बागलुङका १ सय १७ खानेपानी मुहानमा कोलीफर्म जिवाणु भेटियाे

  ०८१ असार २७ गते

बागलुङका १ सय १७ खानेपानी मुहानमा दिशामा पाइने किटाणु (कोलीफर्म) रहेको पाइएको छ ।  स्वास्थ्य कार्यालय बागलुङले परीक्षण गरेको खानेपानीको मुहान तथा धाराको नमुना परीक्षणमा ३२ प्रतिशत खानेपानी मुहानमा दिशामा पाइने किटाणु ‘कोलीफर्म’ भेटिएको हो ।

स्वास्थ्य कार्यालय बागलुङले जिल्लाका ३ सय ५७ खानेपानीको मुहान परीक्षण गर्दा १ सय १७ खानेपानी मुहानमा मानव दिशामा पाइने किटाणु ‘कोलीफर्म’ भेटिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन निरीक्षक डिल्लीप्रसाद आचार्यले बताउनुभयो ।

आचार्यका अनुसार बागलुङका अधिकांश खानेपानीको मुहान शुद्धिकरण गर्न आवश्यक रहेको बताउदै ‘कोलीफर्म’को जीवाणु भएको खानेपानी सोझै पिउन नमिल्ने बताउनुभयो । ‘कोलीफर्म’ भएको पानी पिउदा झाडापखाला, हैजा लाग्ने देखि मृगौला समेत फेल हुन सक्छ ।

१० स्थानीय तहमध्ये ताराखोला गाउँपालिकामा भने खानेपानीको परीक्षणमा ‘कोलीफर्म’ देखिएको छैन । स्वास्थ्य कार्यालय बागलुङको प्राविधिकको टिम र स्थानीय तहको स्वास्थ्य शाखाको समन्वयमा  खानेपानीको नमुना परीक्षण गरिएको आचार्यले जानकारी दिनुभयो । जसमध्ये सबैभन्दा बढी खानेपानीको मुहान बडिगाड गाउँपालिकामा परीक्षण गरिएको छ । बडिगाड गाउँपालिकाको १ सय २१ खानेपानीको मुहान परीक्षण गर्दा २६ खानेपानी मुहानमा ‘कोलीफर्म’ फेला परेको छ । बडिगाडले आफ्नै स्रोत–साधनले खानेपानीको मुहानमा नमुना परीक्षण गरेकाले धेरै मुहानको खानेपानी परीक्षण गर्न सफल भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिकाको ६ खानेपानीको मुहान परीक्षण गर्दा पाँच खानेपानीको मुहानमा कोलिफर्म देखिएको छ । यस्तै जैमिनी नगरपालिकाको ९७ खानेपानीको मुहान परीक्षण गर्दा ४२ खानेपानीको मुहानमा ‘कोलीफर्म’ भेटिएको छ ।

जैमिनीका आठ ओटा खानेपानी मुहानमा कोलीफर्मको मात्रा सबैभन्दा बढी रहेको स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यस्तै गलकोट नगरपालिकाको २४ खानेपानी मुहान परीक्षण गर्दा १३ खानेपानी मुहानमा ‘कोलीफर्म’ फेला परेको, ढोरपाटन नगरपालिका भत्रिका २० खानेपानी मुहान परीक्षण गर्दा नौ खानेपानीका मुहानमा ‘कोलीफर्म’ फेला परेको हो ।

काठेखोला गाउँपालिकाको १० मुहानको परीक्षणमा चार मुहानमा ‘कोलीफर्म’, निसीखोला गाउँपालिकामा परीक्षण गरिएको आठ खानेपानी मुहानमा तीन मुहानमा ‘कोलीफर्म’ फेला परेको छ ।

यस्तै तमानखोला गाउँपालिकामा ६२ ओटा मुहानको खानेपानी परीक्षण गर्दा १३ स्थानमा ‘कोलीफर्म’ भेटिएको छ भने बरेङ गाउँपालिकाका ६ खानेपानी मुहान परीक्षण गर्दा दुई स्थानमा ‘कोलीफर्म’ फेला परेको हो ।  गाउँ–गाउँमा पुगेर खानेपानीको नमूना संकलन गरी स्वास्थ्य कार्यालयको ल्याबमा परीक्षण गर्दा कोलिफर्मको मात्रा फेला परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार बजार क्षेत्रमा रहेको खानेपानीका मुहानमा ‘कोलीफर्म’को मात्रा धेरै पाइएको छ ।


सिर्जना पन्त