बागमती प्रदेशसभा भवन अगाडि डाक्टर कुटपिट घटनाको विरोध प्रदर्शन

हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत ३३ वर्षीय डा. प्रसान्त बिडारी र ३७ वर्षीय डा. विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला कुटपिट भएको घटनाको विरोधमा चिकित्सकहरूले ०८० भदौ ३० गते बागमती प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका छन् ।

प्लेकार्ड बोकेर जम्मा भएका चिकित्सकहरूले सुरक्षाको माग गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् । विरोध प्रदर्शनमा पुगेका चिकित्सकहरूले अब त अति भो, स्वदेशमा उपचार सेवा गर्नुभन्दा खाडी बेस हो ? उपचारका लागि औजार बोक्ने कि सुरक्षाका लागि हतियार, सुरक्षा नपाएसम्म सेवा नदिनेजस्ता प्लेकार्ड बोकेका थिए ।

बागमती प्रदेशका सांसद एकालाल श्रेष्ठले भदौ २७ गते हेटौँडाको सञ्चो अस्पतालमा भएको डाक्टरहरूमाथिको हातपातको विषयमा विशेष समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताउनु भयो ।

बागमती प्रदेशसभा भदौ ३० गते बसेको बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले घटनामा दोषी को हो भनेर विशेष समिति बनाएर छानबिन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

डेङ्गु सङ्क्रमणको कारण ०८० साउन २५ गते मृत्यु भएका हेटौँडा उपमहानगरपालिका-१२ का ४१ वर्षीय राजेश प्रधानको मृत्युपछिका घटनाक्रमको विशेष समिति मार्फत अनुसन्धान गरी दोषीमाथि कारबाहीको लागि उहाँले माग गर्नुभएको छ ।

डाक्टरमाथि आक्रमण हुनुपर्ने अवस्थाको कारण के गरी सिर्जना भयो भन्ने विषय पनि महत्वपूर्ण रहेको भन्दै उहाँले गम्भिर अनुसन्धानपछि निचोडमा पुग्नु पर्ने बताउनु भयो ।


पुष्पराज अधिकारी