बाढीपहिरोका कारण ४३ घरपरिवार विस्थापित, २० घर गोठ भत्किए

  ०८१ असार १८ गते

मनसुन सक्रिय भएदेखि दुई साताको अवधिमा जिल्लामा बाढीपहिरो कारण ४३ घरपरिवार विस्थापित हुनु परेको छ ।

दुई साताको अवधिमा बाढीपहिरोका कारण ४३ घरपरिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भयो । जिल्लामा बाढीपहिरोले २० ओटा घरगोठ भत्काएको छ ।

प्रमुख जिल्ला अधिकारी खड्काले मनसुन सक्रिय भएपछिको वर्षाका कारण दुई साताको अवधिमा दुई जनाको मृत्यु र ६ जना घाइते भएको बताउनु भयो । बाढीपहिरोबाट दुई साताको अवधिमा ६ ओटा मोटरेवल  पुलमा समेत पुगेको छ ।

बाढीपहिरोका कारण विस्थापितहरू भएकाहरू आफन्त तथा छिमेकीकामा आश्रय लिएर बस्नु परेको छ । पहिरोले उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत आयोजनामा क्षति पुगेको छ । अवरुद्ध सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका छन् ।

बाढीपहिरोका कारण मकालु गाउँपालिका-२ सागसेवा र मुलगाउँमा मात्रै २४ घरपरिवार विस्थापित भएका छन् । बाढी पहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मूहान र विद्युत पोलमा क्षति पुगेको छ । ०८१ जेठ २१ गते बर्षासँगै आएको बाढीपहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरूण आयोजनाको पहुँच मार्गको क्याम्प र दुई ओटा गाडी क्षति पुर्‍याएको छ । पहिरोले भोटखोला गाउँपालिका-४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी, स्वास्थ्य उपकरण क्षति हुँदा लाखौं रुपियाँको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । पहिरोले भोटखोला गाउँपालिका-४ मा  निर्माणाधीन पाँच शैयाको अस्पताल पुरिएको छ ।

दुई सातायताको वर्षाले भोटखोला गाउँपालिकासँग सम्र्पक विच्छेद भएको छ । बाढीले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकमा पर्ने मकालु गाउँपलिका-३ मा रहेको एकुवा खोलामा रहेको मोटरेबल पुलको भग्नावशेष समेत बगाएको छ । बाढी पहिरोका कारण अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भयो ।

बाढी पहिरोका कारण करिव ४० करोड रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । विपद् व्यवस्थापनका लागि भावी योजना समेत तयारी गरिएको छ । जिल्लामा तीन ओटै सुरक्षा निकायहरुमा खोज तथा उद्दारका लागि २९ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।  यो वर्षको मनसुन ०८१ जेठ २८ गते देखि सुरूआत हुँदा मनसुन बाट हुने क्षतिलाई कम गर्न, तत्काल खोज तथा उद्दार गरी राहत वितरण एवम् पुनस्थापनालाई प्रभावकारी बनाउने तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

Photo 20240306 sangkhawasabha (3)


भविन कार्की