बागमती प्रदेशमा बाढी पहिरोको उच्च जोखिम

बागमती प्रदेशमा अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढी पहिरो आउनुका साथै उच्च जोखिम बढेको छ । गएराती देखिको अविरल वर्षाले बागमती प्रदेशको जनजीवन प्रभावित बनेको हो ।

रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार नेपाल चीन सिमानाका रसुवागढी सडकको स्याफ्रुबेशी-टिमुरे सडक र धुन्चे-स्याफ्रुबेशी सडक खण्डको भार्खुमा पहिरो बग्नाले दिनहुँ जस्तो सडक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकी बताउनु भयो । तीन दिनदेखि बढेको वर्षातको कारण अन्तर्राष्ट्रिय नाका जोडने छाटोमार्ग बेत्रावती-मैलङ्ग-स्याफ्रुबेशी सडक भने अवरुद्ध छ । भिरालो जमिन माथिबाट ढुङ्गा खस्ने हुनाले त्यहाँ सवारी चलाउन कठिन भएको हो । हाकुबेशीबाट पाङलिङहुँदै सानोहाकु जाने सडक अवरुद्ध हुँदा निर्माण सामग्री गाउँसम्म पुर्‍याउन कठिन भएको छ । यस वर्ष विगत वर्षभन्दा कम पानी परेकोले ठूलो समस्या भएन तर यसहप्ताको वर्षातले सडक सुचारु नभएकोले जवजीवन प्रभावित भएको आमाछोदिमो गाउँपालिका-१ का कार्पो तामाङले बताउनु भयो । बेत्रावती-मैलङ्ग-स्याफ्रुबेशी सडक भाँगे झरना आसपासमा अवरुद्ध भइरहने कारण नियमित एम्बुलेन्स तथा दैनिक उपभोग्य बस्तुहरू लैजान समस्या हुने गरेको छ ।

त्रासै त्रासमा विस्थापितः ०७२ वैशाखको भूकम्पका कारण विस्थापितहरूलाई वर्षातले झनै समस्या पारेको छ । आठ वर्ष अघि भूकम्पले गाउँ छाडेर उत्तरगया गाउँपालिकाको कार्यालय नजिकै खाल्टे बगरमा बस्दै आएका विस्थापितहरू त्रिशूली नदिमा बाढी आउने त्रासले रातभर जाग्राम बस्छन् । जोखिमयुक्त ठाउँमा बस्न बाध्य हुन परेकोले त्रासमा छन् ।

नेपालको संविधानको भाग ३ मा धारा ३७ को मौलिक हक र कर्तब्यको आवासको हकमा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ । कानुन बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन भनिएको छ । आवासको हक नागरिकको मौलिक हकका रुपमा समेटिए पनि भूकम्पका कारण विस्थापित परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थयी टहरामै बस्न बाध्य भएका छन् । आवास अधिकारसम्बन्धि ऐन २०७५ मा पनि नेपालको संविधान बमोजिम आवास विहीन नेपालीलाई उपयुक्त सुरक्षित आवास सुविधा उपलब्ध गराउने व्यवस्था उल्लेख छ । अस्थायी टिनको छाप्रोमा पानी चुहिन्छ उत्तरगया गाउँपालिका-५ को खाल्टे बगरमा बस्दै आएका ७८ वर्षीय लाक्पा तामाङले भन्नुभयो, 'यो वर्षको बर्खा कसरी काटिएला पानी रातभर पर्छ डर त्रासमा रात बिताउनु पर्छ । कारण यहाँ बस्दै आएका जेष्ठ नागरिक, सुत्केरी, बालबालिका समस्यामा परेका छन् ।'

उत्तरगया गाउँपालिका-१ को तिरुमा एकीकृत बस्ती निर्माण भएपनि त्यहाँ बस्ती स्थानान्तरण हुन सकेको छैन । उनिहरू अझै नुवाकोटको बिदुर नगरपालिका बट्टारमा बस्दै आएका छन् । तिरु बस्दै आएका बालपोल तामाङले भन्नुभयो, 'यहाँको एकीकृत १ सय ६ ओटा निजी आवास निर्माण भएका छन् । अझै ४८ घर बनाउन बाँकी छ । एकीकृत बस्तीमा राम्रा घर बनेपनि नजिकै अस्थायी टहरामा जोखिममायुक्त तवरले बस्दै आएका छन् । नयाँ घरमा कहिलेदेखि बस्न पाउने यस बारे अन्यौल छ ।'

सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार बाढी र पहिरोको उच्च जोखिममा यस सिन्धुपाल्चोक जिल्ला रहेको छ । वर्षाको समयमा आकाशमा कालो बादल देख्ना साथ याहाँका अधिकांश नागरिकहरू बाढी र पहिरोको भयले त्रासदीमा बाँच्नु परेको छ । विगत वर्षहरूमा यहाँ ठूला ठूला बाढी र पहिरोले धेरै धन जनको क्षति पुगेको थियो भने धेरै गाउँका नागरिकहरू विस्थापित भएका थिए । जुरेको पहिरो, लिदिको पहिरो, भोटेकोशी बाढी, मेलम्ची र इन्द्रावती नदिमा आएको बाढीले धेरै नागरिकहरुको क्षति मात्र होइन बस्ने घर, जग्गा जमिन, धन सम्पत्ति, वस्तुभाउ लगाएत सम्पूर्ण रुपले क्षति भएर गाउँबाट विस्थापित भएको अवस्था थियो । विगतमा आएको बाढी र पहिरोबाट क्षति भएका परिवारलाई अहिले सम्म पनि क्षतिपुर्ति, राहत, र विस्थापित भएकाहरूको पुर्नथापना जस्ता काम हुन सकेको छैन । मेलम्ची नदिमा आएको बाढीले घर जग्गा बगाएर विस्थापित भएका नागरिकहरू आफ्नो थातथलो फर्कन सकेका छैनन । त्यसैगरी जुरे पहिरो पीडित र लिदि पहिरो पीडितहरूको अवस्था त्यस्तै छ । उनिहरू विस्थापित जीवन बिताइ रहेका छन् । यस वर्ष भोटेकोशी गाउँपालिका-१, लिस्तीमा साउन ५ गते आएको सुख्खा पहिरोले चरनमा चराउँदै गरेको २२ ओटा बाख्रा बगाएर क्षति गरको जिल्ला बिपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार यस वर्ष बाढी पहिरोको जोखिम न्यूनीकरणको लागि बाह्रविसे नगरपालिका र भोटेकोशी गाउपालिकामा १ सय ७७ परिवारलाई मनसुनको समयमा अस्थायी रुपमा सुरक्षित बस्नकोलागी आवश्यक सामाग्रीको व्यवस्था गरिएको छ । भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा आपतकालिन आस्रयस्थल निर्माण गरिएको छ । हेलम्बु गाउँपालिकाको नाकोते र पाँचपोखरी गाउँपालिकाको याग्रिमा पानीको बाहक यन्त्र सञ्चालनमा ल्याइएको छ भने मेलम्ची नगरपालिकाको तालामाराङ्ग र बाहुनेपाटीमा साइरन जडान गरिएको छ । जिल्लाभरी १२ स्थानमा रहेको वर्षा मापन यन्त्रबाट जल तथा मौषम विज्ञान विभागले जारी गरेको सूचना जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई भाइवर र फेसवुक तथा म्यासेज मार्फत सूचना निरन्तर जारी गरिएको छ । त्यसैगरी जनपथ प्रहरीको ३९ जना र नेपाली सेनाको १ सय ३८ जना व्यक्तिहरू उद्धारको लागि तयारी अवस्थामा राखिएको छ । यो सबै तयारीले बाढी र पहिरोको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाइ छ ।

नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार ककनी गाउँपालिका-५, ककनीमा पहिरोले सडक अवरुद्ध भएको छ । ककनी गाउँपालिका-३ को ओखरपौवामा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र बहादुर खड्काले जनकारी दिनुभयो । पहिरोले अवरुद्ध भएको सडक खुलाउनको लागि डोजर पहिरो स्थलमा पुगेको छ । राती देखी नै पहिरोले बन्द सडक खुलाउने कार्य शुरू भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्काले बताउनु भयो । बाढीका कारण अहिलेसम्म कुनैपनि मानवीय क्षति नभएको र प्रहरीले भौतिक क्षतिको विवरण सङ्कलन गरी सोहीसम्बन्धी कार्य भइरहेको डिएसपी खड्काले जानकारी दिनुभयो ।

Photo_080-4-23_Kathmandu2

काठमाडौँ प्रतिनिधि विमल पौडेलका अनुसार निरन्तरको वर्षापछि आएको बढीले बागमती, विष्णुमति, रुद्रमती, मनोहरा, सामाखुसी र हनुमन्तेखोला आसपासका तटीय क्षेत्र डुबानमा परेका छन् । विष्णुमति नदि र सामाखुसी खोलामा आएको बाढीले दीपज्योति क्षेत्र र रानीबारी क्षेत्रका निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् । त्यस्तै रुद्रमती नदीमा आएको बाढीले कपन र अनामनगर क्षेत्रका घर र पसलमा पसेर क्षति गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो । डिएसपी ढुंगेलका अनुसार बागमती नदीमा आएको बाढीका कारण सिनामङ्गल, थापाथली, कुलेश्वर र बल्खुका सुकुम्बासी बस्ती र तरकारी बजारमा पस्दा लत्ताकपडा, भाँडा र व्यापारीको तरकारी बगाएको छ । डिएसपी ढुंगेलले बाढीका कारण अहिलेसम्म मानवीय क्षति नभएको र प्रहरीले भौतिक क्षतिको विवरण सङ्कलन गरिरहेको बताउनु भयो ।

Photo_080-4-23_Kathmandu

त्यस्तै अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लामा रहेको हनुमन्ते खोलामा आएको बाढीका कारण हनुमान घाट, राम मन्दिर क्षेत्र, शान्ति निकेतन स्कुल, सिद्धि स्मृति अस्पताल क्षेत्र डुबानमा परेका हुन् । वर्षापछि आएको पहिरोका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका-१ मा रहेको वीरबहादुर केसीको चार कोठे घर भत्किएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार घर पछाडिको ढिस्को खस्दा जस्ताको छानो भएको एक तले घर पूर्णरुपमा क्षति भएको हो । डिएसपी पाठकका अनुसार प्रहरीले भक्तपुर नगरपालिका-४ स्तिथ राम मन्दिरमा बस्दै आएका ८२ वर्षीय भोजराज खरेल (महाराज हरिदाष), ५५ वर्षीया दुर्गा गुरुङ, ११ वर्षीया मेघना गुरुङ र ६० वर्षीया सीता राईलाई उद्दार गरेको छ । डिएसपी पाठकका अनुसार जिल्लामा मानवीय क्षति भने भएको छैन ।

त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार बाढीले ललितपुरमा तुलनात्मक रुपमा कम असर गरेको छ । मनोहरण अनादिमा आएको बाढीका कारण च्यासल रङ्गशाला क्षेत्रमा डुबान परेपनि अन्यत्र असर नरहेको शाहले इन्सेकलाई जानकारी दिनुभयो ।

Photo_080-4-23_Makwanpur

मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार अविरल वर्षाका कारण बागमती गाउँपालिका-५, सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती गाउँपालिका-५, सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी पत्नी ५५ वर्षीया सन्तमाया स्याङतान रहेको छ । अक्कल बहादुर, उहाँका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताहरूको स्थानीय र प्रहरीको सहयोगमा खोजी भइरहेको बागमती गाउँपालिका ५ नम्बर वडा अध्यक्ष विजय कुमार भ्लोनले बताउनु भयो । बागमती नदीमा बढेको बहाब कारण धरान–चतरा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । बागमती गाउँपालिका-४ पर्ने सडकखण्डको केही भाग नदीले कटान गरेकोले धरान–चतरा सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको मकवानपुका डिएसपी टेक बहादुर कार्कीले जानकारी दिनुभयो । साना र हलुका सवारी सञ्चालनमा ल्याइएको तर मालबहाक र भारी सवारी सञ्चलानमा जोखिरहेकोले सडकखण्ड एकतर्फी सञ्चालन गरिएको डिएसपी कार्कीले बताउनु भयो । यता बागमती नदी बस्तीमा पस्दा बागमती-४, पाँच पाण्डपका ६ घर डुबानमा परेको छन् । अहिले डुबानमा परेका घरका मानिस र मालसमान सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । यसैगरी हेटौँडा भएर जाने छोटो दुरिको मार्ग कान्तिलोकपथ र हेटौँडा कुलेखानी-काठमाडौँ सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको डिएसपी कार्कीले जानकारी दिनुभयो ।

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । दिउँसो २ः२० बजेदेखि बाटो दुईतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । कालिखोला र टोपे खोलामा खसेको पहिरो पन्छाएर सकिएपछि बाटो दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । यस सडक खण्डमा पटक-पटक पहिरो खस्दा घण्टौँसम्म यात्रु जाममा पर्ने गरेका छन् ।

Photo_080-4-23_Chitwan


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा