बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान सम्पन्न

  २०८० माघ ११

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान उपमहानगरपालिका-४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा ०८० माघ ११ गते सम्पन्न भएको छ ।

निर्वाचनमा बागमती प्रदेशसभाका दुई र स्थानीय तहका तीन गरी पाँच जना मतदाता अनुपस्थित भएका मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सन्जेलले जानकारी दिनुभयो । बागमती प्रदेश सभातर्फको १ सय १० जनामध्ये १ सय ८ जना प्रदेशसभाका सदस्यहरूले मतदान गरेका छन् । स्थानीय तहका २ सय ३७ जना मतदातामा २ सय ३४ जनाले मतदान गरेका छन् ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको निधन भएकाले प्रदेशको १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ मतदाता हुनुपर्नेमा २ सय ३७ मतदाता कायम रहेको थियो । २ सय ३७ मतदातामध्ये नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष बिरबल तामाङ प्रहरीको फरार सूचिमा रहेकाले अनुपस्थित हुनुभएको छ । उहाँ चेक अनादर मुद्दामा फरार हुनुहुन्छ । प्रदेश संरचनाको विरोध जनाउँदै आउनुभएका काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाह पनि मतदान गर्न हेटौँडा आउनुभएन ।

यसैगरी, काभ्रेको चौरीदेउराली गाँउपालिकाको उपाध्यक्ष शेरबहादुर लामा सिकिस्त बिरामी रहेकाले मतदानमा सहभागी हुनुभएन । बागमती प्रदेशसभातर्फ हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्य र सरिता खड्की अनुपस्थित भएका छन् । बागमतीमा एमालेबाट रामचन्द्र राई र दिलकुमारी रावल, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको रिक्त पदमा निर्वाचन भएको हो । राई अपाङ्गता, अल्पसङ्ख्यक, रावल महिला, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित हुनुभएको थियो ।

बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबातर्फबाट चार, नेकपा एमालेबाट चार, राप्रपाबाट तीन र नेपाल मजुदर किसान पार्टीबाट चार गरी १५ जना उम्मेदवार छन् ।

Photo_080-10-11_Makwanpur


पुष्पराज अधिकारी