो सिंचाईमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् ।

धुपू बाह्रबीसे जोड्ने माल्टाखोला माथिको पक्की पुल जोखिममा परेको छ । खाँदबारी–४ सेकाहामा चार ओटा घर पहिरोबाट विस्थापित भएका छन् । पहिरोबाट विस्थापित भएकाहरु छिमेकीको घरमा आश्रय लिएर बस्नु परेको छ ।

बाढीपहिरो प्रभावितहरुलाई तत्काल राहत र उद्दारको तयारी गरिएकोे जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार बाढीले फक्तालुङ गाउँपालिकाको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएपछि विद्यार्थी प्रभावित हुनु परेको छ ।

सिसावा खोलाको पुल जेठ ३० गतेको वर्षापछि आएको बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकामा विद्यार्थीसहित स्थानीय प्रभावित भएको फक्तालुङ गाउँपालिका-५ का वडाध्यक्ष मिलन लिम्बूले बताउनु भयो ।

बाढीले पुल बगाएपछि त्यसको मारमा विद्यार्थी परेका छन् । अर्को ठाउँबाट खोला तर्न आधाघन्टा माथि झोलुंगे पुलमा पुग्नुपर्ने बाध्यतामा विद्यार्थीहरु परेका छन् ।

जिल्लामा प्राकृतिक विपद्मा तत्काल उद्दार र राहतका लागि तयारी अवस्थामा सबै किसिमका संयन्त्र रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनु भएको छ ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर