बागमती प्रदेशमा स्थानीय तह निर्वाचनका लागि मनोनय दर्ता प्रकृया सम्पन्न

  ०७९ वैशाख १२ गते

स्थानीय तह निर्वाचन २०७९ को मनोनयन दर्ताको दास्रो दिन वैशाख १२ गते बागमती प्रदेशका १३ ओटै जिल्लामा उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।

यस प्रदेशका १ सय १९ ओटै स्थानीय तहमा शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको इन्सेकका जिल्ला प्रतिनिधिले जानकारी दिएका छन् ।

बागमती प्रदेशमा १७ लाख ७ हजार ९ सय ४२ जना महिला, १७ लाख ४ हजार ८ सय ९८ जना पुरुष र २९ जना अन्य गरी ३४ लाख १२ हजार ८ सय ६९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार बागमती प्रदेशका १ सय १९ स्थानीय तहमा १ हजार ७ सय ९२ ओटा मतदान स्थलमा ४ हजार ९५ मतदान केन्द्र स्थापना गरिएको छ ।

यस प्रदेशका कूल १ सय १९ स्थानीय तहमा जम्मा ११ जना महिला र ११ जना पुरुषा गरी जम्मा २३ हजार ९६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन आयोगले उल्लेख गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारी मनोनयन दर्ता गर्नेको सङ्ख्या

सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार  नेकपा माओवादी केन्द्रको पार्टीबाट टिकट पाउने र नपाउने बीचको विवाद बढ्दै जाँदा उम्मेवार हुन नपाउने कार्यकर्ताले उम्मेदवारी दर्ता गर्ने क्रममा ०७९ वैशाख १२ गते चौतारा सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा चौतारा सगाचोकगढी नपाको कार्यालय तोडफोड गरेका छन् । चौतारा साँगाचोकगढी नपा वडा नं. ४ कुबिण्डे र वडा नं. १४ का माओवादी केन्द्रका वडा अध्यक्षका प्रत्यासी उम्मेदवारबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा मुख्य निर्वाचनको कार्यालय तोडफोड भएपछि उम्मेदवारी मनोनयन प्रकृया समेत अवरोध भएको थियो । प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेपछि थप क्षति हुन पाएको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिई सुरक्षा दिएपछि मनोनयन दर्ताका कार्य सूचारु गरिएको मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले बताउनु भयो ।

1

रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्लाका पाँच ‌ओटै पालिकामा पाँच दलिय राजनीतिक  गठबन्धनका उम्मेदवारको टुङ्गो समयमै नलागेका कारण राति अबेसम्म मनोनयन दर्ताको कार्य भइरहेको छ । गोसाइकुण्ड गाउँपालिकामा नेकपा एमाले र नेपाली का‌ंग्रेसले सबै तहमा उम्मेदवारी दिएका छन् भने अन्य दलले आंशिक उम्मेदवारी दिएका छन् । उत्तरगया, कालिका, नौकुण्ड र आमाछोदिङमो गाउँपालिकामा पनि मनोनयन दर्ताको काम भइरहेको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने मिति तोके पनि ११ गते मनोनयन नगरेकोले १२ गते पनि मनोनयनमा ढिलाइ भएको हो । जिल्लामा अहिले उम्मेदवारी दर्ताको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वैशाख ३० गते हुने स्थानीय चुनावका लागि रसुवामा १७ दलले भाग लिँदै छन् । पाँच ओटा गाउँपालिका रहेको रसुवामा २७ ओटा वडा रहेका छन् ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा उम्मेदवारी मनोनयन दर्ता प्रकृया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाका १३ पालिका र १ सय ४ ओटा ‌ओडामा मनोनयन दर्ता सम्पन्न भएको छ । वैशाख ११ गते ठूला राजनीतिक दलले मनोनयन दर्ता नगरी १२ गतेको अन्तिम समयमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेका कारण दर्ता प्रकृया रातिसम्म जारी रहेको थियो ।

यसैबीच, थाक्रे गाउँपालिकामा भने नेकपा एमालेका तर्फबाट अध्यक्ष पदमा कृष्ण पन्त र रामकुमार आचार्यको उम्मेदवारी दर्ता गरेका कारण अहिले पनि एमाले कार्यकर्ताहरु नाराबाजि गरेर धर्नामा बसेका छन् । एउटै पार्टीबाट  दुई जनाको उम्मेदवारी दर्ता भएको र एकजनाको मात्र कायम हुने र पछि आउनेलाई दर्ता गर्न नपाउने व्यवस्था भए पनि कर्मचारीको मिलेमतोमा एउटै पार्टीबाट दुई जनाको उम्म्दवारी दर्ता भएपछि एमालेका कार्यकर्ताले मुख्य निर्वाचनको कार्यालय धादिङबेसीमा समेत नाराबाजि र धर्ना जारी राखेका छन् ।

Photo1Dhading20790112

भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार जिल्लाका चार ओटै पालिकामा उम्मेदवारी दर्ता, मध्यरातीसम्म जारी रह्यो । निर्वाचन आयोगले ११ गते र १२ गते दुईदिन मनोनयन दार्त गर्ने मिति तोके पनि ११ गते केही स्वतन्त्र उम्मेदवारले मनोनयन गरेको र १२ गते पनि अपराह्न ३ बजेपछि मात्रै ठूला दल उम्मेदवारी दर्ता गर्न गएपछि मनोनयन दर्ताका लागि मध्यरातीसम्म उम्मेदवारका आकांक्षीहरूको मनोनयन दर्ताका लागि लाम लागेका थिए । नेकपा एमालेबाट सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराईले, मध्यपुरथिमि नगर प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा उत्तरा नेपाल, चाँगुनारायण नगरपालिका प्रमुखमा बिना बास्तोला र उपप्रमुखमा रमेश बुढाथोकी, भक्तपुर नगरपालिकाको प्रमुखमा रविन्द्र लाछिमस्यु र उपप्रमुखमा रञ्जना खर्बुजाले मनोनयन दर्ता गराउनु भएको छ । सूर्यविनायकका थापा, मध्यपुरका श्रेष्ठले यस पटक पनि प्रमुखमा दोहोर्याएर उम्मेदवारी दिएका छन् भने चाँगुनाराणमा उपप्रमुख बास्तोलाले प्रमुखमा उम्मेदवारी दिनु भएको छ । पाँचदलीय गठबन्धनका कारण नेपाली कांग्रेससहितले केही वडामा सहमति गर्न ढिलाई गरेपछि पाँच बजे अगाडि मात्रै मनोनयनका लागि गएको थियो । कांग्रेसको अधिकांश पालिकामा ८ बजेसम्म मनोनयन दर्ता गराउन लामबद्ध रहेको मध्यपुरथिमि निर्वाचन अधिकृतको कार्यालयमा खटिनु भएका केशव सिलवालले जानकारी दिनु भयो ।

photo2bhaktapur20790112

यसैबीच सत्ता गठबन्धनको तालमेल र सहमति तोडिएको छ । दिउँसो ४ बजेसम्म पनि कांग्रेससँग सहमति नभएपछि नेकपा माओवादी केन्द्रले पालिकाहरूमा गठबन्धन बाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिनु भयो । गठबन्धन तोडिएपछि नेपाली कांग्रेसबाट चाँगुनारायणको प्रमुखमा जीवन खत्री, उपप्रमुखमा सुभद्रा काफ्ले, भक्तपुर नगरपालिका प्रमुखमा कांग्रेसबाट रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत) समाजवादीबाट ओमचरण श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा कांग्रेसबाट निशान ढुङ्गेल, उपप्रमुखमा एकिकृत समाजवादीबाट श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगरपालिका प्रमुखमा कांग्रेसबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी) केन्द्रबाट विजय श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा र समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले पालिकाहरुमा गठबन्धन बाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार नेकपा माओवादी केन्द्रबाट भक्तपुर नगरपालिका प्रमुखमा तुलसी भक्त सुवाल, उपप्रमुखमा इन्द्रमाया सुवाल, सूर्यविनायक नगरपालिकाको प्रमुखमा कल्पदिप राई र यपप्रमुखमा पवित्रा चौलागाई र चाँगुनारायण नगरपालिकाको प्रमुखमा नरेश खड्का र उपप्रमुखमा चण्डिका पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीले भक्तपुरको प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशी, सूर्यविनायक प्रमुखमा श्याम बिसंखे र उपप्रमुख चनमति खुलीमुली, चाँगुनारायणको प्रमुखमा केशव तिमिल्सिना, उपप्रमुखमा कल्पना लामा र मध्यपुरथिमिको प्रमुखमा आशाहरि प्रजापति र उपप्रमुखमा दीक्षा बाँडेले मनोनयन दर्ता गर्नु भएको नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले जानकारी दिनु भयो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँगुनारायण नगरपालिकाको प्रमुखमा रबिन्द्रप्रताप शाह, उपप्रमुखमा मञ्जु कार्की भक्तपुर नगरको प्रमुखमा बद्री लाखाजू, उपप्रमुखमा लक्ष्मी छुस्यावाग, मध्यपुरथिमिको प्रमुखमा भुवन वागश्रेष्ठ, उपप्रमुखमा शान्ति श्रेष्ठ, सूर्यविनायकको प्रमुखमा राधिका रानाभाट र उपप्रमुखमा प्रविण ढुङ्गेलले मनोनयन दर्ता गराउनु भएको राप्रपाका सहमहामन्त्री शाहले जानकारी दिनु भयो । जिल्लाका चार पालिकाको ३८ ओटा वडामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपा र राप्रपाले सबै पदाधिकारीमा उम्मेदवारी दर्ता गराएको छ ।

photo1bhaktapur20790112

इन्सेक सिन्धुली प्रतिनिधि नविनबावु अधिकारीका अनुसार मरिण गाउँपालिकामा बैशाख १२ गते स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ताको लागि आयोजना गरिएको चुनावि र्‍यालिमा बालबालिकाको प्रयोग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले निकालेको र्‍यालिमा बालबालिका पार्टीको झण्डा सहित प्रयोग भएको पाईएको हो ।

निर्वाचन आचार संहितामा बालबालीकाको प्रयोग गर्न नपाईने उल्लेख छ । आचारसंहिता विपरित बालबालीकाको प्रयोग भएको पाइएको हो ।

माओवादी केन्द्रले मरिण गाउँपालिकामा अध्यक्ष पदमा विमर्श मुक्तान (प्रख्यात) सहित वडा अध्यक्ष, सदस्य पदका उम्मेदवारहरुको मनोनयन दर्तामा जाँदा र्‍यालिमा सहभागि मानिसको जुलुस ठलो देखाउन बालबालिकालाई पार्टीको झण्डा बोकाई र्र्‍यालिमा प्रयोग गरेको पाइएको हो ।

नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्लाका १२ ओटै स्थानीय तहमा वैशाख १२ गते शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको छ । मनोनयनको पहिलो दिन केही साना दलहरु र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएकोमा दोस्रो दिन भने नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतले मनोनयन दर्ता गराएका छन् । सबै स्थानीय तहमा गरी कति जनाले उम्मेदवारी दर्ता गराए भन्ने विवरण निर्वाचन अधिकृतको कार्यालयहरुले जानकारी दिएको छैन । अहिले पनि कार्यालयमा मनोनयन प्रक्रियाका कामहरू भईरहेको भन्दै निर्वाचन अधिकृतहरुले विवरण दिन समय लाग्ने बताएका छन् । नेकपा एमालेले १२ ओटै स्थानीय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको छ । सबै स्थानीय तहमा गठबन्धन कायम हुन नसकेको कारण नेपाली कांग्रेसले १० स्थानीय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको छ भने एक स्थानीय तहमा प्रमुख र एकमा उपप्रमुख पदमा उम्मेदवारी दिएको छ ।

Photo1Nuwakot20790112

काठमाडौँ प्रतिनिधि विमल पौडेलका अनुसार मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य सहित ३ हजार २ सय ४१ जनाको उम्मेदवारी दर्ता भए पनि थप उम्मेदवारी दर्ता प्रकृया चलिरहेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार रति ९ बजेसम्म उम्मेदवारी दर्ता गरेका मध्ये १ सय ८६ जनाले मेयरमा, ९४ जनाले उपमेयरमा, ७ सय ९४ जनाले वडा अध्यक्षमा, ५ सय ७७ जनाले महिला सदस्यमा, ४ सय २९ जनाले दलित महिला सदस्यमा र १ हजार १ सय ६१ जनाले खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौँ महानगरपालिकाका विभिन्न पदमा मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह अगाडि उम्मेदवारहरूको लामो लाईन रहेकाले निर्वाचन आयोगका कर्मचारीहरुले राती ९ बजेपछि पनि मनोनयन दर्ता गराइरहेका थियो ।

यसैबीच इन्सेक जिल्ला प्रतिनिधिद्वारा निर्वाचन अनुगमनका क्रममा राष्ट्रिय सभागृह अगाडि उम्मेदवारले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको दृश्य देखिएको छ । निर्वाचन आचारसंहिता विपरीत नेपाली कांग्रेसद्वारा काठमाडौँ महानगरपालिकामा मेयर पदको उम्मेदवारी दिने क्रममा निकालिएको झाँकीमा बालबालिका प्रयोग गरेको पाइएको छ । नेपाली कांग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार सिर्जना सिंह सहित आएको र्‍यालीमा बाजागाजाको टोलीमा बालबालिका प्रयोग भएको हो ।

ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार जिल्लाका ६ ओटै स्थानीय तहमा राती १० बजेसम्म पनि उम्मेदवारको मनोनयन दर्ता जारी रहेको छ । सत्तारुढ दल नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको प्रमुखमा चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाको प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारीको मनोनयन दर्ता गरेको छ भने महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा लक्ष्मी महर्जनको उम्मेद्वारी दर्ता गरेका कांग्रेस ललितपुरका सचिव वशिष्ठ अधिकारीले जानकारी दिनुभयो ।

बागमती गाउँपालिकाको अध्यक्षमा बीरबहादुर लोप्चन, कोन्ज्योसोम गाउँपालिकाको उपाध्यक्षमा राजनप्रसाद घिमिरे र महाँकाल गाउँपालिकाको अध्यक्षमा गणेशबहादुर केसीको उम्मेद्वारी परेको सचिव अधिकारीले बताउनु भयो ।

प्रतिपक्ष दल नेकपा एमालेले ६ ओटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष सहित जिल्लाका ७१ ओटै वडामा वडाध्यक्ष सहितको उम्मेद्वारी दर्ता गराएको छ भने आठ ओटा वडामा दलित महिला सदस्यको उम्मेद्वारी नपरेको पार्टी अध्यक्ष पुरुषोतम आचार्यले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकाको प्रमुखमा हरिकृष्ण व्यन्जनकार, उपप्रमुख मन्जली शाक्य गोदावरी नगरपालिकाको प्रमुखमा गम्भीर राना र उपप्रमुखमा रमि प्रधाानाङगको मनोनयन दर्ता गरेको छ भने महालक्ष्मी नगरपालिकाको प्रमुखमा हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा बिना सुवेदी केसीको उम्मेद्वारी दर्ता गरेका एमाले अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

बागमती गाउँपालिकाको अध्यक्षमा नवराज सञ्जेल र उपाध्यक्षमा नमूना दोङ, कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा कृष्णमान लामा, उपाध्यक्षमा रणिता तामाङ र महाँकाल गाउँपालिकाको अध्यक्षमा कमला तामाङ र उपाध्यक्षमा पुरुषोतम हुमागाईको उम्मेद्वारी परेको अध्यक्ष आचार्यले बताउनु भयो ।

नेकपा माओवादीले ललितपुर महानगरपालिकाको उपप्रमुखमा बाबुराजा बज्राचार्य, महालक्ष्मी नगरपालिकाको प्रमुखमा शिब कट्टेल, कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा गोपिलाल सिङ्तान, बागमती गाउँपालिका उपाध्यक्षमा भक्तबहादुर दर्लामी (निशान) र महाँकाल गाउँपालिकाको उपाध्यक्षमा डोल्मा गोलेको उम्मेदवारी परेको छ ।

नेकपा एकीकृत समाजवादीले महालक्ष्मी नगरपालिकाको प्रमुखमा नकुल थापाको उम्मेद्वारी दर्ता गरेको छ भने गोदावरी नगरपालिकाको उपप्रमुखमा श्यामकृष्ण सिलवालको उम्मेद्वारी दर्ता गरेको छ भने जिल्लाका ७१ वटा वडा मध्ये १० वटा वड अध्यक्षमा उम्मेद्वारी दिइएको जिल्ला सचिव सुदर्शन मिश्रले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकामा १३ जनाले प्रमुख र १४ जनाले उपप्रमुख पदमा मनोनयनपत्र दर्ता गराएका छन् । मनोनयन दर्ता कार्य निरन्तर रहेकोले कुन पालिकामा कति जनाको दर्ता भएको छ भन्ने बारे १३ गते बिहानसम्म जानकारी दिन सकिने मुख्य निर्वाचन अधिकृत एवम् ललितपुर महानगरपालिकाका निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार हेटौँडा उपमहानगरपालिका सहित थाहा नगरपालिका र अन्य आठ गाउँपालिकामा शान्ति पूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । दस ओटा स्थानीय तह रहेको मकवानपुरमा १ सय २ ओटा वडा छन् । हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा विभीन्न राजनीतिक दलका १२ जना र स्वतत्त्र पाँच जना गरी १७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीबाट मीना कुमारी लामा र उपमेयर पदमा नेपाली काङ्ग्रेसको तर्फबाट राजेश बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मेयरमा अनन्त प्रसाद पौडेल, उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गर्नु भएको हो । एमालेबाट हेटौँडा उपमहानगरपालिकाको १९ ओटै वडामा वडा अध्यक्ष र वडा सदस्यहरुद्वारा उम्मेदवारी दर्ता गरेका छन् । हेटौँडाको मेयरमा नेपालका लागि नेपाली पार्टीको तर्फबाट मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपकबहादुर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी निर्वाचन अधिकृतको कार्यालय अनुसार मेयरमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीको तर्फबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौलाको उम्मेदवारी परेको छ । यस्तै स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

Photo1makawanpur20220425

Photo5makawanpur20220425

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा कूल २ हजार २ सय ५० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार सवै भन्दा बढी खुला सदस्यमा ८ सय ५८ जना छन् । नगरपालिका प्रमुखमा ७४ र उपप्रमुखमा ४५ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा पाँच र उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । त्यस्तै ५ सय १ जना वडाअध्यक्ष र ४ सय १४ जना महिला सदस्य तथा ३ सय ५१ जना दलित महिला सदस्यको उम्मेदवारी परेको आयोगले जनाएको छ । इच्छाकामना गाउँपालिका वडा नं. १ बाट दलित महिला तर्फ दुर्गा सार्की प्रजाको एकल उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनु भयो ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा