बागलुङमा  मतदान स्थलमा फेरबदल, जसमध्ये २९ मतदान स्थल अतिसंवेदनशील

  ०७९ कात्तिक २५ गते

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि स्थानीय तह निर्वाचनको भन्दा तीन ओटा मतदान स्थल थप गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङलेतीन ओटा मतदान केन्द्रको स्थान परिवर्तन गरेको छ ।

स्थानीय तह निर्वाचनको समयमा मतदातालाई भएको असुविधालाई मध्येनजर गर्दै मतदान स्थल थप र मतदान केन्द्रको स्थान परिर्वतन गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले बताउनु भयो ।

उहाँका अनुसार स्थानीय तह निर्वाचनमा १ सय ३ मतदान स्थल रहेकोमा ३ थप गरी १ सय ६ पुर्‍याईएको छ । जिल्लामा २ सय ३१ मतदान केन्द्र रहेका छन् । जिल्ला सुरक्षा समिति बागलुङले अतिसंवेदनशिल, संवेदनशिल र सामान्य गरि मतदान स्थललाई तीन भागमा वर्गिकरण गरेको छ ।

जसमा जिल्लाका १ सय ३५ मध्ये २९ मतदान स्थल अतिसंवेदनशील देखिएका छन् । २४ मतदान स्थल संवेदनशिल र ५३ सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले बताउनु भयो ।

विगतको निर्वाचनमा देखिएका गतिविधि, पुर्वाधार, सुरक्षा निकायको पहुँच, मतदाता, उम्मेदवार र निर्वाचनमा हुनसक्ने गतिविधिलाई आधार मानेर मतदानस्थल वर्गीकरण गरिएको ज्ञवालीको भनाई छ ।

गृह मन्त्रालयले मतदानस्थलको सुरक्षा संवेदनशीलताको लागि गरिएको वर्गिकरण सार्वजनिक नगर्न परिपत्र गरेको हुनाले कुन कुन मतदानस्थल संवेदनशील छन् भन्ने सार्वजनिक गर्न नमिल्ने उहाँको भनाई छ ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मतदातालाई भएको असुविधा हटाउनको लागि ढोरपाटन नगरपालिका २, ६ र गलकोट नगरपालिका १० मा एकएकवटा मतदानस्थल थप गरिएको ज्ञवालीले बताउनु भयो ।

त्यसैगरी मतदातालाई पाएक पर्ने गरी बागलुङ नगरपालिका ३ बौद्ध विहारमा रहेको मतदान केन्द्रलाई कालिका कन्या मा.वी, बागलुङ नगरपालिका वडा नम्बर ६ को कार्यालय देखि लहरेपीपल मा.वी र बडिगाड गाउँपालिका ८ सिद्धबारी प्रा.विबाट भृकुटी मा.विमा मतदान केन्द्र स्थानान्तरण गरिएको छ ।

बागलुङमा १ लाख ९६ हजार  २ सय ९७ जना मतदाता रहेका छन् । स्थानीय तह निर्वाचनपछि जिल्लामा २ हजार ८ सय नयाँ मतदाता थपिएका छन् ।


सिर्जना पन्त