बागमती प्रदेशमा आँखा पाक्ने रोगका कारण अधिकांश विद्यालयमा पठनपाठन प्रभावित
बागमती प्रदेशमा आँखा पाक्ने रोगका कारण अधिकांश विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यार्थी तथा शिक्षकमा आँखा पाक्ने रोग देखिएर समस्या देखिन थालेपछि बागमती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहले तीन दिनदेखि हप्ता दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
दोलखा जिल्ला प्रतिनिधि उद्धब पोखरेलका अनुसार जिल्लामा आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरूबाट नमुना सङ्कलन गरी परीक्षण गर्दा इन्टेरो भाईरस पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट साउन २२ गते १० जना आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिबाट नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सो नमुनाहरूलाई परीक्षण गर्दा ८० प्रतिशत नमुनाहरूमा इन्टेरो भाईरस देखिएको दोलखा लायन्स अँखा केन्द्र, चरिकोटका बरिष्ठ नेत्र रोग सहायक बिप्लब खड्काले बताउनु भयो । जिल्लामा रहेको एकमात्र आँखा उपचार केन्द्रमा साउन महिनाको अवधिमा १ सय ३ जनाको अँखा जाँच गर्दा २२ जनामा महामारीका बिरामी फेला परेको खड्काले जानकारी दिनुभयो । जिल्लामा आँखाको महामारी फैलिन नदिन स्थानीय सरकारले सन्देश मुलक सूचना टाँस गर्दै आएका छन ।
सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालका अनुसार आँखा पाक्ने रोगको माहामारी यस सिन्धुपाल्चोक जिल्लामा बढ्दो क्रममा रहेको छ । हाल दैनिक ४० देखि ४५ जनासम्मको आँखा पाकेर बिरामीहरू उपचारको लागि अस्पताल आउने गरेको चौतारा सामुदायिक आँखा केन्द्रकी प्रमुख प्रभा खत्रीले बताउनु भयो । त्यसैगरी जिल्लाको मेलम्ची क्षेत्रमा आँखा पाक्ने रोग बढी मात्रामा देखा परेको मेलम्ची आँखा केन्द्रकी आशा भट्टले बताउनु भयो । भट्टका अनुसार मेलम्ची एरियामा दैनिक ६० देखि ७५ जनासम्मको आँखा पाक्ने बिरामीहरू आउने गर्दछन् ।
विशेष गरी यस क्षत्रेमा बालबालिकाहरूमा बढी देखा परेको छ । आँखा पाक्ने बिरामीहरूको उपचार चौतारा अस्पतालमा नहुने भएकाले जिल्लाका आँखा केन्द्रहरूमा मात्र हुने गरेको चौतारा अस्पतालका प्रमुख त्रिभुवन झाले बताउनु भयो ।
रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार रसुवामा पनि बालबालिका र जेष्ठ नागरिकमा आँखा पाक्ने समस्याका देखा परेको छ । आँखा पाक्ने समस्याको कारण नौकुण्ड गाउँपालिकाको वडा नं ४, दनुश्वारामा २३ जनामा समस्या देखा परेको छ । कालिका गाउँपालिकाको वडा नं १, २ र ५ मा समस्या देखिएको छ । २ नं वडामा धेरै समस्या देखिएको छ । स्थानीय तहभरी १ सय ६५ जनामा समस्या देखिइको स्वास्थ्य शाखा प्रमुख नबराज न्यौपानेले बताउनु भयो । गोसाइकुण्ड गाउँपालिका भने महामारीको रुपमा आँखा पाक्ने समस्या देखा नपरेको स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताउनु भयो ।
आमाछोदिङमो गाउँपालिकामा पनि सबै वडामा २ सय ७० जनामा आँखा पाक्ने समस्या देखा परेको छ । धेरै बालबालिका र ज्येष्ठ नागरिकमा समस्या नदेखिएको स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनु भयो । उत्तरगया गाउँपालिकाको सबै वडामा आँखा पाक्ने समस्या देखा परेको छ । सबै वडामा रहेको स्वास्थ्य संस्थामा समस्या देखा परेको सूचना आएपनि एकीन तथ्याङ्क भने नआएको स्वास्थ्य शाखा प्रमुख रबिन्द्र ठकुरीले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय रसुवाका प्रमुख भीमसागर गुरागाइँका अनुसार समस्याको रुपमा कतै पनि आँखा पाक्ने समस्या बारे जानकारी स्वास्थ कार्यालय र जिल्ला अस्पतालमा नभएको बताउनु भयो ।
धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार धादिङबेसीमा आँखा पाकेर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या बढेको छ । विद्यालयहरूमा आँखा पाक्ने बिरामी विद्यार्थीको सङ्ख्या बढेपनि विद्यालय बन्द गरिएको छैन । आँखा पाक्ने रोग एक सङ्क्रमक सरुवा रोग हो । धादिङबेसीमा यो महामारीको रुपमा फैलिइरहेको छ ।
सबैभन्दा धेरै विद्यार्थी भएको निलकण्ठ माविमा सबै कक्षामा आँखा पाक्ने रोगका बिरामी छन् । अरुलाई सर्ला भन्ने डर विद्यार्थीलाई छ तर एउटै बेञ्चीमा बस्नु पर्ने, एउटै धारो प्रयोग गर्नुपर्ने, एक आपसमा सँगै भएका कारण सरुवा भएकोले रोग सर्ने सम्भावना भएपनि सँगै बसेर पढ्नु परेको सोही विद्यालयमा अध्ययनरत कक्षा ८ की प्रतिष्ठा खनालले बताउनु भयो । आधा विद्यार्थी त एक हप्ताको बिचमा विद्यालय आउन सकेका छैनन् । एक महिना अघिदेखि फैलिएको आँखापाक्ने रोग आँखा केन्द्रमा जाँच गराउन आउनेमध्ये ९० प्रतिशत रहने गरेको बताउनु भयो ।
तिलगङ्गा सर्जिकल आइ सेन्टरमा साउन २२ गतेदेखि साउन ३१ गतेसम्म आँखा जाँच गराउन आएका १ हजार २ सय ७७ बिरामीमध्ये १ हजार बिरामी रातो आँखा भएर जाँच गराउन र उपचार गराउन आएको तिलगङ्गा सर्जिकल आइ सेन्टरका अप्टिकल डिस्पेन्सर देबेन्द्र भट्टले जानकारी दिनुभयो । यसअघि एडिनो भाइरस भनेर उपचार गरिरहेको ल्याब परीक्षणबाट इन्टेरो भाइरस भएको प्रमाणित भएकोले यसबाट बच्नका लागि सरसफाइमा ध्यान दिनुपर्ने, आँखा पाकेको व्यक्तिले प्रयोग गरेको सामान, रुमाल, प्रयोग नगर्ने, जुठो नखाने लगायतका विषयमा ध्यान दिनुपर्ने तिलगङ्गा सर्जिकल आइ सेन्टरका नेत्र विशेषज्ञ डा. रामसिंह तामाङले बताउनु भयो ।
तिलगङ्गा सर्जिकल आइ सेन्टरमा मात्र दिनमा १ सय ७० जनाभन्दा बढी आँखाका बिरामी आउने गरेको जानकारी दिँदै १ सय ५० जनाभन्दा बढी बिरामी आँखा चिलाउने, बिजाउने, रातो हुने, पातलो चिप्रा लाग्ने, ढकनी सुन्निने, आँखा रगत जम्ने, आँखाको नानीमा खटिरा आएर घाममा हेर्न नसकिने लगायतका समस्या लिएर आउने गरेको डा. तामाङको भनाइ छ । आँखाको समस्या जटिल समस्या भएकोले चिसो बरफ वा चिसो पानीले आँखा सेक्ने, सरसफाइमा ध्यान दिने र स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गराउन बिरामीहरूलाई आग्रह समेत गरिएको छ ।
तिलगङ्गा सर्जिकल आइ सेन्टर धादिङमा मात्र नभएर जिल्ला सदरमुकाममा रहेका निजि मेडिकलहरूमा समेत आधाजसो बिरामी आँखाको समस्या लिएर आउने गरेको पाइएको छ । धादिङबेसीको बालमन्दीर माविले आँखाको समस्या आएपछि चार दिनका लागि विद्यालय बन्द गरेको छ भने अन्य निजि विद्यालय र सरकारी विद्यालयले विद्यालय बन्द गरेको छैन । राजमार्ग क्षेत्रमा समेत विद्यालयहरु आँखाको समस्या लिएर विद्यार्थी आएपनि बन्द गरिएको छैन ।
नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्लामा पछिल्लो साता आँखाको समस्या भएका बिरामीको सङ्ख्या बढेको स्वास्थ्य संस्थाहरूले जनाएका छन् । आँखा पाक्ने, आँखा अत्याधिक चिलाउने, बिझाउने, पोल्ने, रक्तश्राव समेत हुने समस्याका बिरामीहरू वृद्धि भएको त्रिशूली अस्पतालका आँखा रोग विज्ञ डा. विष्णुहरि मरहठ्ठाले जानकारी दिनुभयो । डा. मरहठ्ठाका अनुसार सामान्यतया अस्पतालमा आँखाको बिरामी पाँच देखि सात जना आउने गरेकोमा पछिल्लो एक हप्तामा भने दैनिक ५० देखि ६० जनासम्म बिरामीहरू अस्पतालमा आँखाको समस्या लिएर आएका छन् ।
आँखा पाक्ने समस्या लिएर आउनेको सङ्ख्या साउन २८ गतेबाट दैनिक ६० जनासम्म पुगिरहेको डा. मरहठ्ठाले बताउनु भयो । अस्पतालमा पुगेका बिरामीलाई लक्षण अनुसारको औषधि, आवश्यक परामर्श र सरसफाईको विधिहरूबारे जानकारी दिँदै पठाएको उहाँको भनाई छ । गम्भीर प्रकृतिको समस्या भएर राजधानीमा अस्पतालमा रिफर भने गर्न नपरेको डा. मरहठ्ठाले जानकारी दिनुभयो । सदरमुकाममा रहेका निजी क्षेत्रका आँखा जाँच केन्द्रहरूमा पनि बिरामीको सङ्ख्या बढिरहेको विदुरमा आँखा परीक्षण केन्द्र सञ्चालन गरिरहनु भएका प्राविधिक शंकर अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौँ जिल्ला प्रतिनिधि विमल पौडेलका अनुसार आँखा पाक्ने रोगको समस्याकै कारण काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू ०८० साउन ३० गतेदेखि भदौ ३ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । इन्सेकसँग कुरा गर्दै नगरपालिकाका शिक्षा अधिकृत टेकेन्द्रप्रसाद ढकालले ४० हजार विद्यार्थी रहेको नगरपालिकामा ४० प्रतिशत जति बालबालिकामा आँखा पाक्ने सङ्क्रमण फैलिएको हुँदा विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनु भयो ।
निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन प्याब्सन काठमाडौँका जिल्ला अध्यक्ष ज्ञानबहादुर श्रेष्ठका अनुसार जिल्लाका तारकेश्वर, बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिका विद्यालय आँखा पाक्ने रोगका कारण बढी प्रभावित रहेका छन् । श्रेष्ठका अनुसार बुढानिलकण्ठ नगरपालिकाका एक तिहाई विद्यालय र तारकेश्वर नगरपालिकाका ३० प्रसिशत विद्यालय रोगबाट प्रभावित भएका हुन् । विट्स एकेडेमीका सञ्चालक समेत रहेका श्रेष्ठले रोगबाट आफ्नो विद्यालय समेत प्रभावित बनेको बताउनु भयो । उहाँले रोग लागेपनि विद्यालयले सकेसम्म निजि विद्यालयका सञ्चालकले स्कुल चलाउन खोजेको तर अभिभावकको अनुरोधपछि पाँच दिनदेखि अवस्था हेरेर हप्तादिनसम्म बिदा दिएको उल्लेख गर्नुभयो ।
त्यस्तै, आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सुर्यविनायक नगरपालिकाले पनि आफ्ना मातहतका सामुदायिक र ६३ ओटा संस्थागत विद्यालयलाई सङ्क्रमणको अवस्था हेरेर केही अवधि विद्यालय बन्द गर्न निर्देशन दिएका छन् । आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि मध्यपुर ठिमी नगरपालिकाले ०८० साउन २९ र ३० गते दुई दिन विद्यालय बन्द गरेको थियो । सुर्यविनायक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर कटुवालले भदौ ३ गतेसम्मका लागि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको बताउनु भयो । कटुवालले आँखा पाक्ने रोगको चक्र ब्रेक गर्न र थप विद्यार्थी सङ्क्रमित हुनबाट जोगाउन नगर शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेको उल्लेख गर्नु भयो ।
त्यस्तै ललितपुर उपमहानगरपालिका शिक्षा अधिकृत सरिता कुमारी पौडेलले नगरभित्रका विद्यालयका विद्यार्थी तथा शिक्षकहरूमा आँखा पाक्ने रोग फैलिँदै गएको जानकारी दिनुभयो । पौडेलले जुन जुन विद्यालयमा रोगको प्रकोप बढिरहेको छ, त्यहाँको अवस्था हेरेर केही दिनका लागि बिदा समायोजन हुने गरी विद्यालय बन्द गर्न पत्राचार गरिएको बताउनु भयो । तिलगङ्गा आँखा प्रतिष्ठानका व्यवस्थापक पिताम्बर अधिकारीका अनुसार अहिले अस्पतालमा दुई हप्ता यता दैनिक औसत ३ सयभन्दा बढी बिरामी आँखा पाक्ने समस्या लिएर पुग्ने गरेका छन् । अधिकारीका अनुसार बिरामीमध्ये बढीजसो बालबालिका रहेका छन् ।
बिरामीको चाप बढ्दै गएपछि तिलगङ्गा आँखा अस्पतालले सङ्क्रमितका लागि छुट्टै आँखा क्लिनिक सञ्चालमा ल्याएको छ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका डा. किरण शाक्यका अनुसार केही दिन यता आँखा रातो हुने, चिलाउने तथा पोल्नेजस्ता समस्याका बिरामी अस्पतालमा बढिरहेका छन् । डा. शाक्यका अनुसार एक सातायता अस्पतालमा आँखा परीक्षण गराउन आएका १५ सय बिरामीमध्ये ४ सय ७५ जनामा आँखा पाक्ने रोगसम्बन्धी बिरामी रहेका थिए ।
काभ्रे जिल्ला प्रतिनिधि सुमित्रा आचार्यका अनुसार काभ्रे जिल्लामा पनि आँखा पाक्ने रोगका कारण बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो दुई सातादेखि जिल्लामा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा आँखा पाक्ने रोगका बिरामी बढेसँगै जिल्लामा रहेका अस्पतालहरूमा आँखाको उपचारका लागि आउने बिरामी समेत बढ्न थालेका छन् ।
स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले पछिल्लो दुई सातादेखि जिल्लामा आँखा पाक्ने बिरामीहरू बढेको जानकारी दिनुभयो । 'एक सातादेखि जिल्लाका १३ ओटा स्थानीय तहमध्ये ११ ओटा स्थानीय तहमा यो रोगका बिरामी फेला परेका छन्, विशेष गरी धेरै विद्यार्थी र शिक्षकहरूमा यो समस्या देखिएको छ', उहाँले भन्नुभयो । उहाँले दुई साताअघि तराईबाट यहाँ आएका एउटा परिवारका सदस्यमा आँखा पाक्ने रोग देखिएपछि उक्त रोगका बिरामीहरूको पहिचान भएको बताउनु भयो ।
डा. सेढाईले जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा आँखा पाक्ने रोगका बिरामीको पहिचान नभएको बताउनु भयो । उहाँले आँखा पाक्ने रोग फैलन नदिनका लागि नागरिकहरूमा जनचेतना जगाउनुपर्ने तथा सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालका मेडिकल निर्देशक डा. रुची श्रेष्ठले अस्पतालमा पछिल्लो दुई साताबाट आँखा पाक्ने रोगका बिरामीको चाप बढेको बताउनु भयो । 'अघिल्लो सातामा अस्पतालको ओपिडीमा आउने बिरामीमध्ये करिब १० प्रतिशतमा आँखा पाक्ने रोगको समस्या थियो भने पछिल्लो समयमा ओपिडीमा आएका मध्ये करिब २५ प्रतिशतमा आँखा पाक्ने समस्या पाइएको छ', डा. श्रेष्ठले उल्लेख गर्नुभयो ।
उहाँले अस्पतालमा आएका बिरामीमा आँखा रातो हुने, आँखाको डिल सुन्निने, चिप्रा आउने, आँखा चिलाउने, आँसु बग्ने समस्या देखिएको बताउनु भयो । उहाँले भदौ १ गते विद्यालयका ३५ जना विद्यार्थीमा उक्त समस्या देखिएर उपचारका लागि आएको जानकारी दिनुभयो । उहाँले विद्यालयमा धेरै विद्यार्थीबीच भेटघाट हुने भएकोले विद्यालयमा आँखा पाक्ने रोग सर्ने जोखिम र विद्यार्थीबाट उनिहरूको परिवारका सदस्यमा सर्ने जोखिम रहेको बताउनु भयो ।
धुलिखेल अस्पतालकी नेत्र रोग विशेषज्ञ डा. एन्जिरा श्रेष्ठले अस्पतालमा धुलिखेल, बनेपा, पनौतीलगायतका क्षेत्रबाट आँखा पाक्ने रोगका बिरामीहरू उपचारका लागि आउने गरेको जानकारी दिनुभयो । उहाँले अस्पतालको नेत्र रोगको ओपिडीमा आउने बिरामीमध्ये दैनिक करिब ३० जनामा आँखा पाक्ने रोगको समस्या रहेको बताउनु भयो । उहाँले अस्पतालमा आँखाका बिरामीको चाप बढेसँगै अस्पतालले आँखाको रोगका बिरामीलाई केही दिन घरमा नै उपचार गरेर बस्न सुझाव दिएको डा. श्रेष्ठले बताउनु भयो ।
रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार रामेछाप जिल्लामा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढेको छ । विशेष गरी विद्यार्थीहरूमा सङ्क्रमण फैलिएपछि सङ्क्रमण बढी देखिएका मन्थली नगरपालिकाका, मन्थली मावि, नागकन्या मावि लगायतका विद्यालय एक हप्ताको लागि बन्द गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले जानकारी दिनुभयो ।
यसै गरी प्याप्सनले पनि तीन दिनको लागि विद्यालय बन्द गरेको थियो । मन्थली नगरपालिकाका चार ओटा विद्यालय तीन दिनका लागि बन्द गरिएकोमा ०८० साउन ३२ गतेबाट पुनः सञ्चालनमा ल्याइएको प्याप्सनका अध्यक्ष केशव तिमल्सिनाले बताउनु भयो । सङ्क्रमण देखिएका विद्यार्थीलाई केही दिन घरमा नै आराम गर्न भनिएको उहाँले जानकारी दिनुभयो । जिल्लाको मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकामा आँखा पाक्ने रोगका बिरामी बढी देखिएका छन् । दोरम्बा गाउँपालिकामा पनि केही बिरामीहरू देखिएका छन् । आँखा पाक्ने रोगको कारण आफ्नो परिवारका सबै सदस्य बिरामी परेका दोरम्बा गाउँपालिका-३ का स्थानीय टोकरपुरका राजुराम पाठकले बताउनु भयो ।
मन्थली नगरपालिकामा व्यापक रूपमा रोग नफैलिएको भए पनि सबै वडामा रोग देखिएको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँल बताउनुहुन्छ । सबैभन्दा बढी जमघट हुने विद्यालयमा रोग बढी देखिएकोले विद्यालय बन्द गरिएका कारण अब रोग क्रमशः घट्ने उहाँले बताउनु भयो । विद्यालयमा रोग फैलिएपछि नगरपालिकाका ७४ ओटै विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरी आँखा पाक्ने रोगका लक्षण, रोग लाग्नबाट बच्न अपनाउनु पर्ने सावधानी र रोग लागेमा ध्यान दिनु पर्ने कुराको बारेमा स्वास्थ्य शिक्षा प्रदान गरिएको फुयाँलले जानकारी दिनुभयो । सङ्क्रमितको तथ्याङ्क भने हालसम्म सङ्कलन नगरिएको उहाँले बताउनु भयो ।
खाँडादेवी गाउँपालिकामा पनि सङ्क्रमण बढेपछि विद्यालय तथा स्वास्थ्य आमा समूहको बैठकमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनु भयो । नौ ओटा वडा रहेको सो गाउँपालिकामा पनि अधिकांश वडामा आँखा पाक्ने रोगका बिरामी देखिएका उहाँले जानकारी दिनुभयो ।
सिन्धुली जिल्ला प्रतिनिधि नबिनबाबु अधिकारीका अनुसार सिन्धुलीमा आँखा पाक्ने रोगको संक्रमण फैलिरहेको छ । सङ्क्रमणबाट अस्पतालमा उपचार गर्न आउनेहरूको सङ्ख्या दिन प्रतिदिन थपिँदै आएको छ । हालसम्म ४ सय ८४ जनाले सिन्धुली अस्पतालमा आँखाको जाँच गराएका छन् । सिन्धुली अस्पतालका सूचना अधिकारी राजकुमार गोलेका अनुसार पुरुष १ सय १३ जना, महिला १ सय ५० जना र बालबालिका २ सय २१ जना रहेका छन् ।
सिन्धुली अस्पताल बाहेक जिल्लाका अन्य स्वास्थ्य संस्था, क्लिनिक, मेडिकलमा समेत सङ्क्रमितहरू जाने गरेका छन् । स्वास्थ्य संस्थामा भिड लागेपछि मेडिकलमा गएर औषधि प्रयोग गर्नेहरूको सङ्ख्या पनि उल्लेख्य रहेको छ । सिन्धुली अस्पताल तथा सदरमुकामका मेडिकलहरूमा आँखा पाक्ने रोगको औषधि लिनका लागि तीन दिनदेखि भीड बढेको छ । सिन्धुलीमाडीको सामुदायिक आँखा उपचार केन्द्रमा समेत बिरामीहरू आँखाको जाँच गर्न जाने गरेका छ ।
मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार गर्मी सुरु भएसँगै सर्वसाधरणलाई एकातिर डेङ्गुको सङ्क्रमणले तर्साइरहेको छ भने अर्को तिर लामो समयदेखि हेटौँडामा आँखा पाक्ने सङ्क्रमणका बिरामी बढेका छन् । हेटौँडा स्थित सामुदायिक आँखा अस्पतालमा विगतमा नियमित ३ सय जनाको हाराहारीमा बिरामी जाँचको लागि आउने गरेकोमा पछिल्लो समयमा दैनिक ७ सयभन्दा बढी बिरामी अस्पताल आएका छन् । ७ सय ओटा टोकन तानिएपछि अस्पतालले टोकन नै बन्द समेत गर्ने गरेको छ ।
'हाम्रो इतिहासमै सबैभन्दा बढी टोकन तानियो आज, उपचार गर्न नभ्याइने गरी टोकन मात्रै दिएर भएन अनि टोकन बन्द गर्यौँ', अस्पतालका कार्यक्रम संयोजक सुशील सिंहले भन्नुभयो । ७ सय टोकन तानिएपछि बैठक बसेर टोकन रोकिएको र नियमित उपचारमा आउने बिरामीलाई केही दिन नआउन सूचना टाँस गरिएको उहाँले बताउनु भयो ।
बिरामीको चाप अत्यधिक भएपछि अस्पतालले सूचना टाँसेर अन्य बिरामीलाई एक वा दुई सातापछि मात्रै आउन र आँखा पाकेको समस्या भएको जाँचको सहयोग गरिदिन आग्रह गरेको छ । 'अन्य समस्या भएका बिरामीहरूलाई नै फेरी आँखा पाक्ने सङ्क्रमण सर्ने डर हुन्छ, त्यसैले पनि उहाँहरूले मिलेसम्म यो अवधिभर अत्यावश्यक छैन भने नआउँदा हुन्छ', कार्यक्रम संयोजक सिंहले भन्नुभयो । संक्रमण हुनेहरूमा बढी विद्यालय जाने उमेर समूहका बालबालिका रहेको छन् ।
पछिल्लो महिनामा मात्रै हेटौँडाको सामुदायिक आँखा अस्पतालबाट ४ हजारभन्दा बढीले सेवा लिएको उहाँले बताउनु भयो । 'दैनिक जसो बिरामीको चाप बढ्दो अवस्थामा छ, यही रफ्तारमा बिरामी बढेभने तीन/चार दिनमा औषधि सकिने सम्भावना छ', उहाँले उल्लेख गर्नुभयो वीरगंजको आँखा अस्पतालले औषधि सकिएकोले आफूहरूसँग माग गरेको सिंहले बताउनु भयो ।
वीरजंगमा रहेको आँखा अस्पतालमा औषधि अभाव भएपछि यहाँ बिरामीको चाप झनै बढ्ने गरेको बिगतको तथ्याङ्कले देखाउँछ । यस्तै बालबालिकाहरूमा अँखा पाक्ने समस्या बढ्न थालेपछी मकवानपुरका संस्थागत विद्यालयहरूले अभिभावकहरूलाई आफ्नो बालबच्चाको विषेश स्याहार गर्न आग्रह गर्दै चस्मा लगाएर विद्यालय पठाउन सूचना समेत गरेको छ ।
चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार भरतपुर कारागारमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । एक सय जना कैदीबन्दी आँखा पाक्ने समस्याबाट प्रभावित भएको भरतपुर कारागारका निमित्त प्रमुख लेखनाथ पौडेलले जानकारी दिनुभयो । झण्डै चार सय जना सहजै अटाउन सकिने यस कारागारमा हाल एक नाबालक, चार बालिका, कैदी ४ सय ३४ जना र थुनुवा ३ सय ३५ जना रहेका छन् ।
कैदीबन्दी कोचिएर बस्न बाध्य भएकाले पनि आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको प्रशासनले जनाएको छ । बिरामीहरूको नियमित उपचार भइरहेको र थप सङ्क्रमण फैलिन नदिन काम भइरहेको निमित्त प्रमुख पौडेलले जानकारी दिनुभयो ।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले साउन २२ गतेदेखि शैक्षिक संस्था बन्द गरेका छन् । भरतपुर महानगरपालिकाले बिदा दिन सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको हो । एडिनो भाइरसको सङ्क्रमणका कारण आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । यस रोगको प्रकोपले बालबालिकाहरू बढी प्रभावित भएका छन । विद्यालयमा समेत सङ्क्रमणको असर बढ्दै गएकाले विशेषज्ञको परामर्शका आधारमा हिउँदे र वर्षे विदाका मिलन गर्नेगरी पाँच दिन शैक्षिक गतिविधि नगर्ने निर्णय भएको भरतपुर महानगरपालिका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले बताउनु भयो ।
रत्ननगर नगरपालिकाले भने संस्थागत विद्यालय ९ कक्षादेखि १२ कक्षासम्म सञ्चालन भएकालाई पठनपाठन रोक्न निर्देशन दिएको छ । सामुदायिक विद्यालयहरू वर्षे विदामै रहेकाले संस्थागत विद्यालयलाई विदा गर्न निर्देशन दिइएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले बताउनु भयो । विदाको सुचना जारी गर्नु पहिला आँखाको सुरक्षासम्बन्धी सचेतना दिन पनि आग्रह गरिएको छ । खैरहनी नगरपालिकाले गत साउन १९ गतेबाटै विद्यालय बन्द गरिसकेको छ ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…