बाजुरा कारागारमा एक कैदीको मृत्यु

  ०७८ असोज २० गते

बाजुरा कारागारमा कैद भोगिरहेका एक जना कैदीको असोज १८ गते उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

बुढिगङ्गा नगरपालिका–८ का ४५ वर्षीय दलबहादुर थापाको उपचारका लागि धनगढी लैजाने क्रममा अछामको चौखुट्टेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका डिएसपी मदनजीत महराले जानकारी दिनुभएको छ ।

मधुमेह र उच्च रक्तचापबाट पीडित थापालाई जिल्ला अस्पताल बाजुराले १७ गते रिफर गरेको थियो । कारागार शाखा बाजुराले कागजपत्र र आफन्तसँगको सहकार्य गरिरहेको भन्दै १८ गते दिउँसो मात्र जिल्ला अस्पताल बाजुराबाट उपचारका लागि धनगढी लगेको बाजुरा अस्पतालका डाक्टर दिपेन्द्र बुढाले जानकारी दिनुभएको छ ।

जिल्ला कारागार बाजुराले बिरामी थापालाई असोज १६ गते अस्पतालमा उपचारका लागि पुर्‍याएको थियो ।

अलि सञ्चो भएपछि अस्पतालले त्यहि दिन डिस्चार्ज गरेर थापालाई कारागार नै पठाएको थियो । असोज १७ गते असहज भएपछि थापालाई फेरि बाजुरा अस्पताल भर्ना गरिएको डाक्टर बुढाले बताउनु भयो ।

कारागार शाखा बाजुराले काजगपत्र मिलाउन समय लाग्ने र आफन्तले पनि लिन नमान्दा एकदिन ढिला भएको कारण बिरामीको मृत्यु भएको जनाएको छ ।

थापालाई आइसियू आवश्यकता रहेकोमा बाजुरामा सो व्यवस्था नभएपछि धनगढी रिफर गरिएको थियो ।

शव पोष्र्टमाटमका लागि अछाम अस्पतालमा राखिएको छ । आफन्तले कारागारको लापरबाही भएको भन्दै छानबिन नहुँदासम्म शव नबुझ्ने अडान राखेको मृतकका आफन्त नरेन्द्र थापाले बताउनु भएको छ ।

जिल्ला कारागार शाखा बाजुराका प्रमुख सुनराज रावलले भने आफूहरूको कुनै कमजोरी नभएको बताउनु भएको छ ।

थापाको मृत्युको कारण लापरवाही हो वा होइन छानबिन प्रकृयामा रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो ।


पदमबहादुर सिंह