बाढीपहिरोले पाँच जनाको मृत्यु, ४१ ओटा वडा पहिरोको उच्च जोखिममा

  ०८१ असार १ गते

मनसुन सक्रिय भएसँगै जिल्लामा प्राकृतिक विपद्का घटना बढेका छन् । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण जिल्लामा पाँच जनाको मृत्यु भएको छ । ४१ ओटा वडा पहिरोको उच्च जोखिममा परेका छन् ।

कोशी प्रदेशमा १० जुन अर्थात् ०८१ जेठ २८ गतेदेखि मनसुन सक्रिय हुँदा त्यसको प्रभाव जिल्लामा देखिएको छ । जेठ ३० गतेदेखि जेठ ३२ गतेसम्ममा जिल्लामा बाढीपहिरोमा परी पाँच जनाले ज्यान गुमाएका छन् ।

पहिरोले पुरिएर जेठ ३० गते सिरिजङ्घा गाउँपालिका ७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक मजदूरको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१४ लुङपा स्थायी घर भइ कावेलीमा कार्यरत २५ वर्षीय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोका कारण जेठ ३२ गते फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

फक्ताङलुङ  गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) का ७० वर्षीय बाबु रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गङ्गा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रवि रावलले बताउनु भयो ।

फक्ताङलुङ  गाउँपालिका २ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईले पहिरोले बगाएर लिम्बूले सञ्चालन गरेको बाख्रा फर्म बगाउँदा दर्जनौ बाख्रा मरेका छन् । खेजेनिमकै गढीडाँडा टोलका योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष चौलागाईले बताउनु भयो ।

वर्षाका कारण फक्ताङलुङ गाउँपालिकामा अवस्थित तमोर नदीसहितका खोलामा लगाइएको पाँच ओटा अस्थायी काठेपुल बगाएको छ । बाढीले पुल बगाएपछि यातायात ठप्प भएको छ । वर्षाका कारण तमोर नदीको छिरुवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा ठप्प भएको हो ।

तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका-१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका-३ लिङ्खिमको सिमाना भइ बग्ने सिस्ने खोलामा रहेको दुई ओटा काठेपुल बाढीले बगाएको छ ।

जिल्लाको सिरिजिङघा गाउँपालिका ४ खेसेवा टोलका सुरेन्द्र गुरुङ (लामिछाने )को घरमा माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति भएको तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनु भयो ।

जिल्ला प्रसाशन कार्यालयले मिक्वाखोला गाउँपालिका-३ लिवाङमा रहेको माईक्रो हाइड्रोमा क्षति भएको जानकारी दिएको छ । जिल्लामा ०८१ जेठ ३० गते ३६ दशमलव ९ मिलिमिटर, जेठ ३१ गते १६ दशमलव ८ मिलिमिटर र जेठ ३२ गते २३ दशमलव ३  मिलिमिटर वर्षा भएको जल तथा मौसमविज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ ।

जिल्लाका ४१ ओटा वडा पहिरोको उच्च जोखिममा

जिल्लाभित्रका ६१ ओटा वडामध्ये ४१ ओटा वडाहरू पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितीले जनाएको छ  । समितिले बुलेटिन निकालेर नै उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिम वडाहरुको संख्या प्रकाशन गरेको छ । जस अनुसार जिल्लाका नौ स्थानीय तहका ६१ ओटा वडामध्ये ४१ ओटा वडा पहिरोको उच्च जोखिममा र १८ ओटा वडा जोखिममा रहेका छन् ।

फुङलिङ नगरपालिकाको-१, ६, ९, ८, १० र ११ उच्च जोखिममा रहेका छन् सिरिजङ्घा गाउँपालिकाको-१, ५, ६, ७ र ८, सिदिङ्वा गाउँपालिकाको-१, २, ३, ५, ६ र ७ पनि उच्च जोखिममा परेका छन् । पाथीभरा याङवरक गाउँपालिकाको-१, ३, ५ र ६, फक्ताङलुङ गाउँपालिकाको ७ ओटै वडा, मिक्वाखोला गाउँपालिकाको-१,२, ३ र ४, मेरिङदेन गाउँपालिकाको-१, २ र ४, मैवाखोला गाउँपालिकाको-२, ३, र ४, आठराई त्रिवेणी गाउँपालिकाको-१, २ र ५ उच्च जोखिममा परेका छन् ।

फुङलिङ नगरपालिकाको-३, ४ र ७, सिरिजङ्घा गाउँपालिकाको-२, ३, र ४, सिदिङ्वा गाउँपालिकाको ४, पाथीभरा याङवरक गाउँपालिकाको -२ र ४ पहिरोको मध्यम जोखिमा परेका छन् । मिक्वाखोला गाउँपालिकाको-५, मेरिङदेन गाउँपालिकाको-३, ६ र ५, मैवाखोला गाउँपालिकाको-१, ५ र ६ साथै आठराई त्रिवेणी गाउँपालिकाको-३ र ४ पहिरोको मध्यम जोखिममा रहेको जानकारी दिइएको छ । फुङलिङ नगरपालिकाको-२ र ५ गरी दुई ओटा वडा पहिरोको न्यून जोखिममा रहेको आँकलन गरिएको छ ।

badi pahiro


एलिना दियाली