बागलुङको निसिखोलामा मतदाता शिक्षा सामग्री लुटियो

  ०७४ मङ्सिर ३ गते

बागलुङ जिल्लाको क्षेत्र नं २ अन्तर्गतको निसिखोला गाउँपालिकामा मतदाता शिक्षाका लागि पुगेका स्वयम्सेवकको साथमा रहेका मतदाता शिक्षा सामग्री मङ्सिर २ गते दुई जनाले नियन्त्रणमा लिएर नष्ट गरेका छन् ।

गाउँमा मतदाता शिक्षाका लागि पुगेका स्वयम्सेवकको साथमा रहेका नमूना मतपत्र, पर्चा, पम्लेट लगायतकासामग्री नियन्त्रणमा लिएर च्यातिदिएको मतदाता शिक्षा कार्यकर्ता राधिका शर्माले बताइन् ।

दुई जना अपरिचित ब्यक्तिहरूले निसीखोला-३ मा रहेको जङ्गल कटेर गाउँमा निक्लनै लाग्दा मतदाता कार्यकर्ताको साथबाट मतदाता शिक्षा सामग्री लुटेका थिए ।

'हामी चार जना थियौँ । दुई जना अलि पछि थिए ।'-शर्माले भनिन्-'एक्कासी अगाडि आएर उनीहरूले हामीलाई रोके र झोलामा भएका सबै सामग्रीहरू नियन्त्रणमा लिए ।' नियन्त्रणमा लिएका सबै सामग्री तत्काल च्यातेर फालिदिएको शर्माले बताइन् ।

'जलाइदिने भन्दै थिए । उनीहरूसँग लाइटर रहेनछ ।'-शर्माले भनिन्-'हाम्रा झोलाहरू भने सुरक्षित छन् । हामीलाई पनि केही गरेनन् ।'

घटनाको विषयमा मतदाता शिक्षा कार्यकर्ताहरूले तत्कालै जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

'उहाँहरूले जानकारी गराएलगत्तै हामीले सुरक्षा निकायलाई खबर गरेका छौँ ।'-जिल्ला निर्वाचन अधिकारी विकाशचन्द्र शर्माले भने-'घटनाको विषयमा सुरक्षा निकायले थप अनुसन्धान गरिरहेको छ ।'

घटनामा निसीखोलाकै लालबहादुर बुढा र सुन्दर बुढा संलग्न रहेको आरोप छ । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी चन्द्रकुबेर खापुङ्ले बताए ।


सिर्जना पन्त